• १३ साउन २०८१, आइतबार

चीनको समृद्धि र पुनरुत्थान

blog

छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनमा लामो समयदेखि प्रतीक्षा गरिएको सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशन बेइजिङमा प्रारम्भ भएको छ। कुल नौ करोड ६० लाखभन्दा बढी सदस्य तथा करिब ५० लाख प्राथमिक तहका सङ्गठन भएको चिनियाँ कम्युनिस्ट पार्टीको सप्ताहव्यापी (अक्टोबर १६–२२) महाधिवेशनमा चीनको वर्तमान र भविष्यको मार्ग रेखाङ्कन गरिनेछ। 

विश्वका विभिन्न १४ मुलुकसँग सीमा जोडिएको तथा नौ करोड ६० लाख वर्गकिलोमिटर क्षेत्रमा फैलिएको रुस तथा क्यानडापछि विश्वको सबैभन्दा ठूलो राष्ट्र चीनका घटनाक्रमले अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रत्यक्ष वा परोक्ष प्रभाव पार्ने गरेको जगजाहेर छ। विभिन्न २३ प्रान्त, पाँच स्वायत्त क्षेत्र, केन्द्र सरकारअन्तर्गतका चार महानगरपालिका तथा हङकङ र मकाउसहित दुई विशेष प्रशासनिक क्षेत्र एवं ५६ जनजाति भएको चीनमा प्रत्येक पाँच वर्षमा हुने पार्टीको महाधिवेशनले आन्तरिक राजनीति र आर्थिक क्षेत्रलाई जेजति प्रभाव पार्छ, महाधिवेशनले लिने नीतिगत निर्णयले पनि विश्व सम्बन्धलाई कुनै न कुनै रूपमा असर पार्ने गरेको छ।

करिब पाँच हजार वर्ष पुरानो सभ्यता भएको चीनले इतिहासका विभिन्न चरणमा अनेकन आरोह अवरोह सामना गर्नुपरेको छ, तथापि सन् १९४९ मा स्वाधीनता र एक सय वर्षअघि कम्युनिस्ट पार्टीको स्थापनापछिका अवधि चीनको समृद्धि, स्थायित्व र आधुनिकीकरणमा ऐतिहासिक महìवका अवधि मानिएका छन्। सन् १९४९ को अक्टोबर १ मा कम्युनिस्ट पार्टीका अध्यक्ष माओले चीनको त्यानमेन चोकबाट जनवादी गणतन्त्र चीन स्थापना गरेको घोषणापछि चीनले ७० वर्ष पार गरिसकेको मात्र होइन, त्यहाँ राजनीतिक प्रणाली, सामाजिक र आर्थिक विकासलाई नयाँ धरातलमा पु¥याएर विश्वको पहिलो आर्थिक शक्ति राष्ट्रमा सूचीबद्ध हुने अनुपम सफलता हासिल गरेको छ।

विगतका दशकमा विश्वव्यापी रूपमा जेजति उल्लेख्य परिवर्तन भएका छन्, त्यही सिलसिलासँगै चीनले पनि आर्थिक–सामाजिक रूपान्तरण र आधुनिकीकरणमा निकै फड्को मारेको छ। चीनले अवलम्बन गरेको राजनीतिक प्रणाली २०औँ शताब्दीको सुरुका दशकमा भएको क्रान्तिका परिणाम हुन्। भूमिसुधारका कदम, गृहयुद्ध, जापानविरुद्धको युद्ध, स्वाधीनता सङ्ग्रामलगायत २८ वर्षको सङ्घर्षपछि सन् १९४९ मा स्थापित नयाँ राजनीतिक प्रणालीको परिणामस्वरूप चीनले सात दशकको अवधिमा विश्वलाई आश्चर्यचकित पार्ने उच्चतम सफलता प्राप्त गरेको हो। चीनमा अक्टोबर १९७६ मा दस वर्षको सांस्कृतिक क्रान्ति अन्त्य हुने क्रमसँगै दङ्ग जियाओ पिङ्गको नेतृत्वमा चीनले अवलम्बन गरेको सुधार र खुलापनको नीतिले तीव्र विकासको सफलता हासिल गरेको हो। नयाँ चीन स्थापनाअघि अत्यन्त कमजोर अवस्थाबाट गुज्रिएको चीनले पछिल्ला चार दशकका अवधिमा विज्ञान–प्रविधि क्षेत्रसमेतमा अनुकरणीय उपलब्धि प्राप्त गरेर वर्तमान चीनलाई विश्वको सबैभन्दा ठूलो दोस्रो आर्थिक शक्ति राष्ट्रका रूपमा उभ्याइसकेको छ। कतिपय राजनीतिक विश्लेषकले चिनियाँ कम्युनिस्ट पार्टीले पछिल्ला अवधिमा अवलम्बन गरेका नीति र कार्यक्रम, स्थायित्व, चीनको आफ्नै विशेषतासहितको राजनीतिक प्रणाली र उदार अर्थतन्त्रको परिणाम ठान्छन् – २१औँ शताब्दीमा चमत्कारपूर्ण चीनको उदय।

यस पृष्ठभूमिमा अक्टोबर १६ मा करिब २३०० प्रतिनिधिको सहभागितामा सुरु भएको चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय महाधिवेशनले बदलिँदो परिदृश्यमा विद्यमान समस्या र चुनौतीको सिंहावलोकन गरी चीनलाई अझै समुन्नत राष्ट्र बनाउन मार्गनिर्देश गर्नेछ। विगत तीन वर्षदेखि विश्वले कोभिड–१९ महामारीको प्रकोप, क्षेत्रीय सङ्घर्ष, जलवायु परिवर्तन, आर्थिक मन्दीलगायतका विविध चुनौती सामना गर्नु परिरहेको सन्दर्भमा अन्तर्राष्ट्रिय सम्बन्धलाई सकारात्मक मोड दिन सबै राष्ट्र र विश्व समुदायको सामूहिक प्रयास आवश्यक छ भने चीन र अमेरिकाबीच विद्यमान व्यापार युद्ध र आठ महिनादेखि जारी रुस–युक्रेन युद्धले पु¥याएको असरलाई पनि चीनले गम्भीरतापूर्वक लिएको देखिन्छ। यस स्थितिमा अन्तर्राष्ट्रिय सम्बन्धलाई सही दिशा प्रदान गर्ने सन्दर्भमा पनि महाधिवेशनको गम्भीर चासो रहने हालै मात्र चीनको नेतृत्व पङ्क्तिबाट सार्वजनिक गरिएका अभिव्यक्तिबाट प्रस्ट हुन्छ।

चीनमा जारी महाधिवेशनको प्रसङ्गमा पार्टी नेतृत्वसँग सम्बद्ध प्रश्नले विश्वका कतिपय देश र सञ्चारमाध्यमको ध्यानाकर्षण गर्ने गरेको छ। सन् २०१२ मा सम्पन्न पार्टीको १८औँ राष्ट्रिय महाधिवेशनबाट सी चिनफिङ पार्टी महासचिव तथा राष्ट्रपति निर्वाचित भएपछि चालिएका कदमको फलस्वरूप चीनको राजनीतिक र आर्थिक क्षेत्रमा अनेकन गुणात्मक परिवर्तन देखा परेका छन्। १९औँ महाधिवेशनपछि पाँचवर्षे अवधिका गतिविधि विवेचना गर्दा चीनले यस अवधिमा गरिबी निवारणमा उच्चतम सफलता हासिल गरेको छ। चीनमा गरिबी पूर्ण उन्मूलन हुनुका साथै चीन प्रत्येक क्षेत्रमा समुन्नत राष्ट्र बन्न सफल भएको छ। चीनको आन्तरिक राजनीतिमा बेलाबखत अनावश्यक चासो लिने पश्चिमा राष्ट्रहरूले समेत चीनले हालका वर्षहरूमा प्राप्त गरेका आधुनिकीकरण र समृद्धिका सफलतालाई अस्वीकार गर्न सकेका छैनन्। बेइजिङस्थित ग्रेट हल अफ दी पिपुलमा चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनको शुभारम्भमा राष्ट्रपति सी चिनफिङद्वारा कार्यप्रतिवेदन प्रस्तुत गर्ने क्रममा समाजवादी आधुनिक मुलुकको निर्माण र चीनको विशाल पुनरुत्थान सकारात्मक रूपमा अघि बढाउन आवश्यक भएको तथा पार्टीको १८औँ महाधिवेशनको १० वर्षमा तीन प्रमुख घटना– चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको शतवार्षिक, दोस्रो चिनियाँ विशेषतायुक्त समाजवादको नयाँ युगमा प्रवेश र तेस्रो गरिबी निवारण भएको उल्लेख गरेर आगामी मार्गचित्र प्रस्ट पारिएको छ।

चीनका पुनरुत्थान अभियानअन्तर्गत विभिन्न जातिका जनतालाई एकीकृत पारेर समाजवादी आधुनिक देशको चौतर्फी रूपमा निर्माण गर्ने योजना दुई चरणमा विभाजित गरिएको छ– सन् २०२० देखि २०३५ सम्म आधारभूत रूपमा समाजवादी आधुनिकीकरणलाई साकार तुल्याउने, सन् २०३५ देखि यस शताब्दीको मध्यसम्म चीनलाई धनी, लोकतान्त्रिक, सभ्य, मेलमिलापयुक्त र सुन्दर समाजवादी आधुनिक बलियो मुलुकका रूपमा निर्माण गर्ने। हालका वर्षहरूमा भ्रष्टाचारविरुद्ध व्यापक अभियान सञ्चालन गरिएको र कतिपय भ्रष्टाचारीलाई कडा कारबाही गरिएको परिप्रेक्ष्यमा जारी महाधिवेशनमा राष्ट्रपति सीद्वारा भ्रष्टाचार पार्टीको जीवन्त शक्ति र लडाइँलाई हानि पु¥याउने सबैभन्दा ठूलो क्यान्सर भएकाले भ्रष्टाचारको विरोध पार्टीको सबैभन्दा गहिरो आत्मक्रान्ति भएको, भ्रष्टाचारी हुर्किएको जमिनमा भ्रष्टाचारविरोधी युद्ध कहिल्यै पनि रोक्न नसकिने भएकाले पार्टीले शून्य सहनशीलताको तरिकाबाट भ्रष्टाचारको विरोध गर्ने उल्लेख गरेर यस अभियानलाई अझ व्यापक पार्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

विश्वका अधिकांश राष्ट्र जलवायु परिवर्तनका कारण अनेकन चुनौती सामना गर्न विवश भएको स्थितिमा सीद्वारा विगत दस वर्षमा हरियो पानी र समृद्ध पहाडको अवधारणालाई कायम राखिएको, चीनको आकाश झन् नीलो, पहाडहरू झन् हरियालीयुक्त र पानी झन् स्वच्छ भएको उल्लेख गर्नुका साथै मानववाहक अन्तरिक्ष, चन्द्रमा तथा मङ्गलको अन्वेषण कार्य, गहिरो समुद्र तथा भूमिगत अन्वेषण कार्य, सुपर कम्प्युटर, उपग्रहद्वारा नेभिगेसन, विशाल विमानको उत्पादन तथा बायोलोजिकल औषधिलगायत क्षेत्रको आविष्कारक मुलुकको पङ्क्तिमा चीन प्रवेश गरेको र यो प्रक्रिया निरन्तर अघि बढ्ने उल्लेख गरिएको छ। यी सबै उद्देश्य चीनको विशाल पुनरुत्थानसँग जोडिएका विषयवस्तु हुन्।

यस्तै अन्तर्राष्ट्रिय सम्बन्धमा अनेकन चुनौती सिर्जना भएको र कतिपय भूभागमा युद्धको स्थिति देखा परेको स्थितिमा चीनले यस पटक पनि आफ्नो विदेश नीतिमा पुरानै प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। चीनले स्वतन्त्र शान्तिपूर्ण कूटनीति अडिग रूपमा लागू गर्दै आएको, अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियम र अन्तर्राष्ट्रिय न्यायिक निष्पक्षताको संरक्षण गरेको, सबै किसिमको विस्तारवादको दृढ विरोध गरेको, शीत युद्ध र अरू देशको आन्तरिक मामिलामा हस्तक्षेपका साथै दोहोरो मापदण्डको विरोध गरेको तथा ताइवान समस्याको समाधान आफ्नो मामिला भएकाले यथासक्य शान्तिपूर्ण एकता गर्न खोजे पनि सशस्त्र शक्ति प्रयोगको अधिकारलाई नत्याग्ने राष्ट्राध्यक्ष सीको उद्घोष निकै अर्थपूर्ण छ। ताइवान मामिलामा बाह्य हस्तक्षेपविरुद्ध चीनले कडा चेतावनी दिएको छ।  चीनले विश्वका १४० भन्दा बढी मुलुक र क्षेत्रका मुख्य व्यापारिक साझेदार रहँदा व्यापार परिमाण विश्वको पहिलो स्थानमा रहेको, वैदेशिक लगानीको रकम विश्वको अग्रस्थानमा रहेको, वैदेशिक खुलापन तथा मार्च २०१३ मा घोषित ‘बेल्ट एन्ड रोड (बीआरआई)’ परियोजनालाई साकार पार्ने दृढता व्यक्त गरेर आगामी दिशा निर्देश गरेको छ। यसको तात्पर्य चीन अझ उदार र खुलापनतर्फ अग्रसर हुनेछ। 

यसै सेप्टेम्बरको तेस्रो साता मध्य एसियाली देश उज्बेकिस्तानमा सङ्घाई सहयोग सङ्गठनको शिखर सम्मेलनपछि केही दिन सार्वजनिक रूपमा देखा नपरेका सीको राजनीतिक भविष्य सम्बन्धमा मनगढन्ते अड्कलबाजी गरेका, समाजमा असन्तुष्टि बढेको, मानव अधिकारको प्रश्न उठाई सिन्जियाङको स्थितिलगायत अन्य आन्तरिक समस्यालाई अतिरञ्जित गर्न बानी परेका चीनविरोधी केही पक्षलाई यो महाधिवेशनले स्पष्ट सन्देश दिएको छ– चीनको नेतृत्व एकताबद्ध छ, आन्तरिक मामिलामा कसैको पनि हस्तक्षेप स्वीकार गर्दैन र अझ सबै दृष्टिले सुदृढ बन्न प्रतिबद्ध रहनेछ।  पश्चिमा विश्वको चासो ६९ वर्षीय राष्ट्रपति सी पुनः तेस्रो पाँचवर्षे पदावधिका लागि नेतृत्वमा आउने छन् कि छैनन् तथा चीनले आगामी पाँच वर्षका लागि के–कस्ता नीतिगत परिवर्तन गर्नेछ भन्ने रहेको छ। यसै प्रसङ्गमा महाधिवेशनको शुभारम्भ गर्दा राष्ट्रपति सीद्वारा पौने दुई घण्टाको सम्बोधनमा आगामी पाँच वर्ष चीनका लागि निर्णायक र चीन अझै सुदृढ हुने घोषणा गरिएको छ। हालैका अवधिमा माओ र दङ्ग जियाओ पिङ्गको समकक्षमा राखिएका तथा सी चिनफिङ विचारधाराका प्रवर्तक राष्ट्रपति सी यस महाधिवेशनबाट तेस्रो पाँचवर्षे पदावधिका लागि पार्टीको शक्तिशाली महासचिवमा पुनर्निवाचित हुने प्रायःनिश्चित छ। महासचिव सीको तेस्रो कार्यकालमा चीन सबै दृष्टिले महाशक्ति राष्ट्र बन्ने अठोटका साथ अघि बढ्नेछ। महाधिवेशनले चिनियाँ समाजको पुनरुत्थानको दिशामा दीर्घकालीन महìवका नीति प्रतिपादन गर्नुका साथै सात सदस्यीय स्थायी समिति, २५ सदस्यीय पोलिटब्युरो, २०५ सदस्यीय केन्द्रीय समिति र १७० वैकल्पिक सदस्य सम्मिलित नयाँ नेतृत्व चयन गर्ने भएकाले आगामी केही दिन चीन मात्र होइन, विश्व राजनीतिकै परिपेक्ष्यमा अत्यन्त चासोका महत्त्वपूर्ण अवधि हुनेछ।   

लेखक गोरखापत्र दैनिकका पूर्व प्रधानसम्पादक हुनुहुन्छ