फुङ्लिङ, चैत १४ गते । ताप्लेजुङको ओलाङचुङगोलामा सुख्खा बन्दरगाह निर्माण गर्नु पर्ने माग अघि सारिएको छ । नेपाल–चीन व्यापार प्रवर्द्धनका लागि सुख्खा बन्दरगाह निर्माण गर्न स्थानीयहरूले माग अघि सारेका हुन् । हाल उक्त नाकामा सडकको पहुँच भइसकेको र उत्तर दक्षिण सीमा जोडिने सबैभन्दा कम दुरीको सडक भएको हुँदा सो नाका सुख्खा बन्दरगाह निर्माण गर्न उचित हुने देखिएको फक्ताङलुङ गाउँपालिका ७ वडा अध्यक्ष छेतेन लामाले बताउनुभयो । उहाँले गत सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै सुख्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन [डिपिआर] तयार गर्न आग्रह गर्नुभएको छ । ओलाङचुङगोलाको मवाटार क्षेत्रमा सुख्खा बन्दरगाह निर्माण गर्नका लागि नेपाल इन्टर मोडल यातायात विकास समितिले मङ्गलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रममा उक्त परियोजना समावेश गर्न आग्रह गरेको छ । नेपाल इन्टर मोडल यातायात विकास समितिले आर्थिक वर्ष २०७८र७९ मा सो नाकाको पूर्व सम्भाव्यता अध्ययन पूरा गरी प्राप्त प्रतिवेदन मन्त्रालयमा बुझाइसकेको जनाएको छ । साथै, फक्ताङलुङ गाउँपालिकाको ७ वडा कार्यालयले आवश्यक जग्गा उपलब्ध रहेको जानकारी दिँदै सुख्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० निर्माणका लागि अनुरोध गरेको छ ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं ८ यम्फुदिन स्थित नयाँ झोरेनीमा चौँरी तथा याक प्रदर्शन हुने भएको छ । तीन हजार ३०७ मिटर उचाइमा रहेको नयाँ झोरेनीमा आगामी वैशाख १४ र १५ गते चौँरी तथा याक प्रदर्शन हुने भएको हो ।
फुङ्लिङ, फागुन २० गते । नेकपा एमाले थेचम्बु वडा कमिटीले १ महिनामा कम्तीमा एक दिन श्रम अभियान सुरु गरेको छ । आफ्नो गाउँ आफैँ बनाऊँ भन्ने नारा सहित वडा कमिटीले उक्त अभियान सुरु गरेको हो ।एमाले जिल्ला कमिटी सदस्य तेजवीर मेन्याङबोका अनुसार थेचम्बु वडा कमिटीले सुरु गरेको अभियान अन्तरगत स्थानीय स्तरका सडक, बाटो, पानीका मुहान आदिमा सरसफाइ तथा सडकका खाल्डा पुर्ने लगायतका कार्य गर्ने गरिएको छ । युवा पङ्ती जागृत भई सामाजिक कार्यमा सक्रिय भएको मेन्याङबोको भनाई छ ।वडा तथा पालिकाका हरेक विकास निर्माणका कार्यमा श्रमदान अपरिहार्य रहेकाले यस्तो अभियान चलाइएको एमाले थेचम्बु कमिटीले जनाएको छ । श्रमदान सँगै स्थानीय स्तरका विकास निर्माणमा पनि सहयोग गर्ने श्रम दाताहरूको भनाई छ ।अहिलेको अवस्था राजनीतिक दलहरू एक अर्कालाई आरोप प्रत्यारोपमा व्यस्त भइरहेको अवस्थामा एउटा राजनीतिक दल भित्रको कमिटीले यस्तो काम सुरु गरेकोले यो काम निक्कै उदाहरणीय बन्ने स्थानीय बासीहरूको भनाई छ ।
फुङलिङ, फागुन १४ गते । पाथीभरा केबलकार विवादको झडपमा आपराधिक उपद्रव र हुलदङ्गा गरेको अभियोगमा थप दुई जना पक्राउ परेका छन् । पाँचथर याङवरक गाउँपालिका २ की ४३ वर्षीय इन्दिरा धौराली र फक्ताङलुङ गाउँपालिका ५ का ३७ वर्षीय सुवास तुम्बाहाङफेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फुङलिङ बजारको विरेन्द्रचोक शनिवार साँझ भएको झडपमा आपराधिक उपद्रव र हुलदङ्गा गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो । घटनापश्चात् फरार रहेका प्रतिवादीलाई खोजतलास गर्ने क्रममा सोमबार फुङलिङ नगरपालिका ४ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि १५ जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धानलाई जारी राखेको छ । जिल्ला अदालत ताप्लेजुङबाट ७ दिनको म्याद लिई अनुसन्धानलाई जारी राखिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक ९डिएसपी० रवि रावलले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार नियन्त्रणमा लिइएका धौराली र तुम्बाहाङफलेलाई समेत सोही म्यादमा मिलान हुने गरि ५ दिनको समयावधि लिई अनुसन्धान सुरु गरिएको प्रनाउ रावलको भनाई छ । मुलुकी संहिता २०७४ को दफा ६३ बमोजिम हुलदङ्गा गरेको र सोही संहिताको दफा २८५ बमोजिम आपराधिक उपद्रव गरेको कसुरमा ताप्लेजुङका एक सहित १५ जनालाई गत शनिवार नै प्रहरीले नियन्त्रणमा लिएको थियो ।
ताप्लेजुङमा जारी निषेधाज्ञा गएरातिदेखि अन्त्य भएको छ ।
फुङ्लिङ फागुन १२ गते । ताप्लेजुङको पाथीभरा मुक्कुमलुङ क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर विरेन्द्रचोकमा नो केबलकार र प्रहरी बिच भएको झडपको क्रममा १५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले एक प्रेस विज्ञप्ति जारी गर्दै आपराधिक उपद्रव र हुलदङ्गा गर्ने अभियोगमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।पक्राउ पर्ने १५ जना मध्ये ताप्लेजुङका एक जना मात्र रहेका छन् । अन्य सबै जिल्ला बाहिरका रहेका छन् । जसमा चार जना महिला रहेका छन् । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं. १ निवासी ४५ वर्षका नवीन पोमू रहेका छन् । यस्तै फिदिम नगरपालिका ११ पाँचथर निवासी २२ वर्षका एमन राई, फालेलुङ गाउँपालिका वडा नं. ८ घर भई हाल फिदिम नगरपालिका १ बस्दै आएका ४० वर्षकी सुनिता केरुङ रहेका छन् । हिलिहाङ गाउँपालिका वडा नं. ६ घर भई हाल अर्जुनधारा नगरपालिका ११ निवासी ४८ वर्षका मित्र लिङदेन र मिक्लाजुङ गाउँपालिका वडा नं. ५ घर भई इलाम नगरपालिका वडा नं. ७ निवासी ५१ वर्षका योगेन्द्र लावती रहेका छन् । आठराई गाउँपालिका वडा नं. ७ तेह्रथुम घर भई हाल जिल्ला झापा अर्जुनधारा नगरपालिका ११ निवासी ३० वर्षकी दीक्षा भन्ने निर्मला बराल (दर्नाल) पक्राउ परेको प्रहरीले जनाएको छ । यस्तै शिवसतासी नगरपालिका २ झापा स्थायी घर भई बिर्तामोड नगरपालिका २ निवासी २० वर्षकी ईक्सा लिम्बू, अर्जुनधारा नगरपालिका ४ झापा निवासी २१ वर्षकी निहा चेम्जोङ पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका ३ सुनसरी निवासी २३ वर्षका विवेक लिम्बू, सोही निवासी १९ वर्षका जुरन राई, इटहरी उपमहानगरपालिका २ निवासी ३२ वर्षका अर्जुन भन्ने बिर्ख बहादुर तामाङ, इटहरी उपमहानगरपालिका २० निवासी ३२ वर्षका अनुप सुब्बा, र इटहरी उपमहानगरपालिका १० निवासी १९ वर्षका विशेष सुब्बा रहेका छन् । ग्रामथान गाउँपालिका वडा नं. ६ मोरङ घर भई हाल सुन्दरहरैँचा नगरपालिका १० बस्दै आएका ५८ वर्षका तुलाराम तामाङ र उर्लाबारी नगरपालिका १ मोरङ निवासी ३९ को हरि लिम्बू गरी जम्मा १५ जना पक्राउ परेका छन् ।उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा ६३ बमोजिम हुलदङ्गा गर्न नहुने र उक्त संहिताको दफा २८५ बमोजिम आपराधिक उपद्रव गर्न नहुने कसूरमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४ बमोजिम जिल्ला अदालतबाट सात दिनको अनुमति लिएर अनुसन्धान बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । शनिबार साँझ नो केबलका समूह र प्रहरीबिच झडप हुँदा २३ घाइते भएका छन् । झडपको क्रममा ११ जना प्रहरी सहित २३ जना घाइते भएका हुन् । ११ जना प्रहरी र १२ जना प्रदर्शनकारी घाइते भएका छन् । घाइते मध्ये १ जना प्रहरी र ३ जना आन्दोलनरत पक्षका कार्यकर्तालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ । अन्यको जिल्ला अस्पतालमा उपचार गरी डिस्चार्ज भइसकेको छ भने केही प्रहरीहरूको उपचार जारी रहेको छ । नो केबलकार समूहले आयोजना गरेको मुक्कुमलुङ पदयात्राका लागि जिल्ला बाहिरबाट आएका सयौँ आन्दोलनरत पक्षले शनिबार साँझ फुङलिङमा प्रदर्शन गरेका हुन् । पाथीभरा स्थित काफ्ले पाटीमा ४ दिनसम्म विरोध प्रदर्शन गरी शनिबार साँझदेखि सदरमुकाम केन्द्रित भएका भएका थिए । अहिले फुङ्लिङमा निषेधाज्ञा जारी गरिएको छ ।
ताप्लेजुङ फुङ्लिङमा अनिश्चितकालीन निषेध आदेश जारी गरिएको छ । आइतबार बिहान ५ बजे देखि अर्को आदेश नआए सम्मको लागि निषेध आदेश जारी गरिएको हो ।
फुङलिङ, फागुन ९ गते । नेपाल प्रहरीको टोलीले ताप्लेजुङमा घाइते अवस्थामा भेटिएको पोथी कस्तुरीको उद्धार गरेको छ । फक्ताङ्लुङ गाउँपालिका ७ ओलाङ्चुङगोलामा घाइते अवस्थामा भेटिएको पोथी कस्तुरीको बिहीबार उद्धार गरिएको हो । घाइते कस्तुरीको इलाका प्रहरी कार्यालय ओलाङ्चुङगोलाले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रबी रावलले जानकारी दिनुभयो । उहाँका अनुसार कञ्चनजङ्घा संरक्षण क्षेत्रका कर्मचारीको सहकार्यमा कस्तुरीको उद्धार गरिएको छ । जङ्गली जनावर मलसाँप्रोको आक्रमणका कारण कस्तुरी घाइते भएको प्रनाउ रावलले जानकारी दिनुभयो । प्रहरीका अनुसार उद्धार गरिएको कस्तुरीलाई उपचारपछि सुरक्षित वासस्थान तर्फ छोडिएको छ ।
फुङलिङ, फागुन ४ गते । ताप्लेजुङको ओलाङचुङगोलमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । गत वर्ष पुसमै भएको हिमपात यस वर्ष फागुनमा मात्र भएको छ । स्थानीय तेन्जिङ शेर्पाका अनुसार यस वर्षको पहिलो पटक गए राति देखि हिमपात भएको हो । ओलाङचुङगोला बस्तीमा करिब ४ सेन्टिमिटर हिमपात भएको उहाँले बताउनुभयो । उहाँले यस वर्षको हिउँद याममा आफूहरूले जाडो नै महसुस नगरेको समेत बताउनुभयो । गत वर्ष अत्यधिक हिमपात भएको र यस वर्ष हिमपात नै नभएकाले जाडोको अनुभूति नभएको उहाँको भनाइ थियो ३ हजार २ सय मिटरको उचाइमा रहेको यस बस्तीमा पहिलो पटक हिमपात हुँदा भ्रमण लागि पुगेका पर्यटक हर्षित भएका छन् । शेर्पाका अनुसार हिजो साँझ १० जना पर्यटक चीनको सीमावर्ती क्षेत्र टिपताला भञ्ज्याङसम्म भ्रमणका लागि पुगेका छन् । बस्ती क्षेत्रमा कम मात्रामा हिमपात भए पनि सीमावर्ती क्षेत्रमा अत्यधिक हिमपात भएको हुनाले गाडीमा यात्रा गर्न जोखिम हुने स्थानीयको भनाई छ । यस्तै सबैभन्दा बढी पर्यटक तथा तीर्थयात्री आउने क्षेत्र पाथीभरा मन्दिरमा समेत हिमपात भएको छ । तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा देवी मन्दिरदेखि करिब ४ किलोमिटर तल रहेको माथिल्लो फेदीसम्म हिमपात भएको स्थानीय राजेन्द्र महतले जानकारी दिनुभयो । जिल्लाका अन्य विभिन्न उच्च स्थानमा गएरातिदेखि नै हिमपात जारी रहेको छ ।
फुङ्लिङ, फागुन २ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा खेतीयोग्य जमिन बाँझो राखे जरिवाना लाग्ने भएको छ । पालिकाले जारी गरेको आर्थिक विधेयक २०८१ को अनुसूची–११ मा जरिवानाको व्यवस्था गरेको हो ।यस्तै जथाभाबी पशु चौपाया छाड्ने व्यक्तिलाई समेत सजाय र जरिवानाको व्यवस्था गरिएको छ । जस अनुसार खेतीयोग्य जमिन बाँझो राखेमा तोकिएको मालपोत करको थप एक सय प्रतिशत जरिवाना लिइने छ । विधेयकमा खेतीयोग्य जमिन हो की होइन भनेर ठहर गर्ने जिम्मेवारी सम्बन्धित वडाध्यक्षलाई दिइएको छ । खेतीयोग्य जमिन बाँझो राख्नेबाट प्राप्त भएको जरिवानाको २५ प्रतिशत रकम सम्बन्धित टोल विकास संस्थालाई पुरस्कार स्वरूप प्रदान गरिने छ ।विधेयक अनुसार जथाभाबी पशु चौपाया छाड्ने व्यक्तिलाई प्रति पशु एक सय रुपियाँ जरिवाना लिने छ । उक्त कार्यको अनुगमनको जिम्मेवारी सम्बन्धित टोल विकास संस्थालाई दिइएको छ । यस्तै गाउँपालिका क्षेत्रभित्रका नदी, खोला खोल्सी आदिमा पाइने दुर्लभ असला र तिते लगायतका माछा मार्न रासायनिक विषादी वा, करेन्ट वा महाजाल प्रयोग गर्ने व्यक्ति तथा समूहलाई प्रचलित सङ्घीय तथा प्रादेशिक कानुनमा उल्लेखित बाहेक गाउँपालिकाले थप १० हजार रुपियाँ जरिवाना लिने पालिकाले जारी गरेको विधेयकमा उल्लेख गरिएको छ ।