• ३ असार २०८१, सोमबार

एमालेलाई त्रुटि सच्याउन पुनः पत्राचार

blog

काठमाडौँ, मङ्सिर २७ गते । निर्वाचन आयोगले नेकपा (एमाले)लाई समानुपातिकतर्फको सूची सच्याउन पत्राचार गर्ने तयारी गरेको छ। मङ्सिर २४ गते समानुपातिकतर्फको बन्दसूचीको उम्मेदवार छनोट गरी सो दलले पठाएको सूची त्रुटिपूर्ण रहेको भन्दै दुई दिनको समयसीमा दिएर त्रुटि सच्याउन पत्राचार गरेकोमा पुनः सोही सूची पठाएपछि आयोगले त्रुटि सच्याउन पुनः पत्राचार गर्ने तयारी गरेको हो। 

आयोगको समानुपातिकतर्फको सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले भन्नुभयो, “नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपालले यसअघि बुझाएको बन्दसूचीमा फेरबदल गरी बुझाए पनि नेकपा (एमाले)ले पुरानै सूचीलाई निरन्तरता दिएको हो।” सो विषयमा निर्णय गर्न अधिकार दिइएकोमा सोमबार अबेरसम्म निर्णय भएको छैन। निर्वाचन आयोगले नेकपा (एमाले)ले मङ्गलबार निश्चित समयभित्र त्रुटि सच्याएर नपठाए अन्य दलको उम्मेदवारलाई निर्वाचित भएको घोषणासहित प्रमाणपत्र दिने तयारी गरेको छ। यद्यपि नेकपा (एमाले)लाई समय तोकेर मङ्गलबारै त्रुटि सच्याएर सूची बुझाउन पत्राचार गर्ने आयोगको तयारी छ।  

नेकपा (एमाले)ले आफूले पठाएको सूची क्रमअनुसारै रहेको दाबी गरेको छ। नेकपा (एमाले)ले प्रदेश १ का लागि समानुपातिकतर्फको बन्दसूचीबाट उम्मेदवार छनोट गर्दा अल्पसङ्ख्यक समूहको प्राथमिकता क्रम सङ्ख्या २ मा सिफारिस उम्मेदवारलाई निरन्तरता दिएको छ। सो दलले सिफारिस गरिएका उम्मेदवार पहाडी नेवार समुदायको रहेकाले अल्पसङ्ख्यकमा राखिएको तर्क गरेको छ। 

मधेश प्रदेशमा मधेशी महिला समूहको क्रम सङ्ख्या २ मा रहेकी फुलोकुमारी देवी अल्पसङ्ख्यकमध्ये पहिलो नम्बरमा भएकाले सिफारिस गरिएको नेकपा (एमाले)ले आयोगलाई लेखेको पत्रमा उल्लेख गरेको छ। सो दलले मधेश प्रदेशको बन्दसूचीमा मुस्लिमतर्फ क्रम सङ्ख्या १ मा रहेकी जैनव खातुनलाई कारबाही गरेको हुँदा दोस्रो नम्बरमा रहेकी नाजिमा खातुनलाई सिफारिस गरेको जनाएको छ। 

आयोगले उम्मेदवार सिफारिस गर्दा देखिएको त्रुटि औँल्याएर यसअघि नै पत्राचार गरिसकेको हुँदा दोहो¥याएर सोही उम्मेदवार सिफारिस गरिएकोमा निश्चित समयसीमा दिएर सच्याउन आग्रह गर्ने तयारी गरिएको बताउनुभयो। त्यसैगरी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल र नागरिक उन्मुक्ति पार्टीले भने त्रुटि सच्याएर पुनः उम्मेदवार छनोट गरी पठाएको छ। नेपाली कांग्रेसले मधेश प्रदेश, नेकपा (माओवादी केन्द्र)ले बागमती प्रदेश र नागरिक उन्मुक्ति पार्टीले मधेश र लुम्बिनी प्रदेशका लागि समानुपातिकतर्फ बन्दसूचीबाट उम्मेदवार छनोट गर्दा त्रुटि गरेको थियो।