• १ कात्तिक २०८२, शनिबार

राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने

blog

जिल्ला प्रशासन कार्यालय ।

अर्जुन काफ्ले

स्याङ्जा, कात्तिक १ गते । स्याङ्जामा तिहार पर्वमा जिल्लामा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले विज्ञप्ति जारी गर्दै राति ९ बजेपछि देउसी–भैलो खेल्न रोक लगाएको हो ।

शान्ति–सुरक्षा कायम राख्दै मर्यादित र अनुशासित रूपमा पर्व मनाउन प्रशासनले नौ बुँदे सचेतना अपिल सार्वजनिक गरेको छ । देउसी, भैलो, नाचगान लगायतका सांस्कृतिक क्रियाकलाप धर्म, संस्कृतिलाई ठेस नपुग्ने गरी मर्यादित रूपमा राति ९ बजेसम्म मात्र सञ्चालन गर्न सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले अनुरोध गर्नुभएको छ । 

सार्वजनिक यातायातमा असर पर्ने, होहल्ला र अशान्ति सिर्जना गर्ने गतिविधि तत्काल रोकिने पौडेलले चेतावनी दिनुभयो । दीपावलीको समयमा विद्युत् र मैनबत्तीजस्ता सामग्रीको प्रयोगमा सावधानी अपनाउन, सम्भावित आगलागीमा तुरुन्त सुरक्षा निकायलाई खबर गर्न, मादक पदार्थ सेवन गरी होहल्ला वा झगडा नगर्न पनि आग्रह गरिएको छ ।

सवारी साधनको छतमा झुण्डिएर यात्रा नगर्न, यात्रुबाट बढी भाडा असुल्नेलाई कारबाही गरिने चेतावनी दिइएको छ । दीपावली मनाउने क्रममा भुइँचम्पा, पटाका, आतसबाजीजस्ता विस्फोटक पदार्थको प्रयोग, अवैध आयात वा बिक्री वितरण गर्नेलाई कडा कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ ।

विज्ञप्तिमा अखाद्यवस्तु, रङ मिसाइएका मिठाइ, म्याद गुज्रेका मसला तथा प्लास्टिकका फूलमाला प्रयोग र बिक्री वितरण नगर्न समेत अनुरोध गरिएको छ । त्यस्तै, जुवाजन्य खेल, कृत्रिम अभाव सिर्जना वा अन्य अवैध गतिविधि भएको खण्डमा तत्काल नियन्त्रणका लागि सबै पक्षलाई आग्रह गर्दै प्रशासनले सचेत र जिम्मेवार नागरिकको रूपमा पर्व मनाउन सबैलाई आह्वान गरेको छ ।