• १२ असोज २०८१, शनिबार

सिर्जनशील सिकाइका लागि

सङ्गीतमा रमाउँछन् बालबालिका

blog

गाईघाट समाचारदाता

गाईघाट, मङ्सिर २६ गते । बालबालिकामा सिर्जनशील सिकाइको विकास गर्ने उद्देश्यले उदयपुरको कटारी नगरपालिका–५ को तीनतले गाउँलगायत विभिन्न तीन स्थानमा सङ्गीत केन्द्र सञ्चालनमा ल्याइएको छ।

कुनै पनि बालबालिकाको सर्वाङ्गीण विकासका लागि विद्यालयीय शिक्षासँगै अतिरिक्त क्रियाकलाप र सिर्जनशील सिकाइको समेत आवश्यकता हुने हुँदा कटारी नगरपालिकाको तीनतले, कटारी बजार र त्रियुगा नगरपालिका–१२ को पुरानो गाईघाटमा छुट्टाछुट्टै सङ्गीत केन्द सञ्चालनमा ल्याइएको प्रशिक्षक शैलेन्द्र खतिवडाले बताउनुभयो। सानैदेखि रुचिअनुरूपको विधामा बालबालिकालाई सक्रिय बनाउन सकियो भने त्यसले उनीहरूको शारीरिक, मानसिक, बौद्धिक, शैक्षिक र संवेगात्मक विकासमा ठूलो मद्दत पुग्ने र गीत सङ्गीतको मनोरञ्जनात्मक शैलीमा हुने सिकाइ पट्यारलाग्दो नभएर रहरलाग्दो हुने हुँदा यस्तो खालको सिर्जनशील सिकाइमा बालबालिका बढी आकर्षित हुने गरेको उहाँ बताउनुहुन्छ।

सङ्गीत केन्द्रमा रुचिअनुरूप निःशुल्क हारमुनियम, गितार, बाँसुरी, मादल, तबला र ढोलक बजाउन, गीत गाउन र नाच्न सिकाइन्छ। 

सङ्गीत शिक्षणका लागि छ वर्षको कोर्स विकास गरिएको र उक्त कोर्स पूरा गरेपछि गीतसङ्गीतको क्षेत्रमा लागेर जीवन जिउन सक्ने आधारशीला भएको प्राविधिक जनशक्ति तयार हुने प्रशिक्षक खतिवडाले बताउनुभयो। उहाँले भन्नुभयो, “यहाँ बालबालिकासँगै सबै उमेरका मानिसलाई सिक्ने अवसर छ।”

प्रशिक्षक खतिवडाका अनुसार हाल कटारी बजारमा सञ्चालित केन्द्रमा ६०, तीनतलेमा तीन सय र गाईघाट केन्द्रमा ७० बालबालिकाले सङ्गीत सिर्जनाको अध्ययन गरिरहेका छन्। खासगरी सैद्धान्तिकभन्दा पनि प्रयोगात्मक अर्थात् अभ्यास शिक्षणमार्फत उनीहरूलाई गीत, सङ्गीत, नृत्य र वाद्यवादनको बीचमा कसरी सुर ताल मिलाउनुपर्छ भन्ने विषयमा कलात्मक ढङ्गले अभ्यास गराइन्छ।

आर्थिक अवस्था कमजोर भएका र ग्रामीण क्षेत्रसमेतलाई समेटिएकाले सङ्गीत क्षेत्रको सिकाइमा कुनै समस्या छैन। सङ्गीतको कक्षा व्यवस्थापन, वाद्यवादनका सामग्रीको व्यवस्थापन र शिक्षाका लागि पारिश्रमिकको व्यवस्थासमेतका लागि परिवर्तनका लागि साङ्गीतिक कार्यक्रम भन्ने एउटा गैरसरकारी संस्थाले सहयोग गरिरहेको तर सरकारी क्षेत्रबाट भने हालसम्म यस किसिमको साङ्गीतिक क्षेत्रमा कहीँकतैबाट पनि लगानी नभएको उहाँले बताउनुभयो।