• ६ चैत २०८२, शुक्रबार

‘एक मुठी बादल’ को टिजर सार्वजनिक

blog

काठमाडौँ, चैत ६ गते । आँचल शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘एक मुठी बादल : माई सेयर अफ स्काई’ को टिजर सार्वजनिक भएको छ । आँचलको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको टिजरमा मुख्य कलाकार आँचलले नै वाचन गर्नुभएको कविता ‘पोम्पोईको फूल’ को सेरोफेरो घुमेको छ । कवितासँगै टिजरले चलचित्रका मुख्य कलाकारलाई परिचित गराएको छ । निर्माण टिमले टिजरलाई आँचलको जन्मदिनको उपहारका रूपमा सार्वजनिक गरेको जनाएको छ । 

कविता चलचित्रकी लेखक तथा निर्देशक सहारा शर्माको छिपछिपे सम्झनामा आधारित छ । सहाराका अनुसार यस्तै भावको कविता हजुरआमाको मुखबाट सुन्ने गरेकी थिइन् जुन उनले लगभग बिर्सिसकेकी थिइन् तर चलचित्रको सम्पादनका क्रममा यो कविता फेरि उनको स्मृतिमा फर्कियो । उहाँ भन्नुहुन्छ, “यो त्यतिबेला फर्कियो जतिबेला फिल्मलाई यसको सबैभन्दा बढी आवश्यकता थियो । त्यसबेलादेखि नै यो कविता चलचित्रको अभिन्न अङ्ग बनेको छ । अभिनेतृ आँचल शर्माले चलचित्र आफ्ना लागि विशेष रहेको बताउँदै यसको पहिलो झलक जन्मदिनकै सन्दर्भ पारेर आउनु मिठो संयोग रहेको बताउनुभयो । “अरू चलचित्रमा म अरू कोही भूमिका निर्वाह गरिरहेको हुन्छ तर यो चलचित्रको माइली मै हो । आफ्नै जीवनलाई पर्दामा उतार्न पाउनुको सन्तुष्टि शब्दमा भन्न सकिँदैन । चलचित्र मेरा लागि एकदमै स्पेसल छ,” उहाँको भनाइ छ । 

चलचित्रमा आँचल शर्मासँगै निशा शर्मा, उषा रजक, भीमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईं, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी आदि कलाकारको अभिनय रहेको छ । चलचित्रलाई अभिमन्यु दीक्षितले निर्माण गर्नुभएको हो भने निकुन श्रेष्ठ कार्यकारी निर्माताका रूपमा रहनुभएको छ ।