वालिङ समाचारदाता
वालिङ, असार १ गते । कालीगण्डकी नदीको महत्व र ऐतिहासिक अवस्थाको जानकारी गराउन विद्यार्थीलाई नदीको तटमा ध्यान शिविर तथा प्रवचन कार्यक्रम गरिएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–१ मा रहेको रामनदीधाम संस्कृत गुरुकुलका विद्यार्थीलाई नदीको महत्वबारे जानकारी गराउन नदीको तटमा नै विभिन्न गतिविधि सञ्चालन गरिँदै आएको गुरुकुलका प्राचार्य कृष्णप्रसाद बस्यालले जानकारी दिनुभयो ।
धर्म, संस्कार र संस्कृतिको जानकारीसँगै पूर्वीय दर्शनबारे विद्यार्थीलाई प्रयोगात्मक रूपमा प्रशिक्षण गरिँदै आएको उहाँको भनाइ छ । बस्यालले भन्नुभयो, “ध्यान तथा नैतिक शिक्षालाई प्राथमिकतासाथ प्रशिक्षण गर्दै आएका छौँ ।”
गुरुकुलमा स्याङ्जा, पाल्पा, गुल्मी, पर्वत, रुपन्देही, कपिलवस्तुलगायतका विद्यार्थीलाई आवासीय रूपमा संस्कृत शिक्षासहितको आधुनिक शिक्षा प्रदान गरिँदै आएको छ । गुरुकुलमा अहिले ११७ जना बटुक (विद्यार्थी) ले अध्ययन गरिरहेको प्राचार्य बस्यालले जानकारी दिनुभयो । कक्षा ६ देखि १० सम्म पढाइ हुँदै आएको गुरुकुलमा पाँच जना निजी स्रोतका गुरुले पढाउँदै आउनुभएको शिक्षक दीपक गैरेले बताउनुभयो । उहाँका अनुसार आधारभूत तहमा दुई जना मात्रै स्थायी शिक्षक कार्यरत छन् । २०८० को एसइई मा ९० प्रतिशत विद्यार्थी उत्कृष्ट अङ्कसहित उत्तीर्ण भएका गैरेले जानकारी दिनुभयो । १० जना विद्यार्थीमा नौ जना उत्तीर्ण भएका हुन् ।
आधुनिक शिक्षासँगै संस्कृत विषयको पढाइ भइरहेकाले विद्यार्थी र अभिभावकको आकर्षण रहेको गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयो । कालीगण्डकी नदीको तटमै गुरुकुल भएकाले विद्यार्थी विभिन्न जिल्लाबाट आउने गरेको उहाँको भनाइ छ । गुरुकुलमा बस्ने बटुकका लागि निःशुल्क खानाको व्यवस्था मिलाइएको छ । विभिन्न दाता र व्यक्तिको सहयोगबाट बटुकलाई गुरुकुलमा राखेर पढाउन सकिएको विद्यालयका प्राचार्य बस्यालले बताउनुभयो ।
गुरुकुलका विद्यार्थीले नियमित रूपमा साँझका बेला गङ्गा आरती गर्दै आएका छन्, यस्तै नदीको संरक्षणका लागि विभिन्न क्रियाकलाप गर्दै आएका छन् ।