काठमाडौँ, जेठ ३१ गते। संस्कृति सम्पदा संरक्षण तथा प्रवर्धनको उद्देश्यका साथ काठमाडौँमा एक दिने फोटो प्रदार्शनी गरिएको छ।
जात्रै जात्रा फोटो प्रतियोगीतामा उत्कृष्टसहित ९२ तस्बिर प्रदर्शनीमा राखिएको ‘दि लोकल्स काठमाडौँ’का अध्यक्ष प्रशन्न मानन्धरले बताउनुभयो । उहाँका अनुसार नव युवा, आन्तरिक तथा बाह्य पर्यटकलाई उपत्यकामा रहेका सांस्कृतिक क्रियाकलाप तथा जात्राको जानकारी गराउन प्रदर्शनीको आयोजना गरिएको हो।
यस्तो प्रदर्शनीले काठमाडौँका सबै जात्राको बारेमा जानकारी हुने उहाँको भनाइ छ। युवा पुस्तालाई साथ र सुझावको खाँचो रहेको भन्दै उहाँले प्रदर्शनीलाई अझ बृहत् बनाउने लक्ष्य रहेको बताउनुभयो। आगामी दिनमा प्रदर्शनी उपत्यका बाहिर गर्ने योजनासमेत आयोजकको छ।
हनुमानढोका परिसरमा रहेको महादेव पार्वती दबलीमा आयोजना भएको जात्रै जात्रा तस्बिर प्रदर्शनी प्रतियोगीतामा मनिरत्न शाही प्रथम, रियाज मानन्धर तथा विज्ञान महर्जन द्वितीय तथा श्रेय रत्न शाहीले तृतीय भएका थिए। फोटो प्रदर्शनीमा उपत्यकाका विभिन्न ठाउँमा मनाइने जात्रालाई समेटिएको छ।