• १३ साउन २०८१, आइतबार

बजार र जनशक्तिको अभाव झेल्दै हस्तकला उद्योग

blog

काठमाडौँ, कात्तिक २० गते । तीन दशकअघि पाँच सय रुपियाँबाट हस्तकलाको व्यवसायमा प्रवेश गर्नुभएकी रुक्मणीदेवी श्रेष्ठ हाल तीन करोड रुपियाँको व्यवसाय सञ्चालन गर्नुहुन्छ। 

सिन्धुपाल्चोकमा जन्मिनुभएकी रुक्मणीदेवीमा सानैदेखि केही गर्नुपर्छ भन्ने सोच थियो। त्यतिबेला काठमाडौँ आएर बुन्ने काटी र एक किलो ऊनी धागो किनेर उहाँले टोपी, मोजा बुन्न थाल्नुभयो। बिहे भएर काठमाडौँ आएपछि आफ्नो कामलाई व्यावसायिक रूपमा अगाडि बढ्नुपर्छ भनेर २० वर्षअघि काठमाडौँको सोह्रखुट्टेमा रोचक ह्यान्डनिट क्राफ्ट उद्योग स्थापना गर्नुभयो। अहिले यो उद्योगबाट टोपी, मोजा, स्विटर, पन्जा, किरिङ, लेस, अल्लोका सामान उत्पादन हुन्छ। 

उद्योग स्थापना गरेपछि नपढेका, आर्थिक अवस्था कमजोर भएका महिलालाई जम्मा गरेर हस्तकलाका सामान उत्पादन गर्न थालेको उहाँले बताउनुभयो। त्यसपछि उद्योग क्रमिक रूपमा फस्टाउँदै गयो र अहिले दुई हजार जनाले रोजगारी पाएका छन्। 

सुरुसुरुमा आन्तरिक बजारमा सामान बिक्री हुने गरेको भए पनि व्यवसाय बढ्दै गएपछि विदेश पनि निर्यात हुन थालेको रुक्मणीदेवीले जानकारी दिनुभयो। “अहिले जापान, अमेरिकालगायतका देशमा वार्षिक डेढ करोड रुपियाँको सामान निर्यात भइरहेको छ,” नेपाल हस्तकला महासङ्घको आयोजनामा शुक्रबारदेखि काठमाडौँको वसन्तपुरमा चलिरहेको महिला उद्यमी मेलामा स्टल राख्नुभएकी रुक्मणीदेवीले भन्नुभयो।

अन्तर्राष्ट्रिय बजारमा विशेषगरी हातले बुनेका मोजा, पन्जा, टोपीको माग धेरै भएकाले अर्डर आउने गरेको उहाँले बताउनुभयो। “हातले सामान बुन्नुपर्दा धेरै समय लाग्ने हुँदा मेहनतअनुसार प्रतिफल आउन कठिन छ,” उहाँले भन्नुभयो। महिला उद्यमीलाई ऋणको व्यवस्था भए पनि सुविधा पाउन कठिन रहको उहाँको भनाइ छ। हस्तकलाको व्यवसाय प्रवद्र्धन गर्न सरकारले कर छुटको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ। 

वसन्तपुरको महिला उद्यमी मेलामा बागमती प्रदेशका महिला उद्यमीले बनाएका हस्तकलाका सामानको ४० वटा स्टल राखिएको छ। महिला उद्यमीलाई प्रोत्साहन र आन्तरिक बजार प्रवद्र्धन गर्ने उद्देश्यले बागमती प्रदेशको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल हस्तकला महासङ्घले आयोजना गरेका हुन्।

सो मेलामा धनकुटा सिस्टर्स ह्यान्डिकाफ्ट उद्योगले पनि स्टल राखेको छ। यस उद्योगबाट ढाकाका सारी, सल, मफलर, टोपी उत्पादन हुने गर्छ। हाल ललितपुरको इमाडोलबाट ढाकाका कपडा उत्पादन गर्दै आएको सो उद्योगीकी सञ्चालक सुमित्रा भुजेलले सुरुमा व्यवसाय राम्रो भए पनि हाल खस्किँदै गएको बताउनुभयो। कपडा बुन्न कामदारको अभाव, बजारको समस्या, गुणस्तरीय धागो पाउन पनि समस्या रहेको उहाँले जानकारी दिनुभयो। 

केही व्यक्तिले कमसल धागो प्रयोग गरेर ढाकाका सामान उत्पादन गरिरहेकाले गुणस्तरीय सामान बिक्री गर्न कठिन भएको उहाँले गुनासो गर्नुभयो। बजारमा कम गुणस्तरको सस्तो सामान आउन थालेपछि आफ्नो व्यापार घटेको उहाँले बताउनुभयो। सुरुमा ५० देखि ६० लाख रुपियाँको वार्षिक कारोबार हुने गरेकामा अहिले आधाले घटेको उहाँको भनाइ छ। “ढाकाको एउटा सारी बुन्न १०–१५ दिन लाग्छ, जनशक्ति नै पाउन कठिन छ। हातैले बुन्नुपर्ने भएपछि लागत पनि धेरै हुन्छ,” उहाँले भन्नुभयो। रोजगारीका लागि विदेशतिर जाने हुँदा बजारमा काम गर्न मान्छेको अभाव भई व्यवसाय गर्न कठिन रहेको उहाँको भनाइ छ।  

महिला उद्यमीका लागि बिनाधितो ऋणको व्यवस्था भए पनि पाउन सहज नरहेकाले व्यवसाय सञ्चालन गर्न कठिन रहेको उहाँले बताउनुभयो। 

भक्तपुरको ठिमीमा रहेको मिथिला नारी हस्तकला सेन्टरले पनि मेलामा स्टल राखेको छ। यो उद्योगले मिथिला आर्टलगायत कलात्मक ऐना, गमला, बुक मार्क, नोटबुक, पेन्टिङ, ग्रिटिङ कार्डलगायतका सामान उत्पादन गर्दै आएको छ। यस उद्योगबाट उत्पादित सामान आन्तरिक बजारसँगै जापान, अमेरिका र अस्ट्रेलियामा जाने गरेको छ।

मिथिला नारी हस्तकला सेन्टरकी सञ्चालक सरितादेवी मण्डलले पनि हस्तकलाका सामान उत्पादन र बिक्री गर्न बजारको समस्या भएको बताउनुभयो। 

“बेलाबेला हुने प्रदर्शनीमा सामान राख्न पाएका छौँ। अन्तर्राष्ट्रियस्तरमा हुने प्रदर्शनीमा पनि भाग लिने व्यवस्था सरकारले गरिदिए व्यवसाय प्रवद्र्धन गर्न सहज हुने थियो,” उहाँले भन्नुभयो। वार्षिक १० देखि १५ लाख रुपियाँको व्यापार हुने गरेकामा पाँच लाख रुपियाँको विदेश निर्यात हुने गरेको उहाँले जानकारी दिनुभयो। यस्तै प्रधान वुमन ह्यान्डिक्राफ्ट उद्योगकी सञ्चालक अनुुपमा प्रधानले धागो महँगो र काम गर्ने जनशक्ति अभावले हस्तकलाको व्यवसाय सञ्चालन गर्न कठिन परेको अनुभव सुनाउनुभयो।