• १३ साउन २०८१, आइतबार

महँगिँदै छठमा प्रयोग हुने सामग्री

blog

छठ पर्वका लागि विक्रीका लागि ल्याइएका केरा । तस्बिर : ललिता साह

ललिता साह

वोदेवसाईन (सप्तरी) कात्तिक ११ गते । हिन्दु धर्ममा आस्थाको पर्व मानिने छठ पर्व विधिवत् रूपमा सुरु भएसँगै बजार भाउ आकासिएको उपभोक्ताहरूको भनाइ छ । पोहोर परारको छठ पर्वको बेला सय र दुई सय रुपियाँमा पाइने नाङ्लो र ढक्की अहिले चार सयदेखि हजार रुपियाँसम्म पर्ने स्थानीयले बताउनुभयो ।

छठ पूजाका लागि अनिवार्य मानिने केरा पहिले घरी वा दर्जनमा किन्ने गर्थे । तर यो वर्ष किलोमा किनेको र एक किलोमा आठ र दश  वटा आउने उपभोक्ताको भनाइ छ । ८० देखि सय रुपियाँसम्म बजार भाउ बढेको उहाँहरूको गुनासो छ । खड्क ४ की सावित्री देवीका अनुसार यस वर्ष छठका सामग्रीको बजार भाउ अचाक्ली वृद्धि भएको छ ।      पारिवारिक कारणले विगत चार वर्षदेखि छोरा बुहारीसँग काठमाडौंमै छठ पर्व मनाउने बाध्यता भएकाले तिहार र भाइटीका मान्न हरेक वर्ष राजविराज घर आउँदा काठमाडौंमा छठको सामग्री झन् महँगो हुने भएकाले राजविराजबाट आवश्यक सामग्री माटोको हात्तीदेखि केरा र बाँसबाट बनाइएका ढकी, कोनियासम्म किनेर लैजाने गरेको बताउनुभयो । 

विगतका वर्षहरूमा पाँच हजारमा आउने सामग्री अहिले दश देखि बाह्र हजार पर्नेगरेको राजविराज  ७ कि समुन्द्रा देवीले सुनाउनुभयो । एकातिर वर्ष दिनदेखि आर्थिक अभाव झेल्दै गर्दा चाडपर्वले बजारभाउ महँगिँदै गएको व्यवसायीदेखि सर्वसाधारणलाई अनुभूति भएको बताएका छन् । पछिल्लो समय चाडपर्वको बदलिँदो स्वरूपका कारण पर्वमा चाहिने आवश्यक सामग्री बाहेक हुनेखानेहरूले विलासिताका वस्तुहरू महँगा लुगा, गरगहनाहरू चाडपर्वकै बेला किन्ने र देखासिकी गरी प्रतिस्पर्धा, तडकभडकपूर्ण विकृतिले निम्न तथा मध्यमवर्गीय नागरिकलाई समस्या पर्नेगरेको रुपनि १ का हरेराम यादवको बुझाइ छ । 

मौलिक परम्परा बोकेको छठ पर्वमा हाम्रो पालामा त आफ्नो घर र छिमेकको बगैँचा र बारीमा भएकै सामानहरू पैँचो साटो गरेर पुग्थ्यो । न्यून मात्रामा बजारबाट किन्नुपर्ने सामग्रीमा हामी नाइको बराबर पैसा खर्च हुन्थ्यो । अहिलेको छठ पर्व देखासिकीले झन् महँगो बन्दैगएको तिरहुत गाउँपालिकाको ९७ वर्षीय हुकुमलाल चौधरीले बताउनुभयो ।

चार दिनसम्म चल्ने छठ  पर्वमा महिना दिन अगावैदेखि जोरजाम गर्नुपर्ने र खर्च गर्नैपर्ने बाध्यता हुनेगरेको वोदेवसाईन ५ मानराजाकी अनिता साहले बताउनुभयो । सबै सामग्री छठी मैयालाई घाटमा चढाउने अर्थात् पर्व प्रयोजनकै लागि हुनेभएकाले कुनै कटौती नगरी चाहिने आवश्यक सामग्री खरिद नगरे पर्व मनाउनै सकस हुन्छ उहाँको भनाइ छ । 

सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बजारभाउ आकासिएको नागरिकको गुनासोबीच बजार अनुगमनको काम हुने बताउनुभयो । उपभोक्ता हितकानिम्ति बजार अनुगमन सँधै गर्नुपर्ने काम भएको उहाँले बताउनुभयो । चाडपर्वको बेला झन् विशेष रूपमा गर्नुपर्छ उहाँले भन्नुभयो ।