• २२ वैशाख २०८१, शनिबार

राष्ट्रिय खेलकुदको सफल आयोजना – मन्त्री गहतराज

blog

एक कार्यक्रममा बोल्दै खेलकुद मन्त्री गहतराज । तस्बिर - सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, कात्तिक २ गते । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सफल आयोजना आफैँमा एउटा ठूलो उपलब्धि भएको बताउनुभएको छ । 

बाँकेको कोहलपुरमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री गहतराजले कोभिडलगायतका विभिन्न कारणले रोकिएको देशकै सबैभन्दा ठूलो खेल प्रतियोगितामा तय गरिएको निर्धारित समयमा नै सञ्चालन गर्न सक्नु ठूलो सफलता भएको बताउनुभएको हो । 

निर्वाचन र अन्य केही कारणले विभिन्न चुनौती भए पनि ती सबै चुनौतीलाई चिर्दै मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्का मित्रहरूको उच्च मनोबल, अथक प्रयास र परिश्रमले गर्दा ऐतिहासिक रूपमा प्रतियोगिता सम्पन्न हुन गइरहेको उहाँले बताउनुभयो । 

उहाँले प्याराग्लाइडिङका खेलाडीको दुःखद घटनाले देशको सम्पूर्ण खेल जगतलाई दुःखी बनाएको जनाउँदै सरकारले सो घटनाबारे अनुसन्धान गर्ने बताउनुभयो । 

उहाँले खेल क्षेत्रले देशलाई विश्वमा चिनाउने र पहिचान कायम गर्ने भएकोले खेलकुदका लागि बजेटमा वृद्धि गर्नु अपरिहार्य बनेको बताउनुभयो । 

पोखरामा सञ्चालन भइरहेको नवौँ राष्ट्रिय प्रतियोगितामा पदक जित्ने र यस पटक जित्न नसकेका सबैलाई अग्रिम बधाई दिँदै उहाँले कम समयमा आफूले खेलकुदको विकासमा धेरै उल्लेख्य काम गर्न सकेको बताउनुभयो ।