संसारका सबै देशमा आआफ्नो परम्पराअनुसार वर्षैभरि विभिन्न प्रकारका चाड मनाउने चलन छ । फरक–फरक समयमा मनाइए पनि कतिपय चाड एकअर्कासँग मिल्दाजुल्दा छन् । आमाको मुख हेर्ने चाडजस्तै आमा दिवस अमेरिकामा सन् १९०८ मे महिनाको दोस्रो आइतबार र बाबुको मुख हेर्ने चाडजस्तै बाबु दिवस सन् १९१० को जुन महिनाको तेस्रो आइतबार सुरु भएको हो । त्यहाँ हजुरबा–हजुरआमा दिवस पनि मनाइन्छ । यी परम्परा बिस्तारै संसारका प्रायः देशमा पैmलँदै गए ।
इस्टोनियाबाट अमेरिका बसाइँ सरेका इभार्ट परिवारमा एक छोरा, दुई छोरी थिए । सबै जना समाजमा सक्रिय तथा खेलकुद अनि पढाइमा पनि अब्बल नै थिए । आफूभन्दा दुई वर्ष जेठी दिदी लिसेट र पाँच वर्ष ठूलो दाइ एलनबाट कान्छी बहिनी क्लाउडिया विविध विषयमा सहयोग पाउँथिन् । आप्रवासीको जीवन भए पनि यो परिवार निकै खुसी र सफलतातिर उक्लँदै थियो ।
सन् १९७२ मा प्यारी दिदी लिसेट १९ वर्षकै कलिलो उमेरमा सवारी दुर्घटनामा परी गुमाउनु पर्दा क्लाउडियालगायत परिवारका सबैलाई असह्य चोट लाग्यो । दिदी हिँडेको गोरेटो पछ्याउँदै उनले आफू पनि उनीजस्तै बन्ने दृढता गरिन् । क्लाउडियाले राजनीति विज्ञान र समाजशास्त्रमा बीए गरिन् । उनले बेंटले विश्वविद्यालयबाट प्यारालिगल डिग्री पनि लिएकी छन् । सन् १९७९ देखि उनी स्वयंसेवामा संलग्न हुन् थालिन् । विभिन्न माध्यमबाट उनी विश्वव्यापी इस्टोनियाली समुदायमा सक्रिय रहँदै आइन् । दिदी गुमाएकी क्लाउडियाले १४ वर्षपछि फेरि अर्को यातायात दुर्घटनामा ३६ वर्षीय दाजु एलनलाई पनि गुमाउन पुगिन् ।
एउटा छोरी गुमाएको पीडा बिस्तारै कम हुँदै गएको अवस्थामा फेरि अर्को वज्रपातले इभार्ट परिवार ठूलो चोट सहन बाध्य भयो । दाइ र दिदी गुमाउन पुगेकी क्लाउडिया एक्लो हुन पुगिन् तर उनले दाइ–दिदीसँग बिताएका दिन कहिल्यै बिर्सन सकिनन् । भाइबहिनीबीचको सम्बन्धलाई सम्मान गर्न सन् १९९५ मा क्लाउडियाले म्यासाचुसेट्समा ‘सिब्लिङ्गस डे फाउन्डेसन’ स्थापना गरिन् । सन् १९९८ मा यो संस्था आधिकारिक रूपमा गैरनाफामुखी स्वयंसेवी संस्था बन्न सफल भयो ।
न्युयोर्क, साउथ क्यारोलिना र भर्जिनियामा पनि यसका सम्पर्क कार्यालय छन् । प्रत्येक वर्ष अप्रिल १० तारिखलाई भाइ–बहिनी दिवसका रूपमा मनाउन सुरु गरियो । यो दिन क्लाउडियाकी दिदी लिसेटको जन्मदिन हो । सन् १९९८ देखि ४९ राज्यका गभर्नरले आधिकारिक रूपमा ‘गवर्नेटोरियल’ घोषणा जारी गरेर आफ्नो राज्यमा भाइबहिनी दिवसलाई मान्यता दिएर मनाउँदै आएका छन् । एउटा मात्रै राज्य क्यालिफोर्नियामा भने यो विषय विचाराधीन अवस्थामा नै छ । त्यस्तै तीन जना अमेरिकी राष्ट्रपति, क्लिन्टन (२०००), बुश (२००८) र ओबामा (२०१६)ले राष्ट्रपतिको सन्देशमा हस्ताक्षर गरेर यो दिनलाई औपचारिक रूपमा मान्यता दिएका थिए । यो संस्थालाई अमेरिकाभरि नै प्रिन्ट, टीभी र रेडियोमा धेरै नै महत्वका साथ प्रचारप्रसार गर्ने गरिएको छ । सीएनएन, भ्वाइस अफ अमेरिका, इन्टरनेसनल बिजिनेस टाइमलगायत युट्युबको ग्लोबल ब्लग र विभिन्न सेलिब्रेटी ब्लगमा यसबारे जानकारी समावेश गरिएका छन् । यसको आवश्यकता र महìवलाई ध्यान दिँदै अहिले अस्ट्रेलिया, ब्राजिल, क्यानडा, घाना, भारत, आयरल्यान्ड, जापान, न्युजिल्यान्ड, नाइजेरिया, फिलिपिन्स, सिङ्गापुर, दक्षिण अफ्रिका, स्विडेन र युनाइटेड किङ्गडममा पनि भाइबहिनी दिवस मनाउन थालिएको छ । हाम्रो सन्दर्भमा यस दिवसलाई भाइटीका चाडसँग पनि तुलना गर्न सकिन्छ । क्लाउडिया इभार्ट राष्ट्रिय परिवार दिवस स्थापना गर्ने तेस्रो अमेरिकी नागरिक बन्न पुगेकी छन् । यसअघि सन् १९०७ मा फिलाडेल्फिया, पेन्सिल्भेनियाकी अन्ना जार्विसद्वारा आमा दिवस स्थापना गरिएको थियो र सन् १९१० मा वासिङ्गटनको स्पोकानकी श्रीमती जोन बी डोडको सक्रियतामा बाबु दिवस मनाइएको थियो ।
दाजुभाइ र दिदीबहिनी जति नै झगडा गरे पनि आवश्यक पर्दा आडभरोसा दिने सबैभन्दा नजिकका मानिस हौँ भन्ने वास्तविकता भुल्न हुँदैन ।
युरोपका देश एन्डोरा, अस्ट्रिया, साइप्रस, क्रोएसिया, चेक गणतन्त्र, इस्टोनिया, फ्रान्स, जर्मनी, ग्रिस, हङ्गेरी, इटाली, लात्भिया, लिथुआनिया, नेदरल्यान्ड, पोल्यान्ड, पोर्चुगल, रोमानिया, सर्बिया, स्लोभाकिया, स्पेन, स्विट्जरल्यान्ड र युक्रेनमा पनि भाइबहिनी दिवस मनाउने चलन छ । युरोपमा यो दिवस मनाउने पृष्ठभूमि भने अलि फरक छ । हुन त सामान्यतया युरोपलगायत विकसित देशमा सानो परिवार हुने गर्छ । अहिले त प्रायः युवायुवती एक्लो बस्ने, केहीले मात्रै विवाह गर्ने, त्यसमा पनि थोरैले मात्र बालबच्चा जन्माउने, समलिङ्गी विवाहमा बढावा आएकाले जन्मदर कम छ ।
रोमन क्याथोलिक चर्चले भने विवाहपूर्व यौनसम्पर्क निषेध गरेको र विवाहपछि गर्भनिरोधक साधन प्रयोग गर्न वर्जित गरेको हुँदा जन्मदर नियन्त्रणमा केवल प्राकृतिक विधि मात्र अपनाउन सकिने मान्यता छ । धर्मिक रूपमा कट्टर रहेकाहरू मानव जीवनको सुरु र अन्त्य गर्ने शक्ति वा अधिकार केवल ईश्वरसँग निहित हुने हुँदा मानिसले यो प्राकृतिक नियमलाई खल्बल्याउन हुँदैन भन्ने विश्वास गर्छन् । कृत्रिम गर्भनिरोधक उपायले विवाहपूर्व गरिने यौनसम्बन्धलाई मान्यता दिने र यसले वैवाहिक संस्थालाई कमजोर पार्छ भन्ने तर्क पनि रहेको छ । त्यसैले यो मान्यतालाई आत्मसात् गर्ने युरोपका माथि उल्लिखित देशमा विविध प्रकारका ठूला परिवार हुनेहरूबीचका सम्बन्ध र आपसी सहयोगका लागि विभिन्न प्रकारका संस्थाहरू सञ्चालनमा छन् । यसको सामूहिक नेतृत्व निर्माण गर्ने तयारी सन् २००२ मा स्पेनबाट सुरु भएको थियो ।
सन् २००४ मा पोर्चुगलको लिस्बनमा भएको पहिलो सम्मेलनबाट ‘युरोपियन लार्ज फेमिलिज कन्फेडेरेसन’ स्थापना पनि ग¥यो । यो संस्थाले झन्डै नब्बे लाख परिवारसँग आश्रित छ करोडभन्दा बढी सदस्यको प्रतिनिधित्व गर्ने दाबी गरिएको छ । यही संस्थाले युरोपमा बालविकासमा दाजुभाइ र दिदीबहिनीको सम्बन्धको महìवलाई उजागर गर्न सन् २०१४ देखि मे ३१ का दिन भाइबहिनी दिवस मनाउने निर्णय गरेको थियो ।
यो दिन चयन गरिनुका पछाडि केही आधार छन् । साना भाइबहिनीलाई हुर्काउन र उनीहरूलाई समाजमा स्थापित गर्न विविध विषयमा ज्ञानगुनका कुरा व्यावहारिक रूपमा सिकाउने एकाघरकै बाबुआमापछि दाजु–दिदी हुन् । संयुक्त राष्ट्रसङ्घले बालबालिकाको संरक्षणका लागि अन्तर्राष्ट्रिय दिवस जुन १ मा मनाउने गर्छ । यसैको अघिल्लो दिन मनाउँदा विशेष अर्थ हुन सक्छ ।
त्यस्तै विश्वका धेरै देशमा आमा दिवस पनि मे महिनामा नै मनाउने हुँदा परिवारका भाइबहिनी दिवस पनि यही महिनामा मनाउन सान्दर्भिक ठानिएको हो । यसका साथै मे १५ लाई संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय परिवार दिवस घोषणा गरेका कारण यही महिना भाइबहिनी दिवस मनाउँदा मे महिना नै पूरै ‘परिवार महिना’ हुन पुगेको छ । राष्ट्रपतिद्वारा नै सार्वजनिक रूपमा स्वीकार गरिसकिएका कारण यो दिन पोर्चुगलमा लोकप्रिय छ ।
यसलाई अन्तर्राष्ट्रिय रूपमा नै मान्यता दिन गत वर्षदेखि संयुक्त राष्ट्रसङ्घसँग यो संस्थाले औपचारिक रूपमा छलफल चलाएको छ । यो दिनको मुख्य नारा ‘यदि तपाईं बच्चालाई खुसी बनाउन चाहनुहुन्छ भने तिनीहरूलाई एक भाइबहिनी दिनुहोस् । यदि तपाईं बच्चालाई धेरै खुसी बनाउन चाहनुहुन्छ भने तिनीहरूलाई धेरै दाजुभाइ दिनुहोस्’ राखिएको छ । यसैगरी संयुक्त राज्य अमेरिकाको मेम्फिस, टेनेसिका ट्रिसिया एलोग्राम र उनकी एक बहिनीले ‘दिदीबहिनी दिवस’ सन् १९९६ मा सुरु गरेका थिए । प्रत्येक वर्षको अगस्ट महिनाको पहिलो आइतबार आफ्ना दिदीबहिनीबीच भेटघाट रमाइलो गर्दै सम्बन्धमा थप ताजगी गराउने अभिप्रायले यो दिनको परिकल्पना गरेका थिए । ट्रिसिया एक सफल कथाकार पनि हुन् । उनले दिदीबहिनीको सम्बन्धका बारेमा ‘सिस्टर्स स्टोरिज ः अ सेलिब्रेसन अफ सिस्टर हुड’ पुस्तक नै प्रकाशित गरेकी छन् ।
त्यस्तै अमेरिकाकै अलाबामा बस्ने सी. ड्यानियल रोड्सको सक्रियतामा सन २००५ देखि मे महिनाको २४ लाई भाइ दिवसका रूपमा अनौपचारिक रूपमा मनाउँदै आएको मानिन्छ । दाजुभाइबीचको सम्बन्धलाई अझ गहिरो र बलियो बनाउन यो दिनले सहयोग पु¥याउने विश्वास गरिएको छ । रगतको नाता नभए पनि ‘ब्रो’ शब्दको प्रयोगमा मानिसबीच देखिने सामीप्यता यसको ज्वलन्त उदारहण हो । राष्ट्रिय दाजुभाइ दिवस र दिदीबहिनी दिवस प्रायः संयुक्त राज्य अमेरिकामा मनाइन्छ तर अस्ट्रेलिया, रुस, भारत, बेलायत, फ्रान्स र जर्मनीलगायत धेरै देशले बिस्तारै यो दिनलाई मान्यता दिँदै गएको पाइन्छ । सम्भवतः सुरुमा छोराछोरा र छोरीछोरी हुनेहरूले यस्तो परम्परा चलाएको हुनुपर्छ ।
परम्परागत रूपमा दाजुभाइ तथा दिदीबहिनी भन्नाले एउटै आमा र बुवा भएको मानिन्थ्यो तर पारपाचुकेको सुरुवातसँगै आधा र सौतेनी दाजुभाइ दिदीबहिनी हुनथाल्यो । आधुनिक समयमा त सेरोगेट, एडप्टेड, फोस्टर फरक फरक प्रकारका सम्बन्धहरू कायम हुने गरेको छ । यही सम्बन्धबारे एउटा जोक सानैमा सुन्दा खासै बुझ्न सकिएको थिएन तर अहिले देख्न नै पाइएको छ । युरोप–अमेरिकातिरको समाज यस्तो हुन्छ भनेर सुनाइएको जोक यस्तो थियो । आफ्ना तीन बच्चा झगडा गरेको देखेपछि श्रीमतीले श्रीमान्सँग भनिछन्, “मेरो छोरा र तिम्रो छोरा मिलेर हाम्रो छोरालाई बेस्सरी कुट्दैछन्, छुट्याइदेऊ ।”
बाउबाजेले थुपारिदिएको अंशमा कुरा नमिलेर प्रायः झैझगडा हुने भएर होला, ‘बाघ हेर्न परे बिरालो हेर्नु, शत्रु हेर्न परे दाजुभाइ हेर्नु’ भन्ने समाजमा हुर्केको हाम्रो मानसिकता पनि बिस्तारै परिवर्तन गर्दै दाजुभाइ र दिदीबहिनी जति नै झगडा गरे पनि आवश्यक पर्दा आडभरोसा दिने सबैभन्दा नजिकका मानिस हौँ भन्ने वास्तविकता भुल्न हुँदैन । ‘भाइ फुटे गँवार लुटे’ भन्ने विषयमा सचेत रहन पनि आवश्यक छ । सम्भवतः यस्ता दिवस र अवसरले हाम्रो आपसी तथा भौगोलिक दूरीलाई कम गर्न मद्दत पु¥याउँछ ।