काठमाडौँ, साउन २० गते । गृहमन्त्री रमेश लेखकले बाहिर भइरहेका चर्चा, चासो र चिन्ता सम्बोधन गरेर मन्त्रिपरिषद्को विधेयक समितिले कानुन परिमार्जन गर्ने बताउनुभएको छ ।
आज बिहान सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विधयेक समितिको बैठकपछि सञ्चारकर्मीहरूसित प्रतिक्रिया दिँदै गृहमन्त्री लेखकले बहुविवाहसम्बन्धी व्यवस्था, विवाहको उमेरसम्बन्धी, अग्रिम जमानतसम्बन्धी व्यवस्था र कैद जरिवानाको मुल्तबी, माफी परिर्वतनसम्बन्धी व्यवस्थाहरूमा थप छलफल गर्नुपर्ने र परिमार्जजन गर्नुपर्ने देखिएकाले विधेयक समितिमै उपसमिति बनाइएको जानकारी दिनुभयो ।
“बहुविवाहका सम्बन्धमा आएको संशोधनको व्यवस्था, विवाहको उमेरसम्बन्धी व्यवस्था, अग्रिम जमानतसम्बन्धी व्यवस्था र सरकारको सिफारिसमा राष्ट्रपतिले गर्नुहुने संवैधानिक व्यवस्था छ,” विधेयक समितिका संयोजक रहनुभएका मन्त्री लेखकले भन्नुभयो, “कुनै पनि सजायको माफी मुल्तबी अथवा दण्ड सजायको परिवर्तनसम्बन्धी व्यवस्थालगायतका केही व्यवस्थामा थप छलफल गरेर संशोधन परिमार्जन गर्नुपर्ने देखियो ।”
उहाँले आजको बैठकमा समितिमा मुलुकी अपराधसंहिता, मुलुकी फौजदारी कार्यविधिसंहिता, मुलुकी देवानीसंहिता, मुलुकी देवानी कार्यविधिसंहिता र सजाय निर्धारणसम्बन्धी कानुन गरी पाँच वटा विधेयकमा संशोधन प्रस्ताव प्रस्तुत भएको जानकारी दिनुभयो ।
“आज बनाएको उपसमितिले सम्बन्धित मन्त्रालयहरूको राय सल्लाह लिएर र अरू पनि आवश्यक छलफल गरेर यो विधयेकलाई संशोधन परिमार्जजन गरेर अगाडि बढाउँछौँ,” लेखकले भन्नुभयो, “ती सबैलाई विधेयक समितिले संशोधन गरेर यो कानुन परिमार्जन गर्छ । आज हामीले त्यही निर्णय गरेका छौँ ।”
उहाँले कानुन मन्त्रालयसमेत रहनेगरी विधेयक समितिको सचिवले आवश्यक समन्वय गर्ने बताउनुभयो । मुलुकी अपराध (संहिता) ऐन, २०७४ लाई संशोधन गरी केही निश्चित परिस्थितिमा बहुविवाहलाई कानुनी वैधता दिने प्रस्तावित कानुनलगायतका विषयमा छलफलका लागि मन्त्री लेखकले बैठक डाक्नुभएको थियो । रासस