• १३ साउन २०८१, आइतबार

अमूर्त कलाका पुरण

blog

भेट भयो कि उहाँ मलाई भन्नुहुन्थ्यो, “भाइ, मेरो कलामार्फत म केही खोजी रहेको छु ।” उहाँको र मेरो भेटघाट प्रायः गहना पोखरी र उहाँको कला स्टुडियोमा भइरहन्थ्यो । हामी दुईको भेटमा कलादर्शनका कुरा हुन्थे । सधैँ कलाकर्ममा रमाइरहने वरिष्ठ कलाकार पुरण खड्काको खोजी अन्ततः अधुरै रह्यो । सिर्जनशील र अध्ययनशील जीवन अगाडि बढ्दा बढ्दै असमयमै उहाँको निधन भयो । मनले चिताएको कार्य पूरा हुन सकेन । कसैले पुरणका चित्र अगाडि उभिएर उहाँलाई यो केको चित्र बनाउनु भएको भनेर सोधे उहाँ भन्नुहुन्थ्यो, “हेर्नुस्, बुझ्नुस् र आनन्दित हुनुस् किनकि यो अमूर्त कला हो ।”

नेपाली अमूर्तकलाका एक सशक्त कलाकार नै हुनुहुन्थ्यो पुरण खड्का । फरक व्यक्तित्वका धनी र सिर्जनशीलताका खानी पुरणको सन् २०१६ मा काठमाडौँमा निधन भएको थियो । उहाँ युवा कलाकारका एक असल गुरु र कलाप्रेरणाका स्रोत पनि हुनुहुन्थ्यो । उहाँ गम्भीर र शान्त मिजासका हुनुहुन्थ्यो ।  कलामा जसरी भेनगागले आफ्नो जीवनकालमा सिर्जनालाई बेच्न कहिल्यै ध्यान दिएनन्, त्यस्तै पुरणले पनि आफ्ना चित्रलाई मूल्यको प्राथमिकतामा कहिल्यै राख्नुभएन । अर्थात् विक्रीकै लागि भनेर उहाँले कहिल्यै चित्र बनाउनु भएन । यस कारणले पनि उहाँ जति बा“च्नु भयो, आर्थिक रूपमा भेनगागको जीवनजस्तै कष्टपूर्ण जीवन बाँच्नु भयो । त्यसैले आर्थिक अभावले थलिएका पुरणको कलाजीवनले भेनगागको अभावमय कलाजीवनलाई झलझली सम्झाउ“छ । कलामा देखिएको उहाँको सक्रिय खोजवादी धारणाले युरोपमा उन्नाइसौँ शताब्दीताकाका कलाकारले गरेको सङ्घर्षमय जीवनको याद दिलाउँछ ।

सन् १९५६ मा अछाममा जन्मनुभएका पुरणले १९८० मा सर जे.जे.स्कुल अफ फाइन आर्ट कलेज मुम्बईबाट स्नातक गर्नुभएको थियो । कलेजमा उहाँ अब्बल दर्जामा गनिनु हुन्थ्यो । कलामा देखिएको उहाँको लगन र प्रतिभा देखेर उहाँका गुरुहरू पनि तीनछक पर्नुहुन्थ्यो । अध्ययनको क्रममा उहाँका कला गुरुहरूले उहाँलाई भारतमा नै बसेर कलाकर्म गर्न र कलाशिक्षाको विकास र विस्तारमा लाग्नु भनी सुझाव दिनुभएको थियो । तर उहाँले कहिल्यै पनि विदेशी भूमिमा बस्न रुचाउनु भएन । बरु अध्ययनपछि आफूले जानेको सीप र विधालाई स्वदेशमा नै बसेर खर्चनु उचित ठान्नुभयो र अन्ततः स्वदेश फर्कनु भयो । स्वदेश फर्केपछि उहाँले केही वर्ष काठमाडौँस्थित ललितकला क्याम्पसमा प्राध्यापनको कार्य गर्नुभयो । कला शिक्षण पेसामा उहाँको विशेष लगन हु“दाहु“दै पनि विशेष कारणवश उहाँ त्यहाँ टिक्न सक्नुभएन । 

उहाँको नेपाल र विदेशमा गरी आठ पटक एकल र थुप्रै पटक सामूहिक कला प्रदर्शनी भएको पाइन्छ । यस्तै विभिन्न स्थान र समयमा धेरै पटक राष्ट्रिय, क्षेत्रीय, स्थानीय स्तरका पुरस्कार र सम्मानले उहाँ विभूषित हुनुभएको थियो । नेपाल कलाकार समाज (यो संस्था अहिले छैन) को कार्यकारी सदस्यको रूपमा पनि उहाँले काम गर्नुभएको थियो ।  पुरणलाई कलामा राजनीतीकरणले गा“जेको मन पर्दैन थियो । उहाँ कलाको विकास स्वच्छ रूपमा हुनुपर्छ भन्ने अडान लिँदै आएका प्रतिभामध्येमा पर्नुहुन्थ्यो । नेपाली कला क्षेत्रको फा“टमा उहाँ एक आदर्शवान्, उच्चकोटिका अब्बल कलाकारको रूपमा चिनिनु हुन्थ्यो । 

उहाँका कला प्रायः विषयविहीन हुने गर्दथे । प्रत्येक क्यानभासमा चहकिला रङहरूको प्रयोग गर्नु उहाँको कला विशेषता थियो । उहाँले क्यानभासभित्र क्षेत्र विभाजनलाई प्रमुख प्राथमिकतामा राख्दै रङको सौन्दर्यलाई उजागर गर्ने गरेको पाइन्थ्यो । पूर्ण रूपमा अमूर्त ‘फम’ मा सजिने उहाँका प्रभावोत्तेजक र डिजाइनको अनुभूत हुने कलामा गाम्भीर्यता तथा मनमोहकता भेटिन्छ । क्यानभास (चित्रपट)मा ब्रसको स्ट्रोक र टेक्सचरको इफेक्ट कहीँ कतै पाइँदैनथ्यो । क्यानभासको जुनै कोणमा पनि फ्ल्याट रङको प्रयोग गर्ने उहाँको निजी मान्यता थियो । उहाँको कलापन नै उहाँको निजी र मौलिक विशेषता थियो । क्यानभासमा तत्काल घटित मनस्थिति अनुकूल रेखाहरूलाई संयमित र लयबद्ध रूपमा बगाउ“दै जानु र विपरीत रङको साजसज्जालाई आत्मसात् गर्दै क्यानभास पूर्ण गर्नु पुरणको कला विधि हो । 

चित्र हेर्दै जा“दा उहाँका अधिकांश चित्र स्वयं कलाकारको अवचेतन मनको तरङ्गझँै लाग्छन् भने कतिपय चित्र हाम्रो वरिपरिका वातावरणले प्रभावित भएका मानवीय मस्तिष्कका घटकझँै प्रतीत हुन्छन् । प्रायः उहाँको कलामा कालो, रातो, खरानी र सेतो रङको आधिपत्य रहेको भेटिन्छ र काला रेखा सर्पाकार रूपमा दौडिरहेका देखिन्छन् । उहाँ आफ्नो चित्रमा निजात्मक दर्शन लुकेको छ भन्ने गर्नुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो, “मेरा चित्र सम्पूर्ण हुन् ।” 

वास्तवमा पुरनका अगाडि विशेषण जोड्ने हो भने, उहाँलाई पूर्ण अमूर्त कलाकार भने पुग्छ । अमूर्त कलाकार पुरणले भनेजस्तै अमूर्तकला वास्तवमा सम्पूर्ण नै हो । सत्य हो जसले आवरणलाई भन्दा गुदीलाई महìव दिन्छ । अमूर्तकला अनुभूति र अमूर्त भावनाका अमूर्त पटाक्षेपहरू हुन्, जुन सिद्धान्तलाई विश्व परिवेशमा रसियन कलाकार वासिली कान्दस्कीले जन्म दिएका थिए । विश्वप्रसिद्ध कलाकार पल ली, ज्याक्सन पोलकलगायत कलाकारहरूले पनि यस वादलाई अनुसरण गर्दै आफ्ना प्रसिद्ध कलाहरू सिर्जना गरेका इतिहास छन् । नेपालमा भने लैनसिंह वाङ्देल, प्रमिला गिरी, उर्मिला गर्ग, उत्तम नेपाली, गेहेन्द्रमान अमात्य, जीवन राजोपाध्याय र पुरण खड्का यो वादका प्रयोगधर्मी कलाकारका रूपमा प्रसिद्ध छन् । 

पुरणको शरीर आज हामी बीचमा छैन । उहाँ नहुनु भनेको नेपाली कलाक्षेत्रको विकासमा एक होनहार मार्ग निर्देशक गुरु एवं राष्ट्रका प्रतिभा गुम्नु हो । तर अझै पनि उहाँका कलाहरू हामी बीचमा जीवन्त छन्, हामीसँग बोलिरहेको आभाष हुन्छन् । उहाँले छोडेर गएका उहाँका ती कलाहरू युगयुगसम्म, मानव समाज रहेसम्म बाँचिरहन्छन् ।