• १२ असोज २०८१, शनिबार

दोस्रो दीपावली गोल्ड कपको उपाधि रानीटार युनाइटेडलाई

blog

दीपावली गोल्ड कपको उपाधि विजेता टिमका खेलाडी सामूहिक तस्बिर लिँदै । तस्बिर: गोरखापत्र

फिदिम, कात्तिक १२ गते । पाँचथरको रानिटारमा आयोजित दोस्रो दीपावली गोल्ड कपको उपाधि रानीटार युनाइटेडले हात पारेको छ । 

रानीटार माविको खेल मैदानमा कात्तिक ११ गते साँझ सम्पन्न फाइनलमा आयोजक रानीटार ग्रिन भ्याली त्रिवेणी फुटबल क्लबलाई ४–० गोल अन्तरले हराएर रानिटार युनाइटेडले उपाधि जितेको हो । 

जिल्लाका १६ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको विजेता टिमको सहभागिता रहेको प्रतियोगिता ६ गते सुरु भएको थियो ।

जीतसँगै विजेता रानीटार युनाइटेडले नगद ६० हजार ६६६, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उप–विजेता टिमले ३० हजार ३३३ रुपियाँसहित ट्रफी मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

खेलकुदका माध्यमबाट आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गत वर्षदेखि दीपावलीका अवसरमा फुटबल प्रतियोगिता आयोजना गर्न थालिएको आयोजक संस्था रानीटार ग्रिन भ्याली त्रिवेणी फुटबल क्लबका अध्यक्ष पासाङ गुरुङले जानकारी दिनुभयो ।

उता पाँचथरको याङवरक गाउँपालिका केन्द्र थर्पुमा आयोजित तरुण गोल्ड कपको उपाधि याङवरक ३ ओयामको फुटबल टिमले जितेको छ । शुक्रवार सम्पन्न फाइनल खेलमा प्रतिस्पर्धी याङवरक २ फलैँचालाई हराउँदै ओयामले उपाधि जितेको हो ।

निर्धारित समयमा दुवै टिमले एक –एक गोल बराबरीमा खेलेपछि ट्राइब्रेकरमा निर्णय गरिएको थियो । ट्राइब्रेकरमा ओयामले फलैँचालाई २ का विरुद्ध ३ गोल गर्दै जीत निकालेको हो ।

जीतसँगै विजेता टिमले नगद १५ हजार र उप विजेताले १० हजारसँग ट्रफी प्राप्त गरे । याङवरक गाउँपालिकाका ७ टिम सहभागी उक्त प्रतियोगिता नेपाल तरुण दलको ६९ औँ स्थापना दिवसको अवसरमा नेपाल तरुण दल पाँचथरले आयोजना गरेको हो ।

Author

राधा लुइँटेल