• १३ साउन २०८१, आइतबार

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव

युद्धको कथा ‘द ब्ल्याकबोर्ड ल्यान्ड’

blog

काठमाडौँ, मङ्सिर १८ गते । ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च : विविधताको उत्सव’ नाराका साथ नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०७९ (निटफेस्ट–२०२२) मा मञ्चन भएको नाटक हो, ‘द ब्ल्याकबोर्ड ल्यान्ड’ । 

कार्ज हिमलस्टपले लेख्नुभएको र राजेश सिंह निर्देशित ९० मिनेट लामो भारतको नाटक ‘द ब्ल्याकबोर्ड ल्यान्ड’ युद्धको समयमा कुनै एकान्त ठाउँमा भेटिएका तीन व्यक्तिको वरिपरि घुम्छ । उनीहरूबीचको मतभेद र भिन्नताले द्वन्द्व निम्त्याउँछ । फलस्वरूप उनीहरू शारीरिक हिंसामा उत्रन्छन् । बोर्डमा बस्ने नायकहरू जसलाई यो पनि थाहा हुँदैन कि उनीहरू यही राज्यको मान्छे हो होइनन्; नाटक यही विषयमा आधारित छ । 

नाटकले युद्ध के हुन्छ भन्ने कुरालाई पनि प्रस्ट्याउन खोजेको छ । युद्धका कारण हामीले के कस्ता कुराहरू भोग्नुपर्छ भन्ने कुरा नाटकमा देखाउन खोजिएको छ । युद्ध भनेको त्यो मात्र होइन; जुन तपाईं गोली हानेर गर्नुहुन्छ । युद्ध बृहत् रूपमा अलग–अलग स्तरमा गरिन्छ । जीवन जिउनका निम्ति लडिने लडाइँ हो, युद्ध । नाटक यिनै विषयहरूको सम्मिश्रण हो । निर्देशक राजेश सिंह, निधि मिश्रा, सौर्य शङ्कर नाटकको प्रमुख भूमिकामा हुनुहुन्छ । नाटकको अनुवाद तथा परिकल्पना नलिनीआर जोशीले गुर्नुभएको हो । 

रङ्गमञ्चमा निरन्तर लाग्नुभएका निर्देशक हुनुहुन्छ, राजेश सिंह । उहाँ रङ्गमञ्चमा लाग्नुभएको २६ वर्ष भइसकेको छ । रङ्गमञ्चबाट आफूले आत्मसन्तुष्टि पाएको उहाँ बताउनुहुन्छ । “रङ्गमञ्चबाट के पायौँ र के गुमायौँ भन्ने कुरालाई हामी भौतिक स्तरबाट नाप्न सक्दैनौँ,” उहाँ भन्नुहुन्छ ।

“रङ्गमञ्चले मलाई सन्तुष्टि दिन्छ । आफ्नोपनको महसुस गराउँछ,” नेपाली नाटक पनि हेर्नुभएका निर्देशक सिंह भन्नुहुन्छ, “हरेक ठाउँका आआफ्ना कला हुन्छन् । तिनका विविध समस्या पनि हुन्छन् । त्यसैले पनि ऊ आफ्नै समस्याको बारेमा कुरा गर्छ । भारतीय नाटकको आफ्नै समस्या होला, नेपालको नाटकले यहाँको समस्याका बारेमा कुरा गर्छ ।” नेपालमा नाटक मञ्चन निजी तवरबाट मात्र भएको तर सरकारी तवरमा एकदमै कम हुने गरेको महसुस भएको निर्देशक जोशी बताउनुहुन्छ । 

यस्तै दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०७९ (निटफेस्ट–२०२२) शनिबार सकिएको छ । मङ्सिर ९ गते सुरु भएको महोत्सव १२ देशका १८ नाटक मञ्चन तथा विभिन्न कार्यशाला, अन्तत्र्रिmया, मास्टर क्लास गर्दै समापन भएको हो ।

समापनमा ‘रङ्गमञ्च अभिनय र चलचित्र अभिनयका फरक आयाम’ शीर्षकमा प्यानल डिस्कसन भएको थियो भने दयाहाङ राई, सुरक्षा पन्त, मीन भामका साथ खगेन्द्र लामिछानेले अन्तरक्रिया गर्नुभएको थियो ।

त्यस्तै समापन नाटकका रूपमा आयोजक मण्डला थिएटरको ‘कुभिण्डोको कथा’को प्रिमियर मञ्चन गरियो । मण्डलाले गरेको नाटक लेखन कार्यशालाबाट तयार भएको लोककथामा आधारित यो नाटक प्रनिश मगरले लेख्नुभएको हो । विकास जोशीको सह–निर्देशन र प्रमिला खनालको कोरियोग्राफी रहेको नाटक दयाहाङ राईले निर्देशन गर्नुभएको छ ।