‘सुखमयपारी सब संसार-आयो रसिलो चाड तिहार’ – कविशिरोमणि लेखनाथ पौडेलका उद्गार हुन् यी । दशैँको तामसी र राजसी प्रकृतिको रमझम आफन्तजन, परिवारिक मिलनको आनन्द र रमाइलोपछिको उल्लासमय उज्यालो पर्व हो तिहार । साìिवक भाव मिठाई, खानेमसला, फलफूलको महक र सौन्दर्य लिएर आउने गर्छ । दशैँ र तिहारबीचको तुलना गर्दा दुई विपरीत गुण पाइन्छन् । दशैँ शक्तिको उपासना गर्ने क्रममा हिंस्रक बलि प्रथामा विश्वास राखेर मनाइने पर्व हो । बलि प्रथालाई काम क्रोध, लोभ, मोह, मद अहङ्कार आदिलाई हटाउन गरिएको भन्ने जतिसुकै शास्त्रसम्मत पुष्ट्याइँ गरिए पनि हृदयगत दृष्टिले त्यस्तो भएको व्यवहारमा पाइँदैन । तिहार पर्वले हिंस्रक प्रवृत्तिलाई लत्याएर दुईखुट्टे–चारखुट्टे सबै प्राणीप्रति सद्भावना प्रदान गर्ने काम गर्छ । काग, कुकुर, गाई, गोरु, बहर र गोवर्धन पर्वतको पूजा संस्कारसमेतले मानिसको कल्याण गरेकाले तिहारलाई मानव कल्याण खोजी गर्ने चाडका रूपमा लिइन्छ । कागतिहारबाट सुरु भएर भाइटीकाको दिनसम्म गरेर पाँच दिन मनाइन्छ तिहार । त्रयोदशी तिथिबाट द्वितीया तिथिसम्म मृत्युका देवता यमराज बहिनी यमुनाको निम्तामा मृत्युलोकबाट पृथ्वीलोकमा आएर पाँच दिन बसेको उपलक्ष्यमा यमपञ्चक भन्ने गरिएको हो । यमुनाको निर्देशनमा दिदीबहिनी र दाजुभाइको पूजा सुरु भएको मानिन्छ । यो निर्देशन नेपाली संस्कृतिको विशुद्ध मौलिक परम्पराका रूपमा रहँदै आएको छ ।
कागलाई यमराजको अनन्य भक्त र यमराजकहाँ राम्रो-नराम्रो खबर पु-याउने दूतका रूपमा पूजा गरिने गरिन्छ । कागले सिनोलगायत फोहोरमैला, जुठो, कीरा–फट्याङ्ग्रा आदि खाइदिएर वातावरण सफा राखिदिने र पर्यावरणीय सन्तुलनमा महìवपूर्ण भूमिका निर्वाह गर्ने चराको मान्यता पाएको छ । परापूर्वकालमा दोस्रो पटक भएको समुद्र मन्थनबाट उत्पन्न भएका भगवान् धन्वन्तरीको स्मरणमा वैद्यराज तथा चिकित्सकले आयुर्वेदका प्रवर्तक धन्वन्तरीलाई सम्झने गर्छन् । साथै नरक चतुर्दशीको कर्म सकेर कुकुरको पूजा गर्र्ने चलन छ । कुकुरलाई भैरवको वाहन, यमराजको दूत, मानिसको आज्ञाकारी र विश्वसनीय सेवक मानिन्छ । घ्राण शक्ति तीक्ष्ण भएकाले अनुसन्धानमा प्रयोग गर्न सकिने, भूकम्प आदि प्राकृतिक विपत्ति हुने अवस्थामा अग्रिम सूचना दिने चनाखो हुने आदि आदि गुणको शक्ति भएको मान्यता र सुरक्षाको प्रतीकका रूपमा कुकुरको पूजा गरिन्छ ।
यसै दिनको बिहानी उषा समयमा नरक चतुर्दशी, त्यसपछि गाईपूजा साँझ दीपावली र राति ऐश्वर्यकी प्रतीक लक्ष्मी पूजाको अनुष्ठान गरिन्छ । नरक चतुर्दशी विशेषमा आ–आफ्ना घरका मुख्य गृहिणीले घिउ तथा तेलमा भिजाएको बत्ती सबै परिवारको शिरमा घुमाएर ‘नर्कजा, हर्ष आइज’ भनी आ–आफ्नै घरको धारा अथवा पायक पर्ने पँधेरा नदी, खोलामा बगाई धर्मराज तथा यमराजलाई तर्पण दिइन्छ । यो चतुर्दशीको अनुष्ठानको विशेष आशय वर्तमानका सन्तानलाई सुख र पितृको मोक्ष होस् भन्ने नै हो । यस दिनलाई भूत चतुर्दशी पनि भनिन्छ ।
परापूर्वकालमा यसै दिनमा श्रीकृष्णले नरकासुरको वध गरेकाले नरक नाम जोडेर नरक चतुर्दशी भनिएको उल्लेख छ । घरका सबै परिवारको स्वास्थ्य र तन्दुरुस्तीका निम्ति यसै दिनबाट तीन दिनसम्म शरीरमा तेल लगाउनुपर्ने, १४ प्रकारका सागपात र अचार तरकारी खानुपर्ने पुरानो विधि हो । उक्त विधि पूरा गर्नेहरूको घरमा लक्ष्मीको बास हुने र विधि उल्लङ्घन गर्नेको घरमा लक्ष्मीको वास नहुने धार्मिक मान्यता छ । त्यसै दिनको मध्यबिहान गाईगोरुको पूजा अनुष्ठान गरिन्छ । कुनै कालखण्डमा गाईलाई समृद्धिको प्रतीक र ‘गोधन’ मानिन्थ्यो । समयको गतिसँगै अन्य वस्तु धनका रूपमा प्रयोगमा आउँदा गोधनको मान्यता हराउँदै गए पनि गाईको मान्यता र संस्कार हराएको छैन ।
अझै पनि आध्यात्मिक आस्थाका मानिस सडकमा गाई देख्दा कन्याइदिने र ढोगिदिने गर्छन् । तेत्तीसकोटी देवता गाईको शरीरमा रहने विश्वास मानेर घाँस परालको अतिरिक्त विशेष पर्वमा जोसुकैले पनि गाईलाई मिठाई र रोटी खुवाउँछन् । आयुर्वेदका चिकित्सक गाईको दूधमा मानिसलाई हृष्टपुष्ट हुने शक्ति, कफ, वात र पित्तका रोग निवारण गर्ने शक्ति रहेको जनाउँछन् । अध्यात्मवादी गाईलाई पोसिलो दूध घिउ दिने जीवनदायिनी र मृत्युवरण गरेपछि मानिसलाई वैतरणी नदी पार गराउने सहराको शक्तिका रूपमा सम्मान गर्छन् । जनैपूर्णिमामा गुरु पुरोहितबाट मन्त्रणा गरेर श्रद्धालुको नाडीमा बाँधिएको डोरो रक्षाबन्धनलाई गाईतिहारका दिन गाईको पुच्छरमा बाँधिदिँदा मानिसको मृत्युपछिको आत्मालाई वैतरणी पार भई सुख मिल्ने शास्त्रीय मान्यता छ । महालय सोह्रश्राद्ध पर्वमा सम्पन्न गरिने श्राद्ध कुनै कारणवश रोकिएमा यसै गाईतिहार औँसीमा सम्पन्न गर्ने परम्परा छ ।
यसै दिन बहर तथा गोरुको मनोरञ्जन लिन उनीहरूलाई त्यस दिन दाम्लो नलगाउने, धेरै जग्गा हुने ठाउँमा स्वतन्त्र खेल्न छाडिदिने, दुहुना गाई नदुहुने, स–साना बाच्छाबाच्छीलाई जतिसक्दो दूध खान दिने विशेषता पनि रहिआएको छ । कृषिको विकास र अन्य श्रम शक्तिमा गोरु–बहरको विशेष मान्यता छ । शिव महादेवको वाहनसमेत रहेकाले गोरु–बहरलाई अन्य दिनको भन्दा मीठो मीठो खानेकुरा दिने, उनीहरूको शरीरमा पानीमा घोलिएको पिठाले बुट्टा भरेर र पिठाको कुँडो नै बढी मात्रामा खान दिइने हुनाले उक्त तिथिलाई ‘पिठे आंैसी’ पनि भनिन्छ । हाम्रो देशमा गाईलाई राष्ट्रिय जनावरको मान्यता दिइएको छ । गाई, गोरु–बहरलाई वध गर्न निषेध गरिएको छ ।
लक्ष्मीपूजामा लक्ष्मीका अतिरिक्त कुवेर, इन्द्र, ऐेरावत तथा लक्ष्मीका सहोदर भाइ चन्द्रमाको पनि पूजा हुन्छ । लक्ष्मीका दुई स्वरूपलाई दुर्भाग्य लक्ष्मी-सौभाग्यलक्ष्मी मानिन्छ । औँसीका दिन बिहान घरघरका सबै ठाउँमा विशेष लिपपोत, सफासुग्घर र घरका गृहिणीसमेतले नित्यकर्म गरेर दुर्भाग्य लक्ष्मीको प्रार्थना पूजा गरिन्छ । यदाकदा आर्थिक उन्नति वैभवको निमित्त जतिसुकै कर्म गरे पनि लक्ष्मीले आफ्नो कुकर्म छोडिनन् भने सबै कर्मको पनि फल प्राप्त नहुँदा दुर्भाग्य लक्ष्मीलाई पूजा–सम्मान गरेर थन्क्याएर अथवा हटाएर मात्र सौभाग्य लक्ष्मीको पूजा गर्न अथ्र्याइएको पाइन्छ । त्यसपछि धनधान्यकी देवी लक्ष्मी, गणेश, कुवेर, कार्तिकेयसमेतको पूजा गर्न उत्तम मानिन्छ । लक्ष्मी पूजाको साँझमा महिलाले भैलो र भाइटीकाको दिन पुरुषले ‘देउसी’ सम्झनास्वरूप देउसी खेल्छन् । साथै ‘भैलो’को अर्थ चाहिँ ‘भलो होस्’ भन्ने अर्थमा बुझ्न आवश्यक छ । संस्कृतिविद् देउसी–भैलो कार्यक्रमलाई कला÷सङ्गीतको साधन र नेपालको पम्परागत सङ्गीत नाचगानको संस्कारलाई जीवन्त राख्ने माध्यमका रूपमा परिभाषित गर्छन् ।
गोवर्धन पूजाको साँझपख विशेष गरेर नेवार समुदायमा शरीर शुद्धि, आफ्नो पहिलो हितैषी आफँै र आफ्नो सम्मान आफैँ गर्न जान्न बौद्ध दर्शनको ‘अप्पदीपोभवः’ आफ्नो बत्ती तथा उज्यालो आफैँ होऊ भन्ने मन्त्र मनन गरेर म्ह पूजा अनुष्ठान गर्ने संस्कार अनुकरणीय चलन छ । नेवारी भाषामा ‘म्ह’लाई आत्मा र विशेष अर्थमा मूर्तिको अतिरिक्त मानिसले मानिसलाई पूजा गर्ने अर्थमा लिइन्छ । म्ह पूजामा शरीरको पूजा हुँदा देवीदेवताको प्रतिष्ठापन र गुरुपुरोहितको जपतप मन्त्रपाठको आवश्यकता पर्दैन । यस पूजामा परिवारको ज्येष्ठ सदस्यमा महिलाको विशेष भूमिका हुँदा मातृसत्तात्मक मान्यता बढी भएको पाइन्छ । शरीरलाई देवता मानेर पूजा गर्नु आफूभित्रै ईश्वरको खोजी गर्नु हो । म्ह पूजा कवि लक्ष्मीप्रसाद देवकोटाको ‘यात्री’ कवितामा व्यक्त भएका ‘मन्दिर आफू अपार’को भावसँग मिल्दोजुल्दो पाइन्छ ।
तिहार अथवा दीपावली पर्व नेपाली साहित्यकारका लागि अझ विशेष महìवपूर्ण छ । दीपावली तथा लक्ष्मी पूजा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको दिन पनि हो । अज्ञानता व्याप्त अन्धकारमा रुमाल्लिएको नेपाली समाजमा आफ्ना अमूल्य कृतिद्वारा चेतनाको नयाँ जागरणको दीपावली उनैले गरेका हुन् । उनका कृतिमा प्रकृति हाँसेको नेपाली जीवन रमाएको, नेपालीपन गर्वले छाती फुलाएको, नेपाली सभ्यता दीप्तिमान र पूर्वीय दर्शन जगमगाएको, विश्वव्यापी दृष्टिकोण उदात्त भएको पाइन्छ ।
भ्रातृ द्वितीया तथा भाइटीकाको दिन पञ्चोपचारले दियो, कलश, गणेश र परशुराम, अश्वस्थामा, बलि, प्रह्लाद, हनुमान, मार्कण्डेय ऋषि आदि अष्ट चिरञ्जीवीको यथाशक्य पूजा गरी दिदीबहिनीले दाजुभाइलाई क्रमपूर्वक राखेर जल र तेलको घेराले छेकेर शिरमा तेल दलेर सप्तरङ्गी टीका लगाइदिने चलन छ । दाजुभाइलाई कहिल्यै नओइलाउने मखमली र दुबोको माला घाँटीमा पहिराई दीर्घायु र सुस्वास्थ्यको कामना गर्ने प्रचलन छ । दाजुभाइले पनि दिदीबहिनीलाई फलफूल, मसला, कपडा र दक्षिणा दिने गर्छन् ।