• २ वैशाख २०८३, बुधबार

‘महिलाका लागि प्रत्यक्ष कोटा सुनिश्चित हुनु पर्छ’

blog

फुङलिङ, वैशाख २ गते । विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा थालेकी गीताकुमारी लिङ्देन (सेन्दाङ) समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य बन्नुभयो । यसअघि २०७४ र २०८९ सालको प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक बन्दसूचीमा परे पनि लिङ्देनले संसदीय यात्रा भने अघि बढाउन सक्नुभएको थिएन । यस पटक भने उहाँले यात्रा तय गर्नुभयो । 

उहाँको राजनीतिक यात्रा कक्षा ८ मा पढ्दै सुरु भएको थियो । २०४६ सालमा सिदिङ्वा गाउँपालिका–५, मेहेलेको श्री नीलगिरि माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दा नै उहाँ नेपाल विद्यार्थी सङ्घको उपसभापति बन्नुभएको थियो । कक्षा ९ मा अध्ययनरत रहँदै तत्कालीन जिल्ला विकास समितिका सभापति दीपेन्द्र सेन्दाङसँग उहाँको विवाह भएको थियो । 

लिङ्देन निडर र आफ्नो कुरा प्रस्टसँग राख्ने स्वभावकी हुनुहुन्छ । विवाहपछि उहाँको राजनीतिक यात्रा अझै अब्बल हुँदै गयो । महिलाको आवाज सधैँ बुलन्द गर्न अग्रसर रहने लिङ्देन महिला चुलोचौको मात्र होइन, बाहिरी संसारमा पनि स्थापित हुनु पर्छ भन्ने मान्यता राख्नुहुन्छ । त्यसैले उहाँको राजनीतिक यात्राले निरन्तरता पाएको छ । 

उहाँ २०४७ सालमा महिला सङ्घको जिल्ला सचिव हुनुभयो । २०५२ सालमा महिला सङ्घको उपसभापति र २०५७ देखि २०६२ सालसम्म सभापति हुनुभयो । 

२०६० सालमा एनजिओ फेडेरेसन ताप्लेजुङको उपाध्यक्षसमेत हुनुभएको थियो । 

महिला अधिकारकर्मीका रूपमा परिचित उहाँ महिला सञ्जालको संयोजकसमेत हुनुभएको थियो । धेरै महिलाको न्यायका लागि काम गरेको स्मरण गर्दै लिङ्देनले भन्नुभयो, “जे गरेँ, राम्रैका लागि गरेँ, यो मेरो यात्रा रोकिने छैन । अब महिलाका लागि समानुपातिक मात्र होइन, प्रत्यक्ष कोटा सुनिश्चित हुनु पर्छ । अधिकार ३३ प्रतिशतमा होइन, ३५ प्रतिशत सुनिश्चित गरी प्रत्यक्ष प्रतिस्पर्धाका लागि क्षेत्र सुनिश्चित गर्नु पर्छ । संसद्मा मेरो आवाज नै यही बन्ने छ ।” 

जिल्लाको विकास र योजनाका लागि सधैँ अघि बढ्ने उहाँले बताउनुभयो । ताप्लेजुङ पर्यटकीय क्षेत्रमा सम्भावना बोकेको जिल्ला भएका कारण पर्यटन विकासमा पनि आफ्नो ध्यान केन्द्रित हुने उहाँको भनाइ छ । 

पार्टीको महाधिवेशन प्रतिनिधि, महिला सङ्घको सभापतिलगायतको जिम्मेवारी पूरा गर्नुभएको लिङ्देनले निर्वाचनका समयमा जिल्लाका समस्या र चुनौतीका विषयदेखि महिला अधिकारका विषयलाई संसद्मा बुलन्द गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । प्रतिबद्धतालाई अब पूरा गर्ने दिन आएकाले यी प्रतिबद्धतामा रहेर काम गर्ने उहाँको भनाइ छ ।   

Author
सहारा लिम्बू

उहाँ ताप्लेजुङबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।