• १२ असोज २०८१, शनिबार

दलमाथि प्रश्न उठ्नेगरी परिणाम आयो : अध्यक्ष तिमिल्सिना

blog

फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, मंसिर १७ गते । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम सुखद नरहेको बताउनुभएको छ । दलहरूमाथि प्रश्न उठनेगरी निर्वाचनको परिणाम आउनु मुलुकको लागि हितकर नभएको उहाँको भनाइ छ । 

शनिबार ललितपुरमा आयोजित ‘जापान : विगत, वर्तमान र भविष्य’ विषयक सेमिनारमा बोल्दै अध्यक्ष तिमिल्सिनाले बलिदानपूर्ण सङ्घर्षबाट प्राप्त सङ्घीयता, लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउन दलहरू बलियो हुनुपर्ने उहाँले बताउनुभयो । सचेत समुदायले दललाई सच्याउन सके मात्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने र जनताले समृद्धिको अनुभूति गर्न पाउनेगरी विकास, निर्माणको कामले गति लिने उहाँको विश्वास छ । 

अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलहरूलाई सच्चिन पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘चुनाव सकिन लागेको छ । अब मत गणनाको अन्तिम अवस्थामा पुगेको छ, लोकतन्त्रमा रोज्न पाउने हो तर जे खालको सङ्केतहरू आएको यसबाट दलका नेताहरू सच्चिनुपर्छ ।’ बहुदलीय परिपाटी ठूलो सङ्घर्षबाट प्राप्त उपलब्धि भएको चर्चा गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले थप्नुभयो, “सङ्घर्ष गरेर, बलिदानीका साथ ल्याएको यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा बहुदलीयता माथि किन प्रश्न उठ्ने गरेको छ ?’ 

संस्थाहरूले, व्यक्तिहरूले दलहरूलाई सुशासन, भ्रष्टाचार नियन्त्रण, चुहावट रोक्नका लागि सुझाव दिनुपर्ने उहाँले बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले जापानले विकासको क्षेत्रमा चमत्कार देखाएको उल्लेख गर्दै त्यसबाट सिकेर नेपाल अघि बढ्नुपर्ने बताउनुभयो । जापान सरकारले नेपालको विकासमा गरेको योगदानको उहाँले प्रशंसा गर्नुभयो ।