• १३ असोज २०८१, आइतबार

काभ्रेमा प्रतिनिधि सभाका २७ उम्मेदवारको जमानत जफत

blog

प्रदेश सभातर्फका २३ उम्मेदवारको जमानत जफत 
केदार तिमल्सिना 
काभ्रेपलान्चोक, मङ्सिर १५ गते । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत काभ्रेपलान्चोक जिल्लामा प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएका उम्मेदवारहरूमध्ये २७ उम्मेदवारको जमानत जफत भएको छ । यसै गरी जिल्लाका दुई क्षेत्रका प्रदेश सभामा उम्मेदवारी दिनुभएका २३ उम्मेदवारको जमानत जफत भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाको प्रतिनिधि सभा १ मा उम्मेदवारी दिनु भएका १७ मध्ये १४ जना र प्रतिनिधि सभा २ मा उम्मेदवारी दिनुभएका १६ मध्ये १३ जनाको जमानत जफत भएको जनाएको छ । 

प्रतिनिधि सभा १ मा कुल सदर (७९ हजार ४६) मतको १० प्रतिशत सात हजार ९०४ मत नल्याएपछि राप्रपाका पूर्णबहादुर विश्वकर्मा, नेकपा (मार्क्सवादी लेनिनवादी) का गणेशकुमार कपाली, नेमकिपाका पूर्णसिंह तामाङ, मङ्गोल नेशनल अर्गनाईजेशनका कमलबहादुर लामा (तामाङ), राप्रपा नेपालका गोविन्दराज गिरी, नेकपा माओवादी समाजवादीका प्रशान्त केसी तिमल्सिना रहनुभएको छ । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रकाश लामा, जनता समाजवादी पार्टी नेपालका धनबहादुर तामाङ, नेपाल कम्युनिस्ट पार्टी परिवर्तनका जोगमान लामा, स्वतन्त्र उम्मेदवारहरू जीतबहादुर मोक्तान, माधवप्रसाद कँडेल, ज्ञानेन्द्रकुमार तामाङ, रुक्मिणी श्रेष्ठ र राजन घोरासाईनेको जमानत जफत भएको हो । 

यसै गरी जिल्लाको प्रतिनिधि सभा २ तर्फ कुल सदर (९९ हजार २२५) मतको १० प्रतिशत अर्थात् नौ हजार ९२३ मत नल्याउने १३ उम्मेदवारको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधि सभा २ मा राप्रपाकी यशु आले मगर, नेमकिपाका कृष्णकुमार वैद्य, नेपाल नौलो जनवादी पार्टीका गङ्गालाल श्रेष्ठ, सङ्घीय लोकतान्त्रिक पार्टीका विजय लामा, मङ्गोल नेशनल अर्गनाइजेशनका अचम्म लामा, नेपाल कम्युनिस्ट पार्टी परिवर्तनका उत्तरकुमार लामाको जमानत जफत भएको छ । यस्तै गरी नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका चोकबहादुर घिसिङ, जनता समाजवादी पार्टी नेपालका सिद्धिबहादुर जोशी, स्वतन्त्र उम्मेदवारहरू कृष्ण खत्री, स्वयम्भूराज शाक्य, बोधनाथ न्यौपाने, शेषराज लामिछाने र मनोज पण्डितको जमानत जफत भएको छ । 

यसैबिच प्रतिनिधि सभा १ र २ अन्तर्गतका प्रदेश सभामा उम्मेदवारी दिएकामध्ये २३ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन अधिकारी उमेश राईले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिनिधि सभा १ अन्तर्गतको प्रदेश सभा (क) मा सात जना र प्रदेश सभा (ख) मा उम्मेदवारी दिनुभएका सात जनाको जमानत जफत भएको छ । जमानत जफत हुनेमा प्रदेश (क) का राप्रपाका नन्दलाल श्रेष्ठ, नेकपा (मार्क्सवादी लेनिनवादी) का ङेमा लामा, नेमकिपाका प्रज्ञान अस्तानी मगर, नेकपा परिवर्तनका बीजबहादुर लामा (थिङ), नेपाल लोकतान्त्रिक पार्टीका सञ्जीव बल तामाङ, जनता समाजवादी पार्टी नेपालका मानबहादुर तामाङ र मङ्गोल नेशनल अर्गनाईजेशनका चन्द्रमान लामाको जमानत जफत भएको छ । त्यस्तै प्रदेश सभा (ख) का राप्रपाका सहदेव भण्डारी, नेमकिपाका कृष्णबहादुर तामाङ, मङ्गोल नेशनल अर्गनाईजेशनका जनकबहादुर तामाङ, नेपालका लागि नेपाली पार्टीका नरमान मोक्तान, जसपा नेपालका बुद्धबहादुर लामा, स्वतन्त्र उम्मेदवार दुर्गाबहादुर घर्ती र विश्वेश्वर बञ्जाराको जमानत जफत भएको छ । 

जिल्लाको प्रतिनिधि सभा २ अन्तर्गतको प्रदेश सभा (क) तर्फ राप्रपाका रञ्जीव श्रेष्ठ, हाम्रो नेपाली पार्टीका ताराबहादुर कुँवर, मङ्गोल नेशनल अर्गनाईजेशनका मुस्कान लामा र नेमकिपाका सूर्यलाल तामाङले १० प्रतिशत मत नल्याएपछि जमानत जफत भएको छ । प्रदेश सभा (ख) तर्फ राप्रपाका रामकृष्ण लामा तामाङ, नेकपा मार्क्सवादी लेनिनवादीका दानबहादुर थापा, जनता समाजवादी पार्टी नेपालका वीरबहादुर तामाङ, मङ्गोल नेशनल अर्गनाइजेशनका सुकमान तामाङ र नेमकिपाका मुना तामाङको जमानत जफत भएको हो ।