• १३ असोज २०८१, आइतबार

चुनावले गर्दा यात्रु बढे

blog

हुम्ला समाचारदाता

हुम्ला, मङ्सिर ३ गते । चर्को हवाई भाडा भए पनि यतिबेला हुम्ला भित्रिने यात्रुको सङ्ख्या भने वृद्धि भएको छ। मङ्सिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि मत खसाल्न घर आउने मतदाताका कारण जिल्लामा भित्रिने यात्रुको सङ्ख्या वृद्धि भएको हो।

शुक्रबार नेपालगञ्जदेखि सिमकोट आएका यात्रु विष्णु रावतले निर्वाचनमा मतदान गर्नकै लागि हवाई मार्गबाट जिल्ला भित्रिने यात्रुको सङ्ख्या बढेको बताउनुभयो। शुक्रबार मात्र समिट एयरको तीनवटा उडानबाट ५४ जना यात्रु भित्रिएका छन्। उहाँले गत स्थानीय निर्वाचनभन्दा यस पटक जिल्लाबाहिर रहेका विशेषगरी माथिल्लो हुम्लाका यात्रु बढी भित्रिएको बताउनुभयो। अहिले हुम्लाबाहिर जाने यात्रु नभएकाले सिमकोटबाट जहाज रित्तै फर्कने गरेका छन्। 

समिट एयर हुम्लाका इन्चार्ज गोविन्द लामाले १२ दिनयता समिट एयरले मात्र ४० भन्दा बढी उडान गरेको बताउनुभयो। यी सबै उडानमा दुई/चार जना कर्मचारी भए पनि अधिकांश जिल्लाबाहिर रहेका मतदाता रहेका छन्। जहाजले एक उडानमा १८ जना यात्रु ओसार्ने गर्छ। यो अवधिमा समिट एयरले मात्र ७२० जना यात्रु ओसारेको छ। उहाँले समिट एयरले शनिबार पनि तीनवटा उडान भर्ने जानकारी दिनुभयो। 

त्यसैगरी तारा एयरका सिमकोट स्टेसनका सहायक इन्चार्ज नुर्बु लामाले तारा एयरले सात वडा उडानबाट मतदाता ल्याएको बताउनुभयो। हुम्लामा चिसो बढेका कारण यतिबेला जिल्लामा भित्रिने यात्रुको सङ्ख्या न्यून हुने गथ्र्याे। 

सीता एयरले पनि सातवटा उडानबाट काठमाडौँ र नेपालगञ्जका यात्रुलाई हुम्ला भित्राइरहेको  छ। नेपाल एयरलाइन्सले पनि सातवटा उडानबाट १०५ जना यात्रु ल्याएको छ। शुक्रबारसम्म एक हजार ३५ यात्रु हवाई मार्गबाट हुम्ला भित्रिएको एयरलाइन्सहरूको विवरण रहेको छ। यात्रु आउने क्रम बढिरहेको छ। 

नेपालगञ्जबाट सिमकोटका लागि सेडुअल उडानबाट नौ हजार १६५ र चार्टर उडानबाट १३ हजार १२० रुपियाँ टिकट दर रहेको छ।