• ११ असोज २०८१, शुक्रबार

सञ्चारमन्त्री कार्कीको क्षेत्रमा २५ प्रत्याशी, उहाँबाहेक सबै नयाँ

blog

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की (दायाँ) नेकपा (एमाले) का प्रत्याशी जगदिशप्रसाद कुसियैतसँग । तस्बिर – जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, कात्तिक १ गते । प्रतिनिधि सभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ४ ले जिल्लाको मात्रै नभई देशको ध्यान तानेको छ । वर्तमान सरकारका कानुन, सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले सो क्षेत्रबाट उम्मेदवारी दिनुभएकाले सबैको ध्यान तानिएको हो। 

यो क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार कार्कीबाहेक सबै प्रत्याशी नयाँ हुनुहुन्छ । यसअघि निर्वाचनमा १६ जना उम्मेदवार रहेकोमा यसपटक २५ जना उम्मेदवार छन् । यसमध्ये कोही पनि महिला उम्मेदवार छैन ।

अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवार रमेश श्रेष्ठलाई छ हजार ५९७ मतान्तरले कार्कीले जित हासिल गर्नुभएको थियो । उहाँले ३२ हजार ३४७ मल प्राप्त गर्दा एमालेका उम्मेदवार श्रेष्ठले २५ हजार ७५० मत पाउनुभएको थियो । 

सत्ता गठबन्धनमा रहेका अन्य दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमोर्चासहितको समर्थन यस पटक उहाँलाई रहेकाले जित्न सजिलो रहेको  दाबी सत्तारूढ गठबन्धनको दाबी छ । यस क्षेत्रलाई कांग्रेसको पकड भएको क्षेत्र मानिन्छ भने स्थानीय तहको निर्वाचनमा तीन वटै गाउँपालिकामा अध्यक्ष र एक नगरपालिकामा प्रमुख पद कांग्रेसले जितेको छ । 

यसपटक नेकपा एमाले र जसपा गठबन्धनबाट एमालेका केन्द्रीय सदस्य जगदीशप्रसाद कुसियैत चुनावी मैदानमा हुनुहुन्छ । 

त्यसैगरी, कार्कीको क्षेत्रमा राप्रपाबाट विध्यानन्द यादव, नेपाल मजदुर किसान पार्टीबाट अर्जुनप्रसाद भट्टराई, नेकपा (माओवादी समाजवादी) बाट कुमार राई, जनता प्रगतिशील पार्टीबाट गुलावचन मुसहर, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट कुञ्जीलाल यादव, नेपालका लागि नेपाली पार्टीबाट डम्बरबहादुर घिमिरे, जनमत पार्टीबाट देवराम यादव, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मोहम्मद सद्धिक मियाँ, राप्रपा नेपालबाट सत्यनारायण राम, राष्ट्रिय स्वतन्त्र पार्टीबाट जीवनकुमार श्रेष्ठ, एकीकृत शक्ति नेपालबाट गोपाल नेपाल प्रतिस्पर्धामा हुनुहुन्छ । 

यस्तै, स्वतन्त्र उम्मेद्वार डा. खालिद हुसेन हक, कुमार राई, अब्बदुलाह अंसारी, केशव उराँव, समीर मंसुरी, श्यामप्रसाद ढकाल, मनोजकुमार मण्डल, विधानन्दप्रसाद साह, बालेश्वर यादव, फेकनराम मोची, धिरज बर्मा, डिल्लीबहादुर विष्ट, केशव कार्कीको पनि प्रत्यास हुनुहुन्छ । यो क्षेत्रमा पुरुष ६८ हजार ५०७ र महिला ५९ हजार ५५८ गरी एक लाख २८ हजार ६५ जना मतदाता छन् । 

यस्तै, सुनसरी निर्वाचन क्षेत्र ४ प्रदेशसभा (क) मा नेपाली कांग्रेसबाट सदानन्द मण्डल, जसपाबाट पर्शुराम बस्नेत, राप्रपाबाट राजकुमार साहु तेली, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट इन्द्रबहादुर लिम्बु, नेपाल सङ्घीय समाजवादी पार्टीबाट शिववती थरुनी, राप्रपा नेपालबाट दिपकबहादुर कटुवाल, हाम्रो नेपाली पार्टीबाट नरेन्द्रबहादुर बस्नेत, लोकतान्त्रिक समाजवादी पार्टीबाट नुनुलाल उराँव, जनता प्रगतिशील पार्टीबाट रामचन्द्र सुतिहार बर्मा, नेपाल लोकतान्त्रिक पार्टीबाट विशेश्वर सदाको उम्मेदवारी छ । त्यसैगरी, स्वतन्त्रमा राजु मण्डल, रविन रार्ई र बाबुराम बरालको उम्मेदवारी कायम छ ।

सुनसरी निर्वाचन क्षेत्र ४ प्रदेशसभा (ख) मा नेपाली कांग्रेसबाट हाजि डा. इसराईल मंसुरी, जसपासहितको गठबन्धनबाट नेकपा एमालेका आवास अंसारी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अबास मियाँ, राप्रपाबाट चन्दन मेहता, नेकपा (माओवादी समाजवादी) बाट तुनमा खातुन, राप्रपा नेपालबाट सत्यदेव राम, हाम्रो नेपाली पार्टीका शिवनारायण कुमार पण्डित, लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्तोष मेहता, जनमत पार्टीबाट हरिकुमार मेहता, स्वतन्त्रबाट हफाज मियाँ, रघुनाथ महतो कोईरी, नौसाद अंसारी र जबार मियाँको उम्मेदवारी रहेको छ ।