• ८ भदौ २०८२, आइतबार

पाथीभरामा छत्तिस क्विन्टल सिक्का

blog

फुङ्लिङ (ताप्लेजुङ), भदौ ८ गते । प्रसिद्ध धार्मिकस्थल पाथीभरामा पछिल्लो १० महिनामा सङ्कलित ३६ क्विन्टल सिक्काको गणना सुरु भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारीले भेटी सङ्कलन गरेर गणना सुरु गरेका हुन् । गत आर्थिक वर्ष २०८१/८२ मा तीन करोडभन्दा बढी नगद भेटी सङ्कलन भएको ताप्लेजुङको पाथीभरा मन्दिरमा लाखौँका सिक्का, सुन, चाँदी, तामा, घन्टीलगायतका सामग्रीसमेत भक्तजनले चढाएका छन् । मठमन्दिर, देवी देउरालीमा चढाएका भेटी टिप्न हुँदैन, यदि टिपिहालेमा अनिष्ट अथवा प्राकृतिक  विपत्ति निम्तन्छ भन्ने नेपाली समाजको मान्यता छ तर प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा भक्तजनले चढाएको भेटी भने सङ्कलन र व्यवस्थापन गर्ने गरिएको छ । 

आफ्नो मनोकामना पूरा हुने विश्वासमा बर्सेनि आउने लाखौँ भक्तजनले मन्दिरमा चढाएका भेटीलाई सङ्कलन गरी व्यवस्थापन गरिँदै आएको छ । भेटी सङ्कलनको कार्य विसं २०४६ मा गरे पनि औपचारिक रूपमा विसं २०४८ सालबाट सुरु गरिएको पाथीभरा देवी मन्दिर संरक्षण तथा संवर्धन समितिका सचिव लक्ष्मी काफ्लेले बताउनुभयो । पाथीभरा क्षेत्र विकास समितिले हरेक महिना नगद भेटी सङ्कलन गरी गणना गरेर बैङ्कमा जम्मा गर्छ । 

पछिल्लो १० महिनादेखि भण्डारणमा रहेका करिब ३६ क्विन्टल सिक्काको गणना बल्ल सुरु भएको हो । तीन हजार ७९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिरमा नेपाली, भारतीय र अन्य विभिन्न मुलुकका भक्तजनले ३६ क्विन्टल सिक्का चढाएका छन् । मन्दिर क्षेत्रमा खटिएका कर्मचारीले हरेक दिन नेपाल प्रहरीको रोहबरमा भेटी सङ्कलन गरी माथिल्लो फेदीमा ल्याएर भण्डारण गर्ने गरिएको छ । करिब १० महिनाको अवधिसम्मका सिक्का फुङ्लिङमा रहेको कार्यालयमा ल्याएर गणना तथा व्यवस्थापनको काम सुरु गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजित हाङ्बाङले जानकारी दिनुभयो ।  

सिक्कामा लागेका खिया, अबिरलगायतका फोहोरलाई उपकरणको सहायताले सफा गरेर घाममा सुकाइन्छ । त्यसपछि विभिन्न मुलुकका छुट्याएर प्याकिङ गरेर बजार तथा बैङ्कमा पठाउन तयार गरिन्छ । घाम लागेको समयमा दैनिक एक सय किलोसम्मका सिक्का गणना भइरहेको समितिले जनाएको छ । 

भेटी गणनाका लागि आठ जना कर्मचारी परिचालन गरिएको छ । सङ्कलित भेटीको नगदलाई पहिला गणना गर्ने प्रचलन रहेको समितिका अध्यक्ष रक्की थेवे लिम्बूको भनाइ छ ।    

Author
सहारा लिम्बू

उहाँ ताप्लेजुङबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।