सन्तोष सुवेदी
कास्की, चैत ६ गते । चलचित्र ‘लालीबजार’ को एउटा गीत अहिले चर्चामा छ । लोकलयमा तयार पारिएको ‘मायालाई के दिऊँ म चिनो’ बोलको गीत गायक तथा सङ्गीतकार खेम सेन्चुरी र दीपिका बयम्बुमगरले गाउनुभएको हो । गीतमा स्वस्तिमा खड्का र बालकलाकार समाइरा थापाको नृत्य हेर्न सकिन्छ । नृत्य निकै रुचाइएका कारण अहिले टिकटक, रिल्ससम्म उनीहरूले नै गरेको स्टेपमा भिडियो बनाउनेको जमात बाक्लो छ । गीतले गर्दा पनि चलचित्र चल्ने आकलन धेरैले गरेका छन् ।
त्यस्तै चलचित्र ‘राम नाम सत्य’ को ‘धागोले बाटेको’ बोलको गीत पनि निकै चर्चित बनेको छ । बाबुल गिरी र रचना रिमालले गाउनुभएको उक्त गीत ३५ लाखभन्दा बढी पटक युट्युबमा हेरिएको छ भने टिकटक रिल्सतिर पनि प्रशस्त भेटिन्छ ।
केही वर्षयता चलचित्रमा लोकलयका गीत निकै चलेका छन् । कुनै समय लोकगीतलाई गीतको संज्ञा दिन हिचकिचाउने निर्माता अहिले यस्तै गीत राख्नका लागि दौडधुप गरेको पाइन्छ । चलचित्र सफल हुनुमा गीत/सङ्गीतको पनि मानिन्छ । चलचित्र प्रचारका लागि गीत/सङ्गीतले मुख्य प्रभावकारी भूमिका खेलेका पाइन्छ । ‘प्रेमगीत, बोक्सीको घर, नाइ नभन्नु ल, पूर्णबहादुरको सारङ्गी, माग्ने राजा, म यस्तो गीत गाउँछु’ लगायतका थुप्रै चलचित्र सफल हुनुमा गीत/सङ्गीतको पनि भूमिका उत्तिकै रहेको मान्न सकिन्छ ।
सङ्गीतकार वसन्त सापकोटाले पहिलादेखि नै गीत/सङ्गीतले चलचित्र चल्नुमा ठुलो हात रहेको बताउनुभयो । “पहिला पहिला पनि धेरै राम्रा चलचित्रका गीत सुन्न सकिन्छ । त्यतिबेला चलचित्रको कथाभित्र गीतलाई राखिन्थ्यो अहिले बरु त्यस्तै छैन । सङ्गीतकार अर्जुन पोखरेलका अनुसार पछिल्लो समय धेरै निर्माताको पहिलो रोजाइ म्युजिक रहेको पाइएको छ । जब गीत/सङ्गीत चल्छ चलचित्रको माहोल बने झैँ लाग्ने, जब चल्न छाड्छ माहोल घट्यो कि झैँ लाग्दोरहेछ,” उहाँले भन्नुभयो ।
उहाँले थप्नुभयो, “भारतीय चलचित्रमा गीत/सङ्गीतमा ठुलो लगानी गरेको पाइन्छ । नेपालीमा पनि केही प्रभाव परेको छ । नेपालमा पनि धेरै गीत भएको र थोरै गीत हुनेको बिक्री वितरण फरक हुने गरेको छ । समग्र कला क्षेत्रले फिल्मको व्यापारलाई सर्पोट गरेकै छ ।” पछिल्लो समय नेपाली फिल्ममा लबस्टोरी गीतभन्दा पनि डान्सिङ गीत बढी रुचाइएको र खोजीमा परेका छन् ।