• १३ साउन २०८१, आइतबार

काठमाडौँ महानगरद्वारा पौने तीन अर्ब राजस्व सङ्कलन

blog

काठमाडौँ, मङ्सिर १२ गते । काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षको पहिलो चार महिना (साउन–कात्तिक)मा पौने तीन अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ । 

महानगरले विभिन्न शीर्षकमा दुई अर्ब ७८ करोड १४ लाख २१ हजार १५२ रुपियाँ राजस्व सङ्कलन गरेको हो । यो अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष सो अवधिमा दुई अर्ब ४२ करोड सात लाख १७ हजार रुपियाँ राजस्व सङ्कलन भएको थियो । 

महानगरले चालू आर्थिक वर्ष १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । 

महानगरले चालू आर्थिक वर्ष सम्पत्ति बहाल तथा पट्टाबापतको आयमा लाग्ने कर १० करोड सङ्कलन गर्ने लक्ष्य राखेकामा छ करोड ३० लाख २१ हजार ८५२ रुपियाँ सङ्कलन भएको छ । यस्तै यस आर्थिक वर्ष सम्पत्ति करबापत एक अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा कात्तिकसम्म ५२ करोड ४७ लाख ८० हजार रुपियाँ सङ्कलन भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशत बढी हो । 

यस्तै भूमि कर/मालपोत करबापत १५ करोड रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा चार महिनामा ६७ लाख ५७ हजार ५९४ रुपियाँ राजस्व सङ्कलन भएको छ । घरजग्गा रजिस्ट्रेसन दस्तुरबापत दुई अर्ब ५० करोड रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा चालू आर्थिक वर्षको कात्तिक महिनासम्म ११ करोड ६८ लाख ३५ हजार ४८६ रुपियाँ सङ्कलन भएको महानगरले जनाएको छ । 

चालू आर्थिक वर्ष घरबहाल घर दुई अर्ब रुपियाँ सकलन गर्ने लक्ष्य रहेकामा चार महिनामा ७८ करोड ३७ लाख ४३ हजार १०३ रुपियाँ सङ्कलन गरेको छ ।

यस्तै राजस्व बाँडफाँटबाट प्राप्त हुने मूल्य अभिवृद्धि कर छ करोड ८३ लाख ६४ हजार ६६५ रुपियाँ सङ्कलन भएको छ भने सवारीसाधन कर चार करोड सात लाख ९९ हजार ६९७ रुपियाँ, मनोरञ्जन कर ९० लाख ८२ हजार ५०१ रुपियाँ, विज्ञापन कर १२ करोड ३६ लाख एक हजार ९७३ रुपियाँ र पर्यटन शुल्क ३३ करोड ७२ लाख ५८ हजार रुपियाँ सङ्कलन भएको छ । 

अन्य सेवा शुल्क पाँच करोड ६९ लाख ८५ हजार २५० रुपियाँ सङ्कलन भएको छ । यस्तै न्यायिक दस्तुर दुई रुपियाँ सङ्कलन गर्ने लक्ष्य रहेकामा एक लाख १६ हजार रुपियाँ सङ्कलन भएको छ । पार्किङ शुल्क एक करोड रुपियाँ सङ्कलन गर्ने लक्ष्य रहेकामा २८ लाख ६१ हजार ९३७ रुपियाँ सङ्कलन भएको छ । नक्सा पास दस्तुरबापत सात करोड ५० लाख रुपियाँ सङ्कलन गर्ने लक्ष्य रहेकामा दुई करोड ८८ लाख २९ हजार ५४० रुपियाँ सङ्कलन भएको महानगरले जनाएको छ ।