• १४ वैशाख २०८२, आइतबार

गाउँमै स्तरीय स्वास्थ्य सेवा प्रदेश सरकारको प्राथामिकता : मुख्यमन्त्री पाण्डे

blog

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे

गुणबहादुर रोका 

सुलीकोट, वैशाख १३ गते। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाउँमै स्तरीय स्वास्थ्य सेवा प्रदेश सरकारको प्राथामिकता रहेको बताउनुभएको छ। 

शनिबार गोरखाको सिरानचोक गाउँपालिका– ७ श्रीनाथकोट स्वास्थ्यचौकीमा भएको निःशुल्क स्वास्थ्य शिविरमा बोल्दै मुख्यमन्त्री पाण्डेले जनताको स्वास्थ्य सेवालाई ख्याल राख्दै गाउँमै स्तरीय स्वास्थ्य सेवामा पहुँच पु–याउन सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको हो। 

‘गण्डकी प्रदेश भित्रका सबै जिल्लाका पालिकामा समानुपातिक ढंगबाट स्वास्थ्य सेवाको विकास अगाडि बढाउन सकियोस भन्ने प्रदेश सरकारको चाहना रहेको छ’, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘त्यसका लागि प्रत्येक पालिकामा विज्ञसहित चिकित्सक व्यावस्था गर्ने इमान्दारिता पूर्वक प्रत्यत्न प्रदेश सरकार गरिरहेको छ।’

मुख्यमन्त्री पाण्डेले आम नागरिकको आधारभूत आवश्यकता मध्ये स्वास्थ्य पनि एक भएकाले कुनै पनि नागरिक स्वास्थ्य सेवाको पहुँचबाट टाढा नरहोस् भन्ने उदेश्य सहित प्रदेश सरकार योजना बनाइरहेको बताउनुभयो। 

उहाँले गण्डकी प्रदेश सरकार आर्थिक सम्बृद्धिको नयाँ सम्भावना खोल्न प्रयासरत रहेको समेत बताउनुभयो।