• १९ असोज २०८१, शनिबार

नवजात शिशु डस्टबिनमा

blog

काठमाडौँ, कात्तिक २ गते । अविवाहित किशोरीबाट जन्मिएको नवजात शिशु वीर अस्पतालको शौचालयसँगै राखिएको डस्टबिनमा फेला परेको छ ।  काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार ती नवजात शिशु भारतको सीतामढी जिल्ला बथनाहाकी १९ वर्षीया किशोरी काजलकुमारी साहको रहेको खुलेको छ । प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–२३, ओमबहालस्थित घरमा डेरा गरी बस्दै आएका ओमप्रकाश साहकी अविवाहित छोरी काजललाई पेटमा समस्या देखिएपछि मङ्गलबार बिहान ४ः३० बजे बुवा र उनका दाजु सनिकुमार साहले उपचारका लागि वीर अस्पताल पु-याउनुभएको थियो ।

वीर अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा किशोरीले शौचालयभित्र बच्चा जन्माएकी थिइन् । त्यसपछि उनले नवजात शिशुलाई शौचालयबाहिर रहेको फोहोर फ्याँक्ने डस्टबिनमा फ्याँकेको प्रहरीले जनाएको छ ।

अस्पतालका बिरामी शौचालय जाने क्रममा झन्डै एक घण्टापछि डस्टबिनभित्र नवजात शिशुको आवाज सुनेपछि हेर्दा बच्चा फेला पारेका थिए । बिरामीका आफन्तले शिशु फालेको जानकारी गराएपछि नवजात शिशुको उद्धार गरिएको थियो ।

प्रहरीका अनुसार अत्यधिक रक्तस्राव भएका कारण किशोरी काजललाई थप उपचारका लागि नवजात शिशुसहित थापाथली प्रसूति गृह पठाई प्रहरीको निगरानीमा उपचार भइरहेको छ । प्रहरीले सो घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।