• १३ असोज २०८१, आइतबार

रासायनिक मल अभाव

blog

धनगढी समाचारदाता

धनगढी, मङ्सिर १५ गते । गहुँ छर्ने सिजनमा कैलालीका किसानले रासायनिक मल अभाव झेलिरहेका छन् । गहुँ छर्ने समय घर्किंदै जाँदा सहकारीले मल उपलब्ध गराउन नसक्दा किसानले मल अभाव झेलिरहेका हुन् । 

बेलैमा मल नपाउँदा उनीहरूलाई गहुँ छर्न समस्या भइरहेको छ । स्थानीय सहकारीमा कैयौँ दिन धाउँदा पनि मल नपाएको कैलारी गाउँपालिका–७ का महावीर चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “केही दिन पहिले सहकारीमा मल आएको थियो तर मसँग रुपियाँ थिएन । धान बेचेर पैसा जोहो गरेँ । तर अहिले मल मिलेको छैन । अभाव छ ।”

सहकारीले ल्याएको सीमित मल आफ्ना सदस्यहरूलाई प्राथमिकता दिएर वितरण गर्ने गरेका कारण सहकारीबाट सबै किसानले मल पाउन सक्ने अवस्था पनि नरहेको जनाइएको छ । 

सहकारीबाट मल नपाएपछि लुकिछिपी भारतीय बजारबाट युरिया र पोटास ल्याएर खेतमा हालेको स्थानीय कृषक हनुमान चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “डीएपी नपाएपछि भारतबाट युरिया र पोटास ल्यायौँ’ । डीएपीको सट्टा त्यहीँ हालेर गहुँ छरिरहेका छौँ ।” 

सरकारी अनुदानको मलखाद नपाएपछि बाध्य भएर युरिया, पोटास खरिद गर्न भारतीय बजार पुग्ने गरेको किसानले बताउने गरेका छन् । मलबिना उब्जनी राम्रो नहुने गरेको उनीहरूको भनाइ छ । कृषक सूर्यप्रसाद चौधरीले भन्नुभयो, “मलै भएन भने गहुँ खेतीमा गरेको लगानी पनि फिर्ता आउँदैन । त्यही भएर यता मल नपाएपछि भारतबाट खरिद गरेर लुकिछिपी ल्याउने गरेका छौँ ।” गहुँ खेतीका लागि रासायनिक मल आवश्यक रहेकाले सीमा क्षेत्रमा सुरक्षाकर्मीले किसानलाई सहज रूपमा मल ल्याउन दिनुपर्ने किसानले आवाज उठाउँदै आएका छन् । उहाँले भन्नुभयो, “कि त नेपाल सरकारले हामीलाई बेलैमा मल उपलब्ध गराओस् । यदि यहाँ मल पाइँदैन भने हामी किसानलाई आफ्नो खेतमा हाल्नका लागि भारतबाट सहज रूपमा मल ल्याउन दिइओस् ।”

सरकारी अनुदानको मल नपाएपछि सीमावर्ती क्षेत्रका किसान खेतीपाती गर्नका लागि सीमावर्ती भारतीय बजारमा निर्भर हुँदै आएका छन् । उनीहरूले बेलापरसुआ, बिलराँया, तिकुनिया, चन्दन चौकीलगायतका सीमावर्ती भारतीय बजार पुगेर रासायनिक मल ल्याउने गरेका छन् ।