• १६ भदौ २०८१, आइतबार

दानवीर सलमान

blog

मुम्बई, असोज ३१ गते । बलिउडका विभिन्न नायिकासँग अफेयर तर विवाहसूत्रमा नबाँधिएको प्रकरण, बलिष्ठ शरीर अनि बाहुबलि हिरो, हरिण मारेको ओरोपितजस्ता विविध कारणले प्रायः चर्चा र विवादमा आइरहने कलाकार हुनुहुन्छ, सलमान खान। तर उहाँको दानवीर र दयालु स्वभावका विषयमा भने कमै चर्चा हुन्छ। 

उहाँ पनि आफ्नो सो विषय खासै चर्चामा ल्याउन रुचाउनुहुन्न। यस पटक भने उहाँ आफ्नो सम्पत्तिका कारण चर्चामा हुनुहुन्छ। उहाँसँग अर्बौंको सम्पत्ति र करोडौँ मूल्यमा सुविधासम्पन्न गाडीहरू छन्। उहाँका फ्यानहरूलाई अहिले यही चिन्ताले सताउन थालेको छ– सलमानको करोडौँको सम्पत्तिको उत्तराधिकारी को होला ? अहिलेसम्म अविवाहित भएकाले उहाँले आफ्नो सम्पत्तिको उत्तराधिकारी कसलाई बनाउनुहोला ? 

भारतको एउटा टेलिभिजन अन्तर्वार्तामा खानले भन्नुभएको थियो, “मैले बिहे गरूँ या नगरूँ तर पछि मेरो आधा सम्पत्ति बिइङ ह्युमन ट्रस्टलाई दिइनेछ।” बिइङ ह्युमन ट्रस्टमा सलमान खानको भूमिका उच्च छ। बालबालिकाको हितमा काम गर्दै आएको यो संस्थालाई सलमानले निकै रुचाउनुभएको छ। सलमान खानले भन्नुभएको छ, “मैले बिहे गरिनँ भने त मेरो सम्पूर्ण सम्पत्ति बिइङ ह्युमन ट्रस्टलाई दान दिइनेछ।” यस कुराले अब उहाँले विवाह गर्नुहुन्छ कि हुन्न भन्ने कौतूहल उहाँका ‘फ्यान’माझ अझै बढेको छ।