• १२ असार २०८१, बुधबार

अवैध पेट्रोल र सुर्ती जफत

blog

अवैध पेट्रोल लगायतका सामग्री जफत गरिँदै ।

ताप्लेजुङ, कात्तिक ५ गते । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा अवैध रूपमा बिक्री गरिँदै आएको पेट्रोल र सुर्तीजन्य वस्तु जफत गरिएको छ । बजार अनुगमनका क्रममा फेला परेको अवैध पेट्रोल र सुर्तीजन्य वस्तु अनुगमन टोलीले जफत गरेको हो । 

ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईको नेतृत्वमा शुक्रवार गरिएको संयुक्त बजार अनुगमन टोलीले फुङ्लिङ बजारका केही पसलबाट बिना इजाजत पेट्रोल र सुर्तीजन्य वस्तु लुकाई छिपाई बिक्री गर्दै गरेको फेला पारेपछि जफत गरेको हो । अनुगमनका क्रममा पानी र कोक–स्प्राइटको बोतलमा भरेर बिक्री हुँदै आएको पेट्रोल अनुगमन टोलीले नियन्त्रणमा लिएको हो । 

त्यस्तै इजाजत नलिई बिक्री गरिँदै आएको सुर्तीजन्य वस्तु पनि अनुगमन टोलीले नियन्त्रणमा लिएको छ । अवैध रूपमा बिक्री हुँदै आएको पेट्रोल दुई ठाउँबाट र विभिन्न पाँच ठाउँबाट अवैध सुर्ती नियन्त्रणमा लिएको सहायक प्रजिअ भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार अवैध रूपमा बिक्री हुँदै आएको पेट्रोलको निर्धारित मूल्यभन्दा झन्डै दोब्बरमा बिक्री गर्ने गरेको पाइएको छ । 

यस्तै अनुगमन टोलीले वैधानिक प्रक्रिया पूरा गरेर मात्र व्यवसाय सञ्चालन गर्न, म्याद गुज्रेका र अखाद्य वस्तु बिक्री वितरण नगर्न व्यवसायीलाई सचेत गराएको छ । नियम विपरीत व्यवसाय सञ्चालन गरेका पाएमा र म्याद नाघेको, सडेगलेको तथा अखाद्य वस्तु विक्री वितरण गरेको पाइएमा तत्काल कानुनबमोजिम कारबाही गरिने घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका उद्योग अधिकृत युवराज घोर्साइँले बताउनुभयो । 

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।