• १२ असोज २०८१, शनिबार

स्याङ्जा-२ मा पद्मा अर्यालको वडामै धनराजको अग्रता

blog

राधाकृष्ण डुम्रे

वालिङ, मङ्सिर १५ गते । स्याङ्जा निर्वाचन क्षेत्र २ मा मतगणनामा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिनुभएको छ । उहाँले नेकपा नेकपा (एमाले) की पद्माकुमारी अर्याललाई एक हजार ३२७ मतले पछि पार्नुभएको हो । 

कांग्रेसका गुरुङले पाँच हजार ३१४ मत पाउनु भएको छ भने एमालेकी अर्यालको तीन हजार ९८७  मत रहेको छ । यस्तै, स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले एक हजार ३८४ मत प्राप्त गर्नुभयो । 

अर्यालको स्थायी बसोबास रहेको वालिङ नगरपालिकाको वडा नं. १ मा समेत धनराज गुरुङले १९२ मतको अग्रता लिनुभएको हो । उक्त वडामा पद्मा अर्यालले अग्रता लिने एमालेको भनाइ थियो । सुरुवाती अवस्थामा एक हजार बढिको अग्रता लिनुभएकी अर्याल अहिले पछि पर्नुभएको हो । 

स्याङ्जा २ मा गल्याङ नगरपालिकाको वडा नम्बर ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नम्बर ५, ६, ७,८ र ९  तथा वालिङको वडा नं. १ गणना भइसकेको छ भने अहिले वालिङ कै २ नम्बर वडाको मत गणना भइरहेको छ । 

यसैगरी, प्रदेश सभा २ (क) तर्फ पनि कांग्रेसका भोजराज अर्यालले अग्रता लिइरहनु भएको छ । अर्यालले एमालेका मोहन प्रसाद रेग्मीलाई एक हजार २५५ मतले पछि पार्नुभएको हो । 

अर्यालले पाँच हजार ७०९ मत ल्याउँदा रेग्मीले चार हजार ४५६ मत ल्याउनुभएको छ । पद्मा अर्यालको बसोबास रहेको वडा नं. १ मा प्रदेश तर्फ कांग्रेसले २७३ मतले अग्रता लिएको छ । स्याङ्जा २ मा एक लाख १६ हजार ७७८ मतदाता मध्ये ७० हजार १९१  मत खसेको थियो ।