काठमाडौँ, कात्तिक २४ गते । नेपालमा २०७२ पछि हालसम्मकै ठूलो भूकम्प गएको छ। डोटी केन्द्रबिन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो। २०७२ वैशाख १२ गते ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो।
सुदूरपश्चिममा जनधनको क्षति गराउने गरी गएको यो भूकम्प ४२ वर्षयताकै ठूलो भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। यो भूकम्प दुईवटा पूर्वकम्पनपछि गएको थियो। पहिलो पूर्वकम्पन रातको ९ बजेर ७ मिनेटमा र दोस्रो पूर्वकम्पन ९ बजेर ५६ मिनेटमा गएको थियो। त्यसपछि राति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको हो। वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले भन्नुभयो, “कतिपय भूकम्प आउँदा पूर्वकम्पन आउँछन्, डोटीमा त्यस्तै भयो। अब आउँदैन भनेर रातको समयमा मानिस घरभित्रै निदाउँदा मानवीय क्षति हुन गयो।”
डोटी भूकम्पको धक्का काठमाडौँसम्म महसुस गरिएको छ। छिमेकी मुलुक भारतको जयपुर र चीनको स्वशासित क्षेत्र तिब्बतको उच्च हिमाली भेगसम्म पनि यसको धक्का महसुस गरिएको छ। भूकम्पविद् भरतप्रसाद कोइरालाका अनुसार ठ्याक्कै कति क्षेत्रफलमा भूकम्पको असर देखियो भनेर मापन गर्ने प्रविधि भने नेपालमा छैन। त्यसैले कति क्षेत्र यो भूकम्पको चपेटामा प-यो भनेर तथ्यगत रूपमा भन्न केही समय लाग्छ। डोटी भूकम्पपछि त्यसको परकम्प जाने लहर चलेको छ। बुधबार अपराह्न ५ बजेसम्म २३२ वटा परकम्प गएको कोइरालाले जानकारी दिनुभयो। उहाँका अनुसार १.७ देखि ३.९ म्याग्निच्युडसम्मका परकम्प रेकर्ड भएका छन्। यसअघि खोटाङ केन्द्रबिन्दु भएर यही साउन १५ गते ६ म्याग्निच्युडको भूकम्प गएको थियो। सुदूरपश्चिम नेपालमा यसअघि २०३७ साउनमा बझाङ केन्द्रबिन्दु भएर ६.५ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसबेला १७० जनाको ज्यान गएको थियो। त्यसपछि २०५३ पुस २१ गते बैतडी केन्द्रबिन्दु रहेर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो।
सामान्यतया ७ म्याग्निच्युडभित्रको भूकम्पलाई मध्यमखालको भूकम्प मानिन्छ तर पहाडी भेग र घना मानवीय बस्ती भएको सहरी इलाकामा यसको असर बढी हुन्छ। डोटीको पहाडी इलाकामा कच्ची माटोका घर मध्यमखालको भूकम्पले सहजै ढाल्ने भएकाले पनि मानवीय क्षति हुन पुगेको भूकम्पविद् अधिकारीले बताउनुभयो।
भौतिक तथ्य सङ्कलन गरेर त्यस क्षेत्रमा कहिलेसम्म भूकम्प जान सक्छ भन्ने अनुमान लगाउन सकिन्छ। केन्द्रका अनुसार सिस्मो मिटर र जीपीएस ट्र्याकिङले नेपालको सुदूरपश्चिममा करिब दुई सेन्टिमिटरसम्म पृथ्वीको प्लेट सरिसकेको देखाएको छ। सन् १५०५ को झिनो तथ्यअनुसार त्यो बेला सुदूरपश्चिम भेगमा ८ म्याग्निच्युडमाथिको ठूलो भूकम्प गएको अनुमान छ। यो तथ्यलाई मान्ने हो भने ५१६ वर्षको अन्तरालमा अर्को महाभूकम्प आउनु भविष्यका लागि खतराको घण्टी बाँकी छ भन्ने हो। विज्ञहरूका अनुसार ८ म्याग्निच्युडमाथिका भूकम्पलाई महाभूकम्प, ७–८ म्याग्निच्युडका भूकम्पलाई ठूलो भूकम्प र ६–७ म्याग्निच्युडसम्मका भूकम्पलाई मझौला भूकम्प भनेर वर्गीकरण गरिएको छ।
नेपालको गोरखादेखि पश्चिम भारतको देहरादुनसम्मको चट्टानमुनि ठूलो भूकम्पीय शक्ति लामो समयदेखि सञ्चित भएर बसेको भूगर्भविद्ले बताएका छन्। यसपालिको मध्यमस्तरको भूकम्पले खतरा ट-यो भन्न मिल्दैन। भूकम्पविद् लोकविजय अधिकारीले भन्नुभयो, “लामो समयदेखि केही राहत पक्कै भएको हो तर खतरा अझै टरेको छैन।”
भूकम्पीय जोखिमयुक्त भू–बनोट
खानी तथा भूगर्भ विभागका अनुसार करिब चार करोड वर्ष पहिले भारतीय प्लेट र युरेसियन प्लेट एक आपसमा ठोक्किएर नेपालका हिमालय पर्वतहरू बनेका हुन्। सोही ठक्करबाट बनेको संसारकै सबैभन्दा अग्लो सगरमाथा र अन्य उच्च हिमशृङ्खला नेपालमा छन्।