बुटवल समाचारदाता
बुटवल, कात्तिक १ गते । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिगोबमोजिमको रकम बुझाएर थुनाबाहिरबाट मुद्दा लड्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले माग गरेकोमा छविलाल जोशीको फाइल पनि सँगै पेस गर्न आदेश दिएको छ । उच्च अदालत बुटवलका न्यायाधीश मिलनकुमार राई र ओमप्रकाश अर्यालको संयुक्त इजलासले बिहीबार यस्तो आदेश गरेको हो ।
एकै प्रकृतिको मुद्दामा जोशीले पनि बिगो अनुसारको रकम बुझाएर कारागार बाहिरै बसेर मुद्दाको पुर्पक्षका लागि माग गरेकामा जिल्ला अदालतले अस्वीकार गरेको थियो । त्यसपछि जोशीले उक्त आदेशविरुद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलासमा निवेदन दिनुभएको थियो । यसअघि लामिछानेको माग पनि जिल्ला अदालतले अस्वीकार गरेपछि उहाँ उच्च अदालत जानुभएको थियो । उच्चले यसअघि कैफियत प्रतिवेदन पेस गर्ने आदेश गरेको थियो ।
जेनजी प्रदर्शनका क्रममा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आगजनी र तोडफोड भएको थियो तर आगजनी र तोडफोडमा लामिछाने र जोशी दुवैको मुद्दाको फाइल बचेको थियो । बचेका फाइलमध्ये बिहीबार लामिछानेको मुद्दाको पेसी चढेको थियो । उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार न्यायाधीशद्वय राई र अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको हो । उहाँले भन्नुभयो, “अब दुवै मुद्दाको फाइल एकसाथ एउटै इजलासमा पेस हुन्छन् । अर्को पेसी कहिले तोकिन्छ टुङ्गो छैन ।”
सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराउनुभएको थियो । यसअघि उहाँले आफ्नो भागको बिगो दाखिला गरेर सहकारी ठगीको मुद्दाबाट छुटकारा दिन माग गर्दै जिल्ला अदालतमा निवेदन दिनुभएको थियो । जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उहाँको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो ।
बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपियाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ तर लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भाग बराबर बिगो दाखिला गरेको कागजात पेस गर्नुभएको थियो । लामिछाले दुई करोड ७४ लाख ८४ हजार रुपियाँको बैँक जमानत निवेदनसाथ पेस गर्नुभएको थियो । लामिछानेले जस्तै जोशीले पनि त्यति नै बिगोबापतको जमानत पेस गर्नुभएको थियो ।