फुङ्लिङ, असार ३२ गते । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा तीन करोड ११ लाख बढी भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्ष २०८१–८२ मा मन्दिरमा तीन करोड ११ लाख ६४ हजार ६७६ रुपैयाँ भेटी रकम सङ्कलन भएको हो ।
पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा बढी भेटी वैशाख र चैत महिनामा सङ्कलन भएको छ । वैशाखमा ६० लाख ९० हजार ८१५ रुपियाँ र चैत महिनामा ५० लाख पाँच यस रुपियाँ भेटी सङ्कलन भएको छ । विशेष गरी चैत्र, वैशाख र दसैँ तिहारलाई पाथीभरा सिजनको रूपमा लिने गरिन्छ ।
यस्तै साउन महिनामा छ लाख ९१ हजार, भदौमा ११ लाख ३५ हजार ५५५ रुपियाँ, असोज महिनामा सबैभन्दा थोरै चार लाख ११ हजार १५१ रुपियाँ भेटी सङ्कलन भएको थियो । कार्तिकमा ३७ लाख ४४ हजार ६५० रुपियाँ, मङ्सिरमा ४१ लाख १७ हजार रुपियाँ, पुसमा २९ लाख २५ हजार रुपियाँ भेटी सङ्कलन भएको सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।
माघ महिनामा १० लाख ४० हजार रुपियाँ, फागुनमा १३ लाख तीन हजार पाँच सय रुपियाँ, जेठमा २३ लाख ९५ हजार रुपियाँ र असारमा २३ लाख एक हजार १०५ रुपियाँ भेटी सङ्कलन भएको क्षेत्र विकास समितिले जनाएको छ ।
गत आर्थिक वर्षमा भने ३ करोड ९८ लाख ४१ हजार ९५८ रुपैयाँ भेटी सङ्कलन भएको थियो । समितिका अनुसार तुलनात्मक रूपमा उक्त आर्थिक वर्षको भेटी रकम धेरै देखिनुमा धेरै समय अघिदेखि भण्डारमा थन्किएको रकम सोही वर्षमा नै गणना भएको थियो भने भारु नोट र सिक्काको समेत सटही भएको थियो ।
आगामी समयमा पर्यटक सुविधामा सुधार, पूर्वाधार विकास र प्रचारप्रसारमा जोड दिँदै पाथीभरा क्षेत्रमा अझ भक्तजन आकर्षित गर्ने योजना सहित काम गर्ने क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबे लिम्बूले बताउनुभयो ।
पाथीभरालाई सबै धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिन्छ र धार्मिक पर्यटकीय दृष्टिले पूर्वी नेपालको महत्त्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य हो । पछिल्लो समयमा भारत बाहेकका मुलुकका समेत नागरिकहरू आउन थालेको समितिले जनाएको छ ।
यस्तै चालू आर्थिक वर्ष २०८१–०८२ मा दुई लाख बढी भक्तजन पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिले आज सार्वजनिक गरेको विवरण अनुसार २ लाख १७ हजार ८७६ जना भक्तजनले पाथीभराको दर्शन गरेका हुन् ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार गत वर्षको तुलनामा यस वर्ष दर्शनार्थीको सङ्ख्या केही घटेको छ । अघिल्लो आर्थिक वर्ष २०८०–०८१ मा २ लाख ३१ हजार ३३४ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए । यो वर्ष दर्शनार्थीको सङ्ख्या घट्नुमा निर्माणाधीन पाथीभरा केबुलकारका कारण उत्पन्न विवादले भएको बन्द लगायतका कारण प्रमुख भएको कार्यकारी निर्देशक हाङबाङको भनाई छ ।
आर्थिक वर्ष २०८१–०८२ मा सबैभन्दा धेरै दर्शनार्थी कार्तिक महिनामा आएका थिए । जसमा ६१ हजार १७३ जना भक्तजनले मन्दिरको दर्शन गरेका थिए । आर्थिक वर्षको सुरुवाती समय साउन महिनामा भने सबैभन्दा कम १ हजार ९५५ जना मात्र आएका थिए ।
सङ्कलन गरी कार्यालयमा ल्याएको भेटी गणना गर्दै पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी । तस्विरः साहारा लिम्बू