खेमराज सापकोटा
रानी (विराटनगर), वैशाख २ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सिरुवा पर्व (जुड़शीतल) को अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । तराई क्षेत्रमा बसोबास गर्ने थारू र मैथिली समुदायले मनाउने यस पर्वले आपसी सद्भाव, मेलमिलाप र सांस्कृतिक एकताको सन्देश दिने उहाँले बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले जारी गर्नुभएको शुभकामना सन्देशमा सिरुवा पर्व बसन्त ऋतुको आगमन, नयाँ वर्षको सुरुवात र नयाँ आशाको प्रतीकका रूपमा मनाइने उल्लेख गर्नुभएको छ । वैशाख महिनाको सुरुवातमा मनाइने यस पर्वमा पानी छ्यापेर एकअर्कालाई आशीर्वाद दिने तथा शीतलता बाँड्ने मौलिक परम्पराले समाजमा न्यानोपन र सहिष्णुता फैलाउने विश्वास व्यक्त गरिएको छ ।
उहाँले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले यस्ता पर्वहरूले सामाजिक एकता सुदृढ बनाउने धारणा राख्नुभयो । “हाम्रा मौलिक परम्परा र संस्कृतिले हामीलाई सांस्कृतिक रूपमा समृद्ध बनाउँदै सामाजिक सद्भावलाई अझ प्रगाढ बनाएका छन्,” सन्देशमा भनिएको छ ।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले सबै जातजाति, धर्म र संस्कृतिको संरक्षण तथा संवर्द्धनलाई उच्च प्राथमिकतामा राख्दै आएको पनि उल्लेख गर्नुभएको छ । प्रदेश स्थापना कालदेखि नै विभिन्न समुदायको सांस्कृतिक पहिचान जगेर्ना गर्दै सामाजिक एकताको सेतुका रूपमा काम गर्दै आएको उहाँको भनाइ छ ।
सन्देशमा कृषि, पर्यटन, संस्कृति संरक्षण र सामाजिक विकासमा सांस्कृतिक विविधताको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मौलिक परम्परा, भाषा र जीवनशैलीको संरक्षणमा सबैले ध्यान दिनुपर्ने आवश्यकता पनि औंल्याइएको छ ।