• १६ भदौ २०८१, आइतबार

कांग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धी

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, कात्तिक २४ गते । एकमात्रै प्रतिनिधि सभा एवं दुइटा प्रदेश सभा सदस्यहरूको निर्वाचन क्षेत्र रहेको म्याग्दीमा सत्तारूढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

हिमाली जिल्ला म्याग्दीको प्रतिनिधि सभामा स्वतन्त्रसहित नौ र प्रदेश सभा क्षेत्र (क)मा पाँच र (ख)मा छ जना उम्मेदवार चुनावी मैदानमा छन्। 

स्थानीय तह निर्वाचनको बेला मतको अवस्था आँकलन गर्दा सत्तारूढ गठबन्धन अगाडि देखिन्छ। गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा र प्रदेश सभातर्फ निर्वाचन क्षेत्र (क)मा नेकपा (माओवादी केन्द्र)का हरिबहादुर भण्डारी र (ख)मा रेशमबहादुर जुग्जाली उम्मेदवार बन्नुभएको छ। एमालेबाट प्रतिनिधि सभा सदस्यमा एमालेका गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ र प्रदेश सभा (क)मा जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवाल र (ख)मा प्रदेश कमिटी सदस्य यामबहादुर गर्बुजा उम्मेदवार हुनुहुन्छ। 

२०४८ सालमा दुईवटा निर्वाचन क्षेत्र हुँदा नेकपा (एमाले)का चन्द्रप्रकाश बानियाँ र थममाया थापाले जित्नुभएको थियो। त्यस्तै २०५१ सालमा निलबहादुर तिजिला पुनले जित्नुभएको थियो। २०५६ सालमा कांग्रेसका नारायणसिंह पुन, २०६४ सालमा नेकपा (माओवादी केन्द्र)का गोविन्द पौडेल, २०७० सालमा एमालेका नवराज शर्मा र २०७४ सालमा भूपेन्द्रबहादुर थापाले जित हात पार्नुभएको थियो। 

२०७४ सालमा वाम गठबन्धनबाट प्रतिनिधि सभामा एमालेका थापा र प्रदेश सभा (ख)मा एमालेकै नरदेवी पुन विजयी हुँदा प्रदेश सभा (क)बाट भने नेकपा (माओवादी केन्द्र)का विनोद केसी विजयी हुनुभएको थियो। आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सहभागी गठबन्धनसँग एमाले र राप्रपालगायत अन्य उम्मेदवार एक्लाएक्लै प्रतिस्पर्धा गर्दै छन्। पछिल्ला दुईवटा निर्वाचनमा विजयी बनेको एमालेका लागि म्याग्दीमा एमालेको विरासत जोगाउन र कांग्रेसलाई गठबन्धनको बलमा एमालेको विरासत भत्काउन चुनौती बनेको छ।

स्थानीय तह निर्वाचनमा एमाले एक्लैले चारवटा स्थानीय तहमा प्रमुख, तीनवटा उपप्रमुख, २२ वटा वडामा विजयी हुँदा कांग्रेसले दुई पालिका अध्यक्ष, एक उपाध्यक्षसहित १७ वटा वडा र माओवादीले एक उपप्रमुख र एक उपाध्यक्षसहित छवटा वडा जितेको हो। जिल्लाको ४५ वडाको मतका आधारमा गठबन्धनका दलहरू एमालेभन्दा बलियो देखिएका छन्। वडाध्यक्षका उम्मेदवारहरूले पाएको मततर्फ २३ हजार ९० एमाले, १९ हजार आठ सय ७० कांग्रेस र आठ हजार पाँच सय ९२ मत माओवादीको थियो।