• ८ वैशाख २०८२, सोमबार

ओलाङचुङगोलामा सुख्खा बन्दरगाह निर्माण गर्न माग

blog

फक्ताङलुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोलाको मवाटार क्षेत्र । तस्बिर: गोरखापत्र

फुङ्लिङ, चैत १४ गते । ताप्लेजुङको ओलाङचुङगोलामा सुख्खा बन्दरगाह निर्माण गर्नु पर्ने माग अघि सारिएको छ । नेपाल–चीन व्यापार प्रवर्द्धनका लागि सुख्खा बन्दरगाह निर्माण गर्न स्थानीयहरूले माग अघि सारेका हुन् । 

हाल उक्त नाकामा सडकको पहुँच भइसकेको र उत्तर दक्षिण सीमा जोडिने सबैभन्दा कम दुरीको सडक भएको हुँदा सो नाका सुख्खा बन्दरगाह निर्माण गर्न उचित हुने देखिएको फक्ताङलुङ गाउँपालिका ७ वडा अध्यक्ष छेतेन लामाले बताउनुभयो । उहाँले गत सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै सुख्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन [डिपिआर] तयार गर्न आग्रह गर्नुभएको छ । 

ओलाङचुङगोलाको मवाटार क्षेत्रमा सुख्खा बन्दरगाह निर्माण गर्नका लागि नेपाल इन्टर मोडल यातायात विकास समितिले मङ्गलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रममा उक्त परियोजना समावेश गर्न आग्रह गरेको छ ।  

नेपाल इन्टर मोडल यातायात विकास समितिले आर्थिक वर्ष २०७८र७९ मा सो नाकाको पूर्व सम्भाव्यता अध्ययन पूरा गरी प्राप्त प्रतिवेदन मन्त्रालयमा बुझाइसकेको जनाएको छ । साथै, फक्ताङलुङ गाउँपालिकाको ७ वडा कार्यालयले आवश्यक जग्गा उपलब्ध रहेको जानकारी दिँदै सुख्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० निर्माणका लागि अनुरोध गरेको छ ।  

Author
साहारा लिम्बू

उहाँ ताप्लेजुङबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।