काँक्रेविहार समाचारदाता
सुर्खेत, चैत १३ गते । कर्णाली प्रदेशले शिक्षा गुणस्तर सुधार गर्न १० बर्से शैक्षिक योजना निर्माण गर्न लागेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले शैक्षिक वर्ष २०८२/८३ देखि २०९१/९२ सम्मका लागि शैक्षिक सुधार गर्ने भन्दै सो योजना तर्जुमा गर्न लागेको हो । यसका लागि मन्त्रालयले गठन गरेको कार्यदलले अन्तिम मसौदा तयार गरिरहेको छ ।
‘समृद्ध प्रदेश र सुखारी कर्णालीवासीको प्रमुख आधार : गुणस्तरीय शिक्षाका लागि पर्याप्त लगानीमा शैक्षिक पूर्वाधार’ भन्ने दूरदृष्टिसहित योजना तर्जुमा गरिएको शैक्षिक विकास महाशाखा प्रमुख सुवर्ण खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार ज्ञान, सिप र सकारात्मक सोचयुक्त माध्यम तथा उच्चस्तरको खुसी दक्ष र प्रतिबद्ध जनशक्तिको उत्पादन गर्ने ध्येय रहेको छ । जसबाट कर्णालीलाई अति कम विकसित प्रदेशबाट विकासोन्मुख प्रदेशका रूपमा स्तरोन्नति हुने अपेक्षा गरिएको छ ।
खड्काले शिक्षा क्षेत्र योजनामा शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन गर्दै ज्ञानमा आधारित समाज र अर्थतन्त्र निर्माणका लागि उच्च शिक्षाका माध्यमबाट विभिन्न क्षेत्रमा सक्षम नेतृत्वयोग्य मानव संशोधन विकास गर्ने उद्देश्य रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका अवसरबाट सिपयुक्त उद्यमशील जनशक्ति तयार गर्नुका सबै नागरिकका लागि साक्षरता निरन्तर शिक्षा र जीवनपर्यन्त सिकाइको अवसर उपलब्ध गराउनु रहेको यसको लक्ष्य हो ।”
उहाँका अनुसार शैक्षिक क्षेत्रलाई भय, विभेद र दुव्र्यवहारमुक्त तथा सुरक्षित र विविधता अनुकूल बनाई विद्यार्थीलाई सिकाइमैत्री एवं प्रविधिमैत्री वातावरण तयार गर्ने यसको उद्देश्य रहेको छ ।
सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले शिक्षा क्षेत्रलाई संवैधानिक मौलिक हकको कार्यान्वयन र गुणस्तरीय एवं जीवनपर्यन्त शिक्षालाई सुव्यवस्थित गर्न योजनाबद्ध खाकामा काम गर्न खोजिएको स्पष्ट पार्नुभयो ।