• ८ मंसिर २०८१, शनिबार

सुन प्रतितोला एक लाख नजिक

blog

काठमाडौँ, मङ्सिर २० गते । सुनको मूल्य बढेर प्रतितोला एक लाख रुपियाँ नजिक पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।  

मङ्सिर पहिलो सातादेखि लगातार बढ्दै गएको सुनको मूल्य सोमबार प्रतितोला ९९ हजार नौ सय रुपियाँ कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । एक महिनाअघि अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस (३१.१० ग्राम) एक हजार सात सय डलर रहेको सुनको मूल्य बढेर सोमबार एक हजार ८०९ रुपियाँ पुगेको छ । 

एक महिनाको अवधिमा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुनको मूल्य एक सय डलरले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले नेपालमा समेत क्रमिक रूपमा मूल्य बढ्दै गएको हो । 

कात्तिक ४ गते प्रतितोला ९२ हजार पाँच सय रुपियाँमा कारोबार भएको सुनको मूल्य एक महिनामा तोलामा सात हजार रुपियाँ बढेर ९९ हजार नौ सय रुपियाँमा कारोबार भएको महासङ्घले जनाएको छ । 

मङ्सिर महिना सुरुदेखि नै सुनको मूल्य क्रमिक रूपमा बढ्न थालेको हो । महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले स्थानीय बजारमा सुनको मूल्य बढेको बताउनुभयो । विश्व बजारमा अस्थिरता कायम रहेकाले सुरक्षित लगानीकर्ता सुनमा लगानी गर्न आकर्षित हुँदा मूल्य बढेको उहाँको भनाइ छ । 

गत वैशाख महिनामा मूल्य बढेर प्रतितोला एक लाख दुई हजार पाँच सय रुपियाँ पुगेको सुन असोज ३ मा ९१ हजार चार सय रुपियाँमा कारोबार भएको थियो । त्यसपछि क्रमिक रूपमा सुनको मूल्य उकालो लाग्दै आएको थियो । मङ्सिर महिना सुरुदेखि नै सुनको मूल्यमा वृद्धि हुँदै गएको व्यवसायीको भनाइ छ । मङ्सिर पहिलो साता प्रतितोला ९७ हजार पाँच सय रुपियाँमा कारोबार भएको सुनको मूल्य त्यसपछि क्रमिक रूपमा बढ्दै गएको छ ।  

चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । सोमबार प्रतितोला एक हजार ३८५ रुपियाँमा चाँदीको कारोबार भएको छ । कात्तिक महिना प्रतितोला एक हजार १७० रुपियाँमा कारोबार भएको चाँदीको मूल्य बढेर एक हजार ३८५ रुपियाँमा कारोबार भएको महासङ्घले जनाएको छ । बजारमा सुनको माग बढ्दै गए पनि सो अनुपातमा आपूर्ति नहुँदा अभाव कायम रहेको छ । बिहेको लगनको सिजन सुरु भएसँगै बजारमा सुनको माग बढेको हो ।