• १२ असोज २०८१, शनिबार

नृत्य प्रतियोगितामा लिटल बुद्ध प्रथम

blog

नृत्य प्रस्तुत गर्दै लिटलबुद्ध आवासीय माविका विद्यार्थीहरु। तस्बिर : चन्द्र पन्दाक।

ताप्लेजुङ, मङ्सिर १८ गते। ताप्लेजुङमा अन्तर विद्यालयस्तरीय नृत्य प्रतियोगितामा फुङ्लिङ नगरपालिका–४ को लिटलबुद्ध आवासीय माध्यमिक विद्यालय प्रथम भएको छ। फुङ्लिङ नगरपालिका–४ कै भानुजन माध्यमिक विद्यालयलाई पछि पार्दै लिटल बुद्ध प्रथम भएको हो। 

फुङ्लिङ नगरपालिका–९ हाङ्देवाको बुङ्कुलङस्थित धार्मिक विद्यालयको रुपमा रहेको साङ्क देछ्योलिङ गोन्पाको वार्षिक उत्सवको अवसरमा आयोजित नृत्य प्रतियोगितामा प्रथम बनेको लिटल बुद्धले १५ हजार रुपियाँ नगद पुरस्कार पाएको छ। प्रतियोगितामा द्वितीय बनेको भानुजन माविले १० हजार रुपियाँ प्राप्त गरेको छ।

प्रतियोगितामा फुङ्लिङ नगरपालिका भित्रका विभिन्न १८ वटा विद्यालयले सहभागिता जनाएका गोन्पा विद्यालयका प्रधानाध्यापक पासाङरिता शेर्पाले जानकारी दिनुभयो। प्रधानाध्यापक शेर्पाका अनुसार प्रत्येक विद्यालयका नृत्य टोलीमा आधारभूत तहस्तर अर्थात् कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीलाई सहभागी गराइएको थियो।

यस्तै सोही अवसरमा अन्तर विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता पनि आयोजना गरिएको छ। हाजिरी जवाफमा आयोजक विद्यालय साङ्क देछ्योलिङ गोन्पा प्रथम, भानुजन मावि द्वितीय र लिटलबुद्ध तृतीय भएका थिए। हाजिरी जवाफका विजेतालाई १० हजार रुपियाँ बराबरको शैक्षिक सामग्री प्रदान गरिएको प्रधानाध्यापक शेर्पाले जानकारी दिनुभयो।