• १ साउन २०८२, बिहिबार

कोदो खाने चलनले बढायो आयात

blog

काठमाडौँ, साउन १ गते  । मुलुकमा वार्षिक पौने अर्ब रुपियाँ बराबरको कोदो आयात हुने गरेको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा ठुलो परिमाणमा कोदो आयात हुने गरेको हो । 

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा ७१ करोड ८७ लाख ८४ हजार रुपियाँ बराबरको एक करोड ४३ लाख ५५ हजार १३६ केजी कोदो आयात भएको छ । गत आव २०८०/८१ मा ७५ करोड ४४ लाख २३ हजार रुपियाँ बराबरको एक करोड ५२ लाख ९८ हजार १८३ केजी कोदो आयात भएको थियो । छिमेकी मुलुक भारत र चीनबाट नेपालमा कोदो आयात हुने गरेको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आव २०८०/८१ मा दुई लाख २४ हजार ९३५ हेक्टर क्षेत्रफलमा तीन लाख ७३२ मेट्रिक टन कोदो उत्पादन भएको छ । मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मीले कोदो खाने प्रचलन बढ्दै गएकाले पनि कोदोको आयात बढ्दै गएको जानकारी दिनुभयो । पछिल्लो समय कोदोको बढ्दै जाँदा स्थानीय उत्पादनले माग धान्न नसक्दा आयात हुने गरेको उहाँको भनाइ छ ।

पछिल्लो समय कोदोबाट बिस्कुट, ढिँडो, ममलगायतका परिकार बनाइने गरिन्छ । खपत बढ्दै गएपछि डिर्पाटमेन्टल स्टोरदेखि अन्य पसलमा समेत कोदोको परिकार राखिन्छ । होटेल रेस्टुरेन्टमा कोदोका परिकार बनाएर बिक्रीका लागि राखिन्छ ।  तराईमा कम र पहाडी तथा मध्यपहाडी जिल्लामा बढी कोदो उत्पादन हुन्छ । देशको कुल खाद्य उत्पादनको ७.७ प्रतिशत कोदो बालीले ओगट्छ । ९५ प्रतिशत कोदो पहाडमा उत्पादन हुन्छ । समुद्र सतहबाट ३१ सय मिटरसम्मको उच्च पहाडी क्षेत्रमा कोदो लगाइन्छ ।

मन्त्रालयका अनुसार सुदूरपश्चिममा १४ हजार ५२२ हेक्टर क्षेत्रफलमा १८ हजार मेट्रिक टन र कर्णाली प्रदेशमा १४ हजार ३६ हेक्टर क्षेत्रफलमा १९ हजार ५२३ मेट्रिक टन कोदो उत्पादन भएको छ । 

यस्तै लुम्बिनी प्रदेशमा नौ हजार २८७ हेक्टर क्षेत्रफलमा १२ हजार मेट्रिक टन, गण्डकी प्रदेशमा ६६ हजार १३७ हेक्टर क्षेत्रफलमा ८१ हजार ५८४ मेट्रिक टन, बागमती प्रदेशमा ६० हजार ९३५ हेक्टर क्षेत्रफलमा ७३ हजार मेट्रिक टन कोदो उत्पादन भएको छ । मधेश प्रदेशमा दुई हजार २६१ हेक्टर क्षेत्रफलमा नौ हजार १०३ मेट्रिक टन र कोशी प्रदेशमा ५७ हजार ३५७ हेक्टर क्षेत्रफलमा ८७ हजार ३४३ मेट्रिक टन कोदो उत्पादन भएको मन्त्रालयको तथ्याङ्क छ । 

कोदो स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक मानिन्छ । कोदोमा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिनबी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायतका पोषक तत्व पाइन्छ । पोटासियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रण राख्न सघाउने बताइएको छ । कोदामा प्रशस्त मात्रामा भएको क्याल्सियमले हाड बलियो बनाउन सहयोग पु¥याउँछ । 

राष्ट्रिय कोदो दिवस मनाइँदै

सरकारले पहिलो पटक आगामी साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउन लागेको छ । हालै बसेको मन्त्रीपरिषद्को बैठकले साउन १६ मा कोदो दिवस मनाउने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । 

यसअघि कृषि अभियन्ताले साउन १५ गतेलाई अन्तर्राष्ट्रिय कोदो दिवस मनाउँदै आएका थिए । २०७७ सालदेखि यस्तो दिवस मनाउन थालिएको हो । खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले कोदो खेतीको संरक्षण र प्रवर्धन गर्न दिवस मनाउन थालिएको जानकारी दिनुभयो । सरकारी तवरबाट निर्णय गरेर राष्ट्रिय कोदो दिवस मनाउँदा खेती गर्ने किसानलाई थप प्रोत्साहन मिल्ने उहाँको भनाइ छ ।