गोरखापत्र अनलाइन
काठमाडौँ, साउन ११ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई मधेस द्रुतमार्ग सडक आयोजनाको खोकना इलाकाको निर्माणका लागि देखिएका समस्या समाधानका लागि आज सम्बन्धित मन्त्रीसहित उच्चाधिकारीसँग ब्रिफिङ लिइ समाधानका लागि पहल गर्नुभएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा उक्त आयोजनाको हालको प्रवेश विन्दु ललितपुर महानगरपालिका –२१ को खोकनाको फुडोलमा कायम हुँदा देखिएका समस्या समाधानका लागि हालसम्म प्राप्त अध्ययन र विकल्पका सुझावबारे परामर्श भएको छ । खोकना क्षेत्र नेवार समुदायको धार्मिक तथा सांस्कृतिक सम्पदा रहेकोले त्यसलाई सम्बोधनका लागि विभिन्न विकल्पमाथि छलफल भएको छ ।
छलफलपछि प्रधानमन्त्री ओलीले विवाद र समस्यालाई लामो समय अन्योलमा नराखी स्थानीयबासीको माग सक्दो सम्बोधन गरेर आयोजनालाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिनुभयो । छलफलमा भौतिक यातायात तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, प्रधानसेनापति अशोकराज सिग्देल, दुवै मन्त्रालयका सचिवहरुको उपस्थिति थियो ।