भक्तिविलास पोखरेल
गाईघाट, वैशाख २ गते । कोशीको बाढीबाट हुने सम्भावित खतराको अति संवेदनशील क्षेत्रमा रहेको उदयपुरको बेलका नगरपालिका–८, लाहुरेखोचस्थित डुम्रीबोटे क्षेत्रमा बिगबोल्ड अर्थात् ठुला ढुङ्गाको तटबाँध निर्माण गरी वर्षा आउनुअगावै कटान रोकथामको काम सुरु गरिएको छ ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय विराटनगरले दुई करोड ३२ लाख ९८ हजार ६९० रुपियाँको लागतमा ठेक्का सम्झौता गरी दुई छुट्टाछुट्टै निर्माण व्यवसायीमार्फत एक किलोमिटर लम्बाइ, नौ मिटर स्लोप उचाइ र डेढ मिटर धुरीको चौडाइ भएको बिग बोल्डर अर्थात् ठुला ढुङ्गा लगाएर तटबाँध निर्माण गरी कोशी नियन्त्रणको काम गरेको हो ।
विगतमा सप्तकोशीको बाँध फुटेर गाउँतिर बाढी पसेको लाहुरेखोचस्थित डुम्रीबोटे क्षेत्रमा कोशीको धार मोडिएपछि सो स्थानभन्दा तलबाट कटान गरी कोशी पुनः गाउँतिर पस्ने खतरा बढेकाले बिग बोल्डर स्लोप अर्थात् ठुला ढुङ्गा बिछ्याएर तटबाँध निर्माण गरी कोशी नियन्त्रणको कार्य धमाधम भइरहेको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय विराटनगरका आयोजना प्रमुख डिई राजेन्द्रप्रसाद देवले बताउनुभयो ।
कोशीको प्रवाहलाई किनारातिर ठोक्किएर दबाब कम गरी कटान नियन्त्रण गर्न अघिल्ला वर्षमा लगाइएको बिगबोल्डर प्रभावकारी भएकाले अहिले पनि त्यस प्रकारको नदी कटानको प्रवाहलाई नियन्त्रण गर्न सोही किसिमको बिग बोल्डरको स्थायी प्रकृतिको बाँध बनाइएको उहाँले बताउनुभयो ।
२०८३ वैशाख २० भित्रमा सम्पूर्ण काम सम्पन्न गर्ने गरी केयन बिल्डर्स प्रालि मोरङ र दिखुपा कन्स्ट्रक्सन प्रालि सुनसरीसँग क्रमशः एक करोड १६ लाख ४८ हजार ९०५ रुपियाँ र एक करोड १६ लाख ४९ हजार ७८४ रुपियाँको लागतमा तटबाँध निर्माण गर्न २०८२ वैशाख २१ गते दुई अलग अलग ठेक्का सम्झौता गरी निर्माण अगाडि बढाइएको डिई देवले बताउनुभयो ।
त्यहाँ स्थायी प्रकृतिको तटबाँध नहुँदासम्म यो वर्ष पनि बाढीको उच्च जोखिम कायमै रहेको अवस्थामा करिब पाँच सय घरपरिवार पुनः विस्थापित हुन सक्ने स्थिति भएपछि दुई सय किलोग्रामभन्दा बढी तौल भएका ढुङ्गा लगाएर कोशीको भेल रोक्न सक्ने खालको स्थायी प्रकृतिको बाँध बनाइएको उहाँले बताउनुभयो ।
सप्तकोशीको बाढीबाट विगतका वर्षमा बेलका नगरपालिका–२, ३, ८, ९ र सुनसरीको वराहक्षेत्र नगरपालिका–६ र ९ का गरी करिब दुई हजार पाँच सय घर प्रभावित बनेकोमा पाँच सय परिवार तत्काल अस्थायी आवास व्यवस्था गरी सुरक्षित स्थानमा राखिएको थियो ।
उक्त क्षेत्रमा थप तटबाँध निर्माण गरी कोशी कटानको जोखिमबाट स्थानीय टप्पुवासी जनताको सुरक्षाका लागि थप बजेट आवश्यक परेको पनि उहाँले बताउनुभयो । कोशी कटानको जटिल समस्याले जीवन र मरणको सँघारमा बाँचिरहेका त्यस क्षेत्रका गरिब तथा विपन्न किसानलाई बाँधले निकै ठुलो राहत पुग्ने विश्वास गरिएको छ ।