• १ कात्तिक २०८२, शनिबार

साहित्य सङ्गम मकवानपुरको अध्यक्षमा बर्तौला

blog

साहित्य सङ्गम मकवानपुरको नयाँ कार्यसमिति । तस्बिरः अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, कात्तिक १ गते । साहित्य सङ्गम मकवानपुरको अध्यक्षमा पुनः डीबी बर्तौला चयन हुनुभएको छ । शुक्रबार हेटौँडामा भएको १७ औँ अधिवेशनबाट उहाँको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । 

सङ्गमको उपाध्यक्षमा मनोज पोखरेल, सचिवमा रजनी पौडेल, सहसचिवमा भवानी न्यौपाने तिमिल्सना र कोषाध्यक्षमा सन्जित श्रेष्ठ चयन हुनुभएको छ । यस्तै सदस्यमा क्रमशः मिथिला अधिकारी, कमल नेपाल, विविसा रुम्बा र विधान आचार्य चयन हुनुभएको छ ।

कार्यक्रममा डा. गणेश लामाले स्थापना गर्नुभएको डा. गणेश लामा विज्ञान प्रतिभा सम्मानबाट रिबिजन हुमागाईलाई सम्मानित गरिएको छ । हेटौँडा स्कुल अफ म्यानेजमेन्टमा विज्ञान सङ्काय अध्ययन गरी कक्षा १२ मा ३.९१ जिपिए हासिल गर्नुभएका हुमागाईलाई नगद ५ हजार रुपियाँसहित सम्मान गरिएको छ । सम्मानका लागि डा. लामाले एक लाख रुपियाँको कोष स्थापना गर्नुभएको छ । संस्थाले तीर्थदेवी सिलवाल र नवराज शर्मालाई सङ्गम सम्मान प्रदान गरेको थियो । 

कार्यक्रममा दुई वर्षभरिको गतिविधिलाई समेटेर सौरभ मुखपत्र सार्वजनिक गरिएको थियो । अग्रज साहित्यकार नवराज शर्माको प्रमुख आतिथ्य एवम् संस्थाका अध्यक्ष बर्तौलाको अध्यक्षतामा अधिवेशन भएको हो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले भाषा, कला र साहित्यको प्रवर्धन गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै वडा कार्यालयले त्यसमा लगानी गरिरहेको बताउनुभयो । उहाँले साहित्यको विकासमा सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।