• २० असोज २०८१, आइतबार

कांग्रेस नेतृत्वको गठबन्धन सरकार बनाउने लक्ष्य : प्रवक्ता डा. महत

blog

बीपी स्मृति भवनस्थित केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत ।

काठमाडौं, असोज ३१ गते । सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस नेतृत्वको गठबन्धन सरकार बनाउने लक्ष्य रहेको बताउनुभएको छ ।

सोमबार बीपी स्मृति भवनस्थित केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधानमा व्यवस्था भए बमोजिम लोकतान्त्रिक संस्कृतिलाई जीवन पद्धति बनाउने विषयमा निरन्तर लागिरहेको बताउनुभयो ।

वर्तमान सरकारले छोटो अवधिमा देशलाई सही मार्गमा ल्याएको, कोभिड–१९ नियन्त्रण, विदेश नीतिमा सन्तुलन एवम् जनताका विषय प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताउनुभयो ।

डा. महतले भन्नुभयो, “गठबन्धनको संस्कृतिअन्तर्गत सिट बाँडफाँट गरेर, जसपा गठबन्धन फोडेर गयो । त्यस बारेमा धेरै टीकाटिप्पणी गर्न चाहँदैनौँ । तालमेल गर्न लोसपा जोडिनुभएको छ । अरू चार दल यथावत् छन् । कांग्रेसले उदारताका साथ सिट बाँडफाँटमा ९१, माओवादी केन्द्रले ४७, एकीकृत समाजवादीले २०, लोसपाले सात र राष्ट्रिय जनमोर्चाले दुई स्थानमा उम्मेदवारी दिएको छ ।”

हिजो लोकतान्त्रिक पद्धतिमा विश्वास नगर्नेहरू पनि यसमा जोडिन आउनु सुखद भएको भन्नुहुँदै उहाँले गठबन्धन सरकारले मूलभूतरुपमा समृद्धि सिर्जना गर्ने र यो हरेक नागरिकको पहुँचमा पुर्‍याउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘जनताको अधिकारप्रति समर्पित सरकार देशभित्रै रोजगारी सिर्जना गर्ने, लगानी वृद्धि गरी उद्योग, लगानीमैत्री वातावरणको सुनिश्चितता सरकारले गर्ने, भ्रष्टाचारमा शून्य सहनशीलता, नागरिकले मेरो लगानी नै डुब्ने हो कि भन्ने अवस्थाको अन्त्य गर्ने, रोजगार, स्वरोजगारको अवसर सुनिश्चितता । अरू धेरै कुरा गर्छन्, विपक्षीबाट धेरै कुरा आउँछ, नेपाली कांग्रेस काममा विश्वास गर्छौ, परिणाम हामी देखाउँछौँ ।”

उहाँले गठबन्धन दलका कतिपय उम्मेदवारी सहमति बिना आएकाले तत्काल उम्मेदवारी फिर्ता गर्न निर्देशन दिइएको बताउनुभयो । कांग्रेसको घोषणापत्र एक, दुई दिनमै आउने र घोषणापत्रको नारा नाराका लागि नभएर, कार्यान्वयन गर्न सकिने यथार्थपरक कार्यक्रमहरू समावेश गरिने उहाँले बताउनुभयो ।