• १६ भदौ २०८१, आइतबार

गहते गाउँको मुखियामा गुरुङ

blog

लमजुङको सुन्दरबजार नगरपालिका ५ गहतेमा नयाँ मुखियालाई स्वागत गरिँदै । तस्बिरः बेलिना थापा

बेलिना थापा

लमजुङ, कात्तिक ८ गते । लमजुङको सुन्दरबजार नगरपालिका वडा नं. ५ गहते गाउँका स्थानीयले नयाँ मुखिया पाएका छन् । गाउँमा भएको गाउँसभा २०७९ बाट ५५ वर्षीय पालबहादुर गुरुङ मुखियामा चुनिनुभएको हो । 

गाउँमा मुखिया (नेतृत्वकर्ता) पुस्तान्तरण हुनेगर्छ । गुरुङको इच्छा र गाउँलेको इच्छाअनुसार मुखियामा गुरुङलाई चुनिएको स्थानीयको भनाइ छ । पालबहादुरको बुवा बागवीर गुरुङको मृत्युपछि उहाँको माइला दाइ ७२ वर्षीय बुद्धबहादुर गुरुङ मुखिया हुनुहुन्थ्यो । बुद्धबहादुरको स्वास्थ्यमा समस्या आएपछि राजीनामा दिनुभएको थियो ।

नयाँ मुखियामा बागवीरका कान्छा छोरा पालबहादुरलाई स्वागत गरिएको गाउँलेले बताएका छन् । बुद्धबहादुरले २४ वर्षसम्म मुखियाको जिम्मेवारी सम्हाल्नुभएको थियो । नयाँ मुखिया पालबहादुरका अनुसार मुखियाले गाउँको संस्कार, संस्कृति, रीतिथितिको विषयमा योजना बनाउने, गाउँले सामु प्रस्तुत गर्ने गरिन्छ । 

पूजाआजा समेत मुखियाकै नेतृत्वमा हुन्छ । गाउँ भेलामा आफ्ना विचारहरू राख्ने र त्यसलाई पारित गर्ने मुखिया पालबहादुरले बताउनुभयो । राम्रा काम र नराम्रा कामको पनि समीक्षा हुने उहाँको भनाइ छ । 

गाउँलाई व्यवस्थित रूपमा सञ्चालन गर्न मुखियाको विशेष भूमिका रहँदैआएको छ । एउटै परिवारका छोरा मुखिया हुने प्रचलनअनुसार मुखियाको जिम्मेवारी दिने गरिएको गाउँलेहरूले बताएका छन् । वर्षौंदेखि मुखिया बनेका परिवारका छोरालाई मुखिया बनाउने प्रचलन रहेको स्थानीय एवं कालिका युवा क्लबका अध्यक्ष बुद्धिलाल आलेले बताउनुभयो ।

मुखिया गुरुङको संयोजकत्वमा ५ सदस्यीय समिति निर्माण भएको छ । सदस्यहरूमा निरबहादुर गुरुङ, डिलबहादुर गुरुङ, एकप्रसाद गुरुङ र सदस्य सचिवमा कालिका युवा क्लबका अध्यक्ष बुद्धिलाल आले रहनुभएको छ । 

समितिले बनाएको नियम भन्दा बाहिरको काम गरेमा, चोरी डकैती, झगडा भएमा मुखियासामु उजुरी पर्छ । मुखियाले गाउँलेसँग सल्लाह गरी मेलमिलाप वा जरिवाना तोक्ने गरिन्छ । यसअघिका मुखिया बुद्धबहादुर गुरुङको अध्यक्षतामा भएको सभामा गहते सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सूर्यकुमार गुरुङ, गहते खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष डिलबहादुर गुरुङ, गहते मुलकोट होमस्टे सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद गुरुङ, सिर्जना आमा समूहका अध्यक्ष पदमकुमारी गुरुङ, गहते टोल विकास संस्थाका संयोजक गोवर्द्धन गुरुङलगायतको उपस्थिति थियो ।