कथाकार दीपक समीरको कथासङ्ग्रह ‘मुना–मदनको डिभोर्स पार्टी’ नेपाली साहित्यमा एउटा नवीन प्रयोगको प्रभाव निर्माण गर्ने शक्ति लिएर प्रकाशित भएको छ । कथासङ्ग्रहमा १४ वटा कथा समाविष्ट छन् । यी कथाले परम्परागत कथानकबाट बाहिर निस्केर स्वैरकल्पनाको माध्यमबाट समाजका विविध पक्षलाई काव्यिक उजागर गरेका छन् । यहाँका कथाले परम्परागत मूल्य र आधुनिक सोचबिचको द्वन्द्व, लैङ्गिक असमानता, प्रेम र सम्बन्धका जटिलता र सामाजिक पूर्वाग्रहहरूलाई समेटेका छन् ।
आजको साहित्य मनोरञ्जनको साधन मात्र रहेन, अब यसले समाजको ‘स्क्रिनिङ’ गरेर सम्पूर्ण विविधता बाहिर ल्याउने शक्ति आर्जन गरेको हुनु पर्छ । त्यसका लागि लेखक पृथक् विचारले बाँधिएको हुनु पर्छ, कथाकार समीरको ‘मुना–मदनको डिभोर्स पार्टी’ ले परम्परागत नेपाली साहित्यमा नयाँ विचारको प्रवेश गराएको छ । सङ्ग्रहका कथाहरूले नेपाली समाजका गहिरो तहमा रहेको द्वन्द्व, अपूर्णता र असहज सत्यलाई अनौठो शैलीमा प्रस्तुत गरेका छन् । यथार्थवाद, स्वैरकल्पना, व्यङ्ग्य र मनोविश्लेषणात्मक दृष्टिकोणले भरिएको यो कथासङ्ग्रह केवल साहित्यिक अभिव्यक्तिको प्रयास मात्र छैन; यसले नेपाली साहित्यमा एक वैचारिकी स्थापित गर्न खोजेको छ ।
यस सङ्ग्रह समाजको परम्परागत मूल्यप्रति शङ्कालु छ । नेपाली समाज लामो समयसम्म आदर्शवाद र नीतिवादी दृष्टिकोणमा बाँधिएको थियो । समाज एक सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । पुराना मूल्यहरू भत्किँदै छन्, नयाँ मूल्यहरू अझै स्थिर भइसकेका छैनन् । परम्परा र आधुनिकताबिचको द्वन्द्व, परम्परागत संस्कारहरू र नयाँ पुस्ताको दृष्टिकोणबिचको सङ्घर्ष यो सङ्ग्रहमा स्पष्ट रूपमा झल्काइएको छ । नायकहरू निष्कलङ्क हुनुपर्ने, प्रेम पवित्र हुनुपर्ने, राजनीति सत्मार्गी हुनुपर्ने– यी सबै मान्यता नेपाली साहित्यमा गहिरोसँग गढिएका छन् । तर दीपक समीरको लेखनीले यी पूर्वनिर्धारित सीमाहरू तोड्न खोजेको छ । उहाँले यथार्थ चित्रण गर्दा कुनै आवरण प्रयोग गर्नुभएको छैन, बरु समाजका तितो यथार्थलाई तीक्ष्ण भाषामा प्रस्तुत गर्नुभएको छ ।
यस सङ्ग्रहमा समेटिएका कथा हेर्दा स्पष्ट देखिने विषय के हो भने लेखक समाजमा व्याप्त अन्याय, हिंसा र असमानताप्रति आलोचनात्मक हुनुहुन्छ । उहाँ निस्क्रिय दर्शक बन्न अस्वीकार गर्नुहुन्छ र पाठकलाई पनि चुनौती दिनुहुन्छ । कथामा देखिएका पात्रहरू केवल कथाभित्रका व्यक्ति मात्र होइनन्, तिनीहरू समाजकै जीवन्त प्रतिनिधि हुन् । सत्य पात्र हुन् ।
‘मुना–मदनको डिभोर्स पार्टी’ को शीर्षक कथा नाममै एउटा गहिरो व्यङ्ग्य बोकेर आएको छ । नेपाली साहित्यको एक कालजयी कृति ‘मुना–मदन’ को नामलाई पुनर्परिभाषित गर्दै समीरले यस कथामार्फत परम्परागत प्रेम, त्याग र बलिदानको आदर्शलाई चुनौती दिनुभएको छ । ‘मुना–मदन’ को प्रेमगाथा नेपाली समाजमा त्याग, प्रतीक्षा र नारी धैर्यताको प्रतीक मानिन्छ तर ‘मुना–मदनको डिभोर्स पार्टी’ उल्टो कथा हो । यो कथा एउटा आधुनिक, विद्रोही स्वर हो; जसले परम्परागत नेपाली प्रेम र सम्बन्धको परिभाषालाई पुनर्विचार गर्ने शैली निर्माण गरेको छ । परम्परागत रूपमा ‘मुना–मदन’ प्रेमको त्रासदीपूर्ण अन्त्यको कथा हो, जहाँ मुना पतिव्रता, धैर्यवान् र प्रतीक्षामा मर्ने नारी पात्रको रूपमा देखिन्छ । तर ‘डिभोर्स पार्टी’ मा यो धारणा तोडिन पुग्छ । कथावाचनमा लेखकले व्यङ्ग्यात्मक, तिखो र काव्यात्मक शैली अपनाएको पाइन्छ । नेपाली समाजमा सम्बन्धहरू अझै पनि पारिवारिक दबाब, सामाजिक प्रतिष्ठा र पितृसत्तात्मक सोचका कारण जटिल छन् । यो कथा यी सबै मान्यतालाई ठाडै चुनौती दिने गरी निर्माण भएको छ ।
‘बलात्कारीलाई प्रेमपत्र’ जस्तो कथा पढ्दा, पाठक असहज महसुस गर्छन् । परम्परागत पाठकका लागि यो कथा अपच हुन सक्छ किनभने यो कथाले केवल अपराध मात्र होइन, समाजकै सोच्ने तरिकामा रहेका खोटलाई पनि प्रश्न गरेको छ । कथाको शीर्षकले नै पाठकलाई अचम्मित पार्छ, जसले कथाको गहिराइमा प्रवेश गर्न उत्प्रेरित गर्छ । लेखकले पीडितको मनोविज्ञान र समाजको दृष्टिकोणलाई प्रभावकारी रूपमा प्रस्तुत गर्नुभएको छ, जसले पाठकलाई सोच्न बाध्य बनाउँछ ।
‘एक रात प्रेतसँग’ कथा स्वैरकल्पनाको उत्कृष्ट उदाहरण हो, जहाँ लेखकले मृत्युपछिको जीवन र आत्माको अस्तित्वबारे प्रश्न उठाउनुभएको छ । कथामा मुख्य पात्रको प्रेतसँगको संवादले जीवन र मृत्युबिचको सम्बन्धलाई नयाँ दृष्टिकोणबाट हेर्न मद्दत पु¥याउँछ । लेखकको कल्पनाशीलता र प्रस्तुतीकरणले कथालाई रोचक बनाएको छ ।
सङ्ग्रहको अर्को महत्वपूर्ण पक्ष यसको ऐतिहासिक पुनव्र्याख्या पनि हो । ‘हिटलरकी प्रेमिका’ जस्तो कथा केवल ऐतिहासिक विषयको पुनर्संरचना मात्र होइन, यो इतिहासलाई नयाँ दृष्टिकोणबाट हेर्ने आग्रह पनि हो । इतिहास केवल विजेताहरूले लेख्ने कथा मात्र होइन; हारेका, पिल्सिएका र दबाइएका आवाजहरूको पनि कथा हुन सक्छ । कथाकारले इतिहासलाई साहित्यको माध्यमबाट पुनर्परिभाषित गर्न खोज्नुभएको छ । यस कथामा लेखकले ऐतिहासिक पात्र हिटलरकी प्रेमिकाको दृष्टिकोणबाट कथा प्रस्तुत गर्नुभएको छ । कथाले प्रेम, राजनीति र युद्धबिचको सम्बन्धलाई मसिनो गरेर औँल्याएको छ ।
‘नवराज विकको भ्यालेन्टाइन्स डे’ कथा प्रेमको खोजीमा निस्किएका नवराज विकको जीवनमा आधारित छ तर यो कथाले पाठकलाई एक अलौकिक दुनियाँमा विचरण गराउँछ, जहाँ सेन्ट पादरी भ्यालेन्टाइन पनि छन् । त्यहाँ प्रेमको परिभाषा, समाजको दृष्टिकोण र व्यक्तिका आकाङ्क्षाबिचको द्वन्द्वलाई प्रस्तुत गरिएको छ । लेखकले पात्रको मनोविज्ञानलाई गहिराइमा पुगेर चित्रण गर्नुभएको छ ।
आधुनिक नेपाली समाजको शैली र प्रवृत्तिलाई स्थान दिएर लेखिएको कथा हो ‘ब्रो ! लाइटर छ ?’ यो कथा आधुनिक युवापुस्ताको मानसिकता, अस्थिर सम्बन्ध र बदलिँदो सामाजिक संरचनाको चित्रण हो । प्रविधिको प्रभाव, उपभोक्तावाद र सतही सम्बन्धहरूको यथार्थ यस कथामा झल्किएको छ । समाज परिवर्तनशील छ र नेपाली युवापुस्ताले सामना गरिरहेको द्वन्द्वलाई साहित्यमा स्थान दिनु आवश्यक छ ।
यद्यपि केही पाठकले यो सङ्ग्रहलाई अस्वाभाविक साहित्यको उदाहरणका रूपमा व्याख्या गर्न सक्ने सम्भावना छ । नेपाली समाजमा साहित्यलाई अझै पनि नीति, आदर्श र शिक्षाको माध्यमका रूपमा हेरिन्छ । समीरको लेखनी भने परम्परागत नैतिक शिक्षाको प्रवर्धन गर्नेभन्दा सत्यको अन्वेषण गर्ने प्रयासका रूपमा उभिएको छ । सत्य सधैँ सहज हुँदैन । यस कथासङ्ग्रहले नेपाली पाठकलाई असहज प्रश्नहरूको सामना गर्न बाध्य पार्ने छ ।
नेपाली साहित्यिक वृत्तले यसलाई सकारात्मक रूपमा लिने सामथ्र्य जुटाउने हो भने यो कथासङ्ग्रहले नेपाली साहित्यमा नवप्रयोगवादको नयाँ अध्याय प्रारम्भ गर्न सक्छ । अन्यथा यो केवल प्रयोगवादी साहसका रूपमा सीमित हुन सक्ने छ । ‘मुना–मदनको डिभोर्स पार्टी’ नेपाली साहित्यमा गहिरो प्रभाव पार्ने सम्भावना राख्ने सङ्ग्रह हो । यसले नेपाली साहित्यको कथा लेखनको प्रवृत्तिलाई अर्को उचाइमा पुर्याउन सक्ने सम्भावनालाई खुला राख्दै साहित्यिक वृत्तमा पर्याप्त बहस र समालोचना जरुरी छ ।
कथाकार दीपक समीरको लेखनशैलीमा स्वैरकल्पना र यथार्थको मिश्रण छ । उहाँले नाट्यशैलीमा कथा भन्ने प्रयास गर्नुभएको छ, जसले कथालाई जीवन्त बनाएको छ । लेखकको संवाद, लेखनकौशल प्रशंसनीय हुँदाहुँदै पनि पाठकले संवादमा गहन वैचारिक र दार्शनिक विषयहरूको अभाव अनुभूति गर्न सक्छन् । पात्रहरूको भावनात्मक अवस्थालाई प्रभावकारी रूपमा प्रस्तुत त गरेको छ तर यस्तो अवस्थामा सामाजिक मुद्दाहरूलाई समेट्ने शैली निकै अस्वाभाविक लाग्छ, जसले पाठकलाई सोच्न बाध्य बनाउँछ ।
समग्रमा ‘मुना–मदनको डिभोर्स पार्टी’ कथासङ्ग्रह नेपाली साहित्यमा नवीन प्रयोगका रूपमा उपस्थित भएको छ । स्वैरकल्पनात्मक लेखनशैली, नेपाली समाजका यथार्थ घटनाहरूको छनोट, विषयवस्तुको कथानकमा नाट्यशैलीको प्रयोग र प्रभावकारी प्रस्तुतीकरणले सङ्ग्रहलाई विशेष बनाएको छ । नेपाली साहित्यको कथा लेखन प्रवृत्तिका परम्परागत कथानक, संरचना र समाजद्वारा निर्धारित साहित्यिक मूल्यहरूबाट बाहिर निस्केर लेखकले समसामयिक नेपाली समाज, अन्तर्राष्ट्रिय सन्दर्भ तथा भविष्यतर्फ उन्मुख साहित्यिक धारलाई सम्बोधन गर्ने प्रयास गर्नुभएको छ ।