• १९ असार २०८२, बिहिबार

दोधारा चाँदनी

सुक्खा बन्दरगाह निर्माण प्रक्रिया सुरु

blog

काठमाडौँ, असार १९ गते । लामो समयदेखि चर्चामा रहेको कञ्चनपुरको दोधारा चाँदनी सुक्खा बन्दरगाहको निर्माण प्रक्रिया अगाडि बढेको छ । बन्दरगाह निर्माणस्थलमा रहेका रुख कटानको काम सकिएकाले निर्माणको प्रक्रिया अगाडि बढेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । रुख कटानका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई १५ करोड रुपियाँ हस्तान्तरण गरिएको समितिले जनाएको छ ।

दोधारा चाँदनी बन्दरगाह भारतको सहयोगमा निर्माण गर्ने विषयमा नेपाल–भारतबिच सन् २०२३ जुन १ मा सम्झौता भएको थियो । सम्झौता भएको दुई वर्षमा बन्दरगाह निर्माणका लागि नेपालतर्फबाट गर्ने सबै काम सकेर प्रक्रिया अगाडि बढेको हो । 

तीन अर्ब ८० करोड भारतीय रुपियाँमा सो बन्दरगाह निर्माण हुन लागेको हो । बन्दरगाह निर्माणका लागि नेपालका तर्फबाट गर्ने सबै काम सकिएर कम्पनीसँग सम्झौतासमेत भइसकेको समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सम्पूर्ण काम सकिएर भौतिक संरचना थालनीका लागि भारतीय पक्षलाई हस्तान्तरणका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पत्राचार गरिसकेको उहाँले जानकारी दिनुभयो । 

सुदूरपश्चिमको व्यापारलाई सहजीकरण गर्ने उद्देश्यसाथ भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण हुन लागेको सो बन्दरगाहले आयातनिर्यात व्यापारलाई सहजीकरण गर्ने उहाँको भनाइ छ । 

बन्दरगाहमा रहेका एक हजार ५९३ वटा रुख कटानसँगै पोल हटाउने काम सकिएकाले जग्गा हस्तान्तरण भएपछि भारतीय पक्षले निर्माणको काम सुरु गर्ने उहाँले जानकारी दिनुभयो । जग्गा हस्तान्तरण भएको तीन वर्षभित्रमा बन्दरगाह निर्माण सम्पन्न गरिने उहाँले जानकारी दिनुभयो । बन्दरगाह निर्माण भएपछि गुजरातको मुन्द्रापोर्ट (बन्दरगाह) र उडिसा राज्यको धाम्रापोर्टबाट सामान आयातनिर्यात हुँदा व्यापारलाई सहजीकरण हुने गजुरेलको भनाइ छ । 

व्यापारविज्ञ रविशङ्कर सैजुले बन्दरगाहले सुदूरपश्चिमको व्यापारलाई सहजीकरण गर्नुका साथै सामान आयातमा लाग्ने लागत र समयको बचत हुने बताउनुभयो । बन्दरगाह बनेपछि भारतसँग दुरीनजिक पर्ने हुँदा निर्यातलाई बढाउनुका साथै यस ठाउँमा नयाँ नयाँ उद्योग स्थापना गर्न सकिने सम्भावना बढेको उहाँको भनाइ छ । 

समितिका अनुसार बन्दरगाहभित्र अत्याधुनिक सुविधा सम्पन्न व्यापार पूर्वाधार, ३५० सवारी अट्ने सडक पार्किङ स्थल, दुई वटा गोदाम घर, तौलपुल, कन्टेनर यार्ड, यात्रु टर्मिनल, भन्सार बैङ्क, पशुपन्छी खाद्य प्रयोगशाला, प्रशासनिक भवनलगायतका संरचना बन्ने छन् ।  

सो स्थानमा बन्दरगाह निर्माण भएपछि आर्थिक गतिविधि चलायमान भई स्थानीयस्तरमा रोजगारी सिर्जना हुने बताइएको छ । यसबाट स्थानीय कृषिजन्य वस्तुको उत्पादन बढाएर निर्यात गर्न सक्ने सम्भावनासमेत बढेको छ । समितिका अनुसार यसले भारतको पन्जाव, हरियाणा, राजस्थान, गुजरात, उत्तराखण्डलगायतका ठुलो आर्थिक नगरीसँग व्यापार तथा पारवहनको हिसाबले सुदूरपश्चिमको कनेक्टिभिटी जोड्ने छ ।

बन्दरगाहदेखि दिल्लीसम्मको दुरी २४५ किलोमिटर छ भने गुजरात एक हजार दुई सय किलोमिटर पर्छ । यसले गर्दा हाल कोलकात्ता र विशाखापत्तनम बन्दरगाहमा भएको निर्भरता र भारलाई पनि न्यूनीकरण गर्न सहयोग पुग्ने बताइएको छ । अहिले सुदूरपश्चिम क्षेत्रमा धनगढी, नेपालगन्ज, महेन्द्रनगर, वीरगन्ज र भैरहवालगायतका स्थानबाट व्यावसायिक मालसामान आपूर्ति हुने गरेको छ । यसले गर्दा लामो दुरीका कारण ढुवानी खर्च अत्यधिक र समय पनि निकै लाग्ने गरेको छ ।

दोधारा चाँदनी नगरपालिका–१ मा पर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गौरीशङ्कर मध्यवर्ती सामुदायिक वनको ४२.३६ हेक्टर क्षेत्रफलमा बन्दरगाह निर्माण हुने छ ।यस आयोजनालाई राष्ट्रिय योजना आयोगले २०७९ मङ्सिर २७ गते राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाका रूपमा स्वीकृति प्रदान गरेको थियो ।

सन् २०६२ सालमा बन्दरगाह निर्माण गर्ने भनेर सम्झौता भए पनि बिचमा रोकिएर दुई दशकपछि आएर निर्माण अगाडि बढेको हो । यसले दुई देशबिचको आयातनिर्यातलाई थप सहज गर्ने बताइएको छ ।