• ६ चैत २०८२, शुक्रबार

गोसाइँकुण्ड गाउँपालिकाद्वारा निमोनिया खोप निःशुल्क वितरण

blog

गंगा कुमारी मिजार
रसुवा,चैत ६ गते ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले पहिलो पटक गाउँपालिकाभित्रका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै निःशुल्क निमोनियाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ।

जोखिमयुक्त उमेर समूहका नागरिकलाई निमोनियाबाट जोगाउने उद्देश्यले गाउँपालिकाले करिब ४५ लाख रुपियाँ खर्चेर फाइजर कम्पनीको खोप खरिद गरी निःशुल्क वितरण गर्न लागेको हो।

गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार यस वर्ष वडामा दर्ता भएका ७० वर्षमाथिका ज्येष्ठ नागरिक, ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका नागरिक तथा नेपाल सरकारले तोकेका जटिल रोगका बिरामीले उक्त खोप निःशुल्क पाउनेछन्। यो कार्यक्रम ज्येष्ठ नागरिकप्रति सम्मान प्रकट गर्ने उद्देश्यसहित सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिमल घिमिरेका अनुसार ६ वटा वडाका करिब ७०० ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिनेछ। खोप अभियान चैत ९ देखि १६ गतेसम्म सञ्चालन हुनेछ। यसका लागि सबै वडाका स्वास्थ्य संस्थासहित ४३ स्थानमा खोप केन्द्र निर्धारण गरिएको छ।

स्वास्थ्यकर्मीका अनुसार निमोनियाविरुद्धको खोपले विशेषगरी चिसोका कारण वृद्धावस्थामा हुने ब्याक्टेरियल सङ्क्रमणबाट जोगाउन मद्दत गर्दछ।

गाउँपालिकाले आफ्नै स्रोतबाट खोप खरिद गरी निःशुल्क वितरण सुरु गर्न लागेसँगै गोसाइँकुण्ड गाउँपालिका देशकै पहिलो स्थानीय तह बनेको जनाइएको छ।