• १ कात्तिक २०८२, शनिबार

सयपत्री फूलको माग बढ्यो

blog

बकैयामा सयपत्री फूलको व्यावसायिक खेती गर्दै आउनुभएका नारायण घिमिरे । तस्बिर : अनिल पराजुली

अनिल पराजुली
हेटौँडा, कात्तिक १ गते ।
तिहार नजिकिएसँगै सयपत्री फूलको माग बढ्न थालेको छ । व्यावसायिक उत्पादन न्यून भएकाले सयपत्रीको माग धेरै बढेको छ । पूर्वी मकवानपुरको बकैयाका व्यवसायी नारायण घिमिरेलाई यतिबेला सयपत्री फूल बिक्री गर्न भ्याइनभ्याई भएको छ । हेटौँडा उपमहानगरपालिकासहित बकैया, बागमती र ललितपुरबाट पनि फूलको माग आएपछि उहाँलाई भ्याइनभ्याई भएको हो । व्यवसायिक तरकारी खेतीसहित गत वर्षदेखि फूल खेतीमा लागेका घिमिरेले मखमली र सयपत्री फूलको खेती गर्नुभएको छ ।

करिब तीन कठ्ठा क्षेत्रफलमा उहाँले टेनिस बल प्रजातिको सयपत्री फूलको खेती गर्नुभएको हो । चितवनबाट २५ सय बिरुवा ल्याएर उहाँले लगाउनुभएको थियो । हाल उहाँले प्रतिमाला एक सय रुपियाँदेखि एक सय २० रुपियाँसम्ममा बिक्री गर्दै आउनुभएको छ । उहाँले फूल प्रतिकेजी पाँच सय रुपियाँका दरले बिक्री गरेको जानकारी दिनुभयो ।

“अहिले बजारको समस्या छैन, दिनहुँ फूलको माग आइरहेको छ, कतिपय त बारीमै लिन आउनुहुन्छ,” घिमिरेले भन्नुभयो । तिहार अगाडि भएका सामाजिक कार्यक्रमहरूका लागि पनि फूलको माग भइरहेको छ । हेटौँडा–१८, बकैया–३, ४ नं. वडा लगायतका क्षेत्रमा दस हजार रुपियाँभन्दा बढीको फूल बिक्री गरिसकेको उहाँले बताउनुभयो । तिहार सुरु हुनुभन्दा अगाडिबाट फूलेको फूल एकादशीसम्म बिक्री हुने गरेको उहाँको भनाइ छ । फूल बिक्री गरेर डेढ लाखभन्दा बढी आम्दानी लिन सक्ने उहाँको अनुमान छ ।

अहिले स्थानीय तहहरूले पनि प्लास्टिकको र बाहिरबाट आउने फूललाई प्रतिबन्ध गरेकाले यहाँका किसानले उत्पादन गरेको फूलले बजार पाएको छ । मकवानपुरको हेटौँडा, मनहरी, बकैया लगायतका क्षेत्रमा व्यावसायिक फूल खेती हुँदै आएको छ ।